Comments Add Comment

महान्यायाधिवक्तालाई तत्काल हटाउन देउवालाई दबाव

किन दिएनन् रमण श्रेष्ठले राजिनामा ?


३० असार, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीबाट मुक्त भएको डेढ महिना पुग्न लाग्दा समेत उनले नियुक्त गरेका महान्यायाधिवक्ता रमण श्रेष्ठले राजिनामा नदिएपछि कांग्रेस समर्थक वकिलहरु रुष्ट भएका छन् । कांग्रेसआवद्ध बरिष्ठ अधिवक्ताहरुले समेत रमणको राजिनामा किन आएन भनेर चासो राखेका छन् ।

कांग्रेस समर्थित वकिलहरुको संगठन डेमोक्रेटिक लयर्स एशोसियसनले महान्यायाधिवक्ताको राजिनामा नआएको बारेमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराएको छ । चाँडै नै बैठक बसेर औपचारिक रुपमा राजिनामा माग्ने तयारी भइरहेको डीएलएका एक पदाधिकारीले बताए ।

डीएलएका पूर्वअध्यक्ष यदुनाथ खनालले जुन प्रधानमन्त्रीले नियुक्त गरेको हो, उनको बहिर्गमनसँगै महान्यायाधिवक्ताले राजिनामा दिने प्रचलन रहेको बताए । उनले रमण श्रेष्ठले नैतिकता बिर्सिएको आरोप लगाए ।

खनालले भने- प्रधानमन्त्रीले राजिनामा नमागेको भनेर उहाँले राजिनामा नदिएको कुरा आएको छ, यो त नैतिकहीन कुरा भयो, उहाँ प्रचण्डजीको कानुनी सल्लाहकार हो, कसरी शेरबहादुर देउवाको पनि सल्लाहकार बन्छु भनेर राजिनामा नदिई बस्न मिल्छ ?

महान्यायाधिवक्ता रमण श्रेष्ठले भने आफू प्रचण्ड र शेरबहादुर दुवैको विश्वास जितेर समदूरीमा रहेकाले राजिनामा नदिएको बताएका छन् । उनले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग लगायत धेरै विषयमा आफूले प्रचण्ड र देउवाको विश्वासमा रहेर सल्लाह दिएको बताएका छन् ।

कांग्रेस समर्थक वकिलहरुले भने रमण श्रेष्ठले देउवाको पनि कानुनी सल्लाहकार हुन मन भए राजिनामा दिएर पुनः नियुक्ति लिनुपर्ने तर्क गरेका छन् । डीएलएका पूर्वअध्यक्ष खनालले भने-उहाँ माओवादीको नेता पनि हो । उहाँलाई कांग्रेस सभापतिको पनि कानुनी सल्लाहकार हुन मन भए राजिनामा दिएर पुनः नियुक्ति लिए हुन्छ ।

प्रचण्ड र देउवाबीच सल्लाह भएरै रमण श्रेष्ठ महान्यायाधिवक्तामा कायम रहेको दाबी गरिएको छ । तर, खनालले भने प्रचण्ड र देउवाको सहमतिबारे रमणले होइन, देउवाको सचिवालयले बोल्नुपर्ने बताए ।

उनले भने- रमणजी म देउवाको मान्छे हुँ भन्दै हिँड्नुभएको छ, कांग्रेसमा महान्यायाधिवक्ता हुन योग्य वकिल छैनन् भने ठिकै छ, उहाँलाई नै नियुक्त गर्दा हुन्छ । तर पहिले राजिनामा त दिनुपर्‍यो नि ।

तर, रमन श्रेष्ठ निकट स्रोत भने महान्ययाधिवक्तामा दाबी गरिरहेका कांग्रेस समर्थक वकिलहरुले पद नपाएका कारणले मात्रै असन्तुष्टि जनाएको आरोप लगाएका छन् । गठबन्धन सरकारमा माओवादी पनि सामेल भएकाले रमणले राजीनामा नदिनु नैतिक प्रश्न नबन्ने श्रेष्ठले आफू निकटस्थहरुसँग बताउने गरका छन् ।

को को छन् महान्यायाधिवक्ताका दाबेदार ?

प्रधानमन्त्री शेरवहादुर देउवाले महान्यायाधिवक्ता कसलाई नियुक्त गर्ने भन्नेबारे अहिलेसम्म छलफल गरेका छैनन् ।

महान्यायाधिवक्ताका लागि बरिष्ठ अधिवक्ता महादेव यादव, नेपाल बारका पूर्व महासचिव माधव बास्कोटा लगायतको नाम चर्चामा छ ।

नेपाल बार एशोसियनका अध्यक्ष शेरबहादुर केसी र महासचिव खम्ब खातीको नाम पनि महान्यायाधिवक्ताका लागि चर्चामा छ । तर, देउवाको रोजाइमा रमण श्रेष्ठ नै रहेको टिप्पणी डीएलएका वकिलहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment