Comments Add Comment

कमल थापाको भावुक भनाइः एकतापछि बलियो भइन्छ भन्ने लागेको थियो

राणा र थापावीच दीपक बोहोराले खेलेको निश्कर्ष

३० असार, काठमाडौं । नयाँबानेश्वरको अनमोल क्याटरिङमा शुक्रबार दिउँसो राप्रपाका अगुवा कार्यकर्ताहरुको भेला थियो । त्यो भेला सकिँदा नसकिँदै सिंहदरबारमा संसदीय दलको बैठक बस्यो, जहाँ सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे छलफल गर्ने कार्यसूची थियो ।

अगुवा कार्यकर्ताहरुको भेलामा बरिष्ठ नेता पशुपति समशेर राणा गएनन् । बरु उनले पार्टी अध्यक्ष कमल थापाले राप्रपालाई आफ्नो बिर्ता बनाउन खोजेको भन्दै त्यहीबेला प्रेस विज्ञप्ति जारी गरे ।

अनमोल क्याटरिङमा आयोजित अगुवा कार्यकर्ता भेलामा राप्रपा अध्यक्ष थापाले भावुक अभिव्यक्ति दिए । राप्रपा नेपालका धेरै नेताहरुले पार्टी एकतापछि तपाई घेरावन्दीमा पर्नुहुन्छ भनेर आशंका गर्दागर्दै आफूले पार्टी एकता गरेको थापाले सम्झिए ।

पार्टी एकताबाट आफू कमजोर हैन, झन् बलियो बन्ने आशाका साथ राप्रपा र राप्रपा नेपालवीच एकता गरिएको थापाले सुनाए ।

संसदीय दलको कार्यालयमा मुख्यतः तीनवटा विषयमा राप्रपा सांसदहरुवीच छलफल गर्ने कार्यक्रम थियोः एक- सरकारमा जाने कि नजाने ? दुई- संविधान संशोधनलाई राप्रपाले समर्थन गर्ने कि नगर्ने ? अनि तीन- चुनाव चिन्हबारे पार्टीमा देखिएको विवादबारे के गर्ने ?

सरकारमा जानेबारे संसदीय दलको बैठकमा कुनै ठोस निर्णय भएन । अध्यक्ष एवं संसदीय दलका नेता थापाले सांसदहरुको धारणा सुने । त्यससँगै उनले पार्टीलाई विभाजन र फुटबाट बचाउनुपर्ने बताए ।

पशुपति समशेरले आरोप लगाएजस्तै आफूले केन्द्रीय सदस्यहरुको मनोनयन एकलौटी ढंगबाट गरेको नभई पूर्वराप्रपा पक्षका नेतालाई समेत समेटेर बनाएको थापाले बताए । ‘सरकारमा जाने भए पनि सहमतिबाटै जाऔं, नजाने हो भने पनि सबैको सहमतिबाटै बाहिर बसौं,’ थापाले संसदीय दलको बैठकमा भनेको कुरा उधृत गर्दै स्रोतले भन्यो- ‘संविधान संशोधनका विषयमा पनि साझा धारणा बनाऔं, पार्टीको चुनाव चिन्ह गाई राख्ने कि हलो भन्नेबारेमा पनि छलफल गर्न म सकारात्मक रहँदै आएको छु ।’

राप्रपामा राणा पक्षले राप्रपाको चुनाव चिन्ह हलो राख्नुपर्ने बताउँदै आएको छ । गाई चिन्हका कारण कम भोट आएको राणापक्षको तर्क छ । यसमा आफू पार्टीभित्र छलफल गर्न तयार रहेको भन्दै कमल थापाले बाहिर बाहिर गुटको बैठक राख्न जरुरी नरहेको बताएका छन् ।

संसदीय दलको बैठकमा राप्रपा अध्यक्ष थापाले आफ्नो पार्टीभित्र बाहिरिया तत्वहरुले समेत खेल्ने काम गरिरहेको गुनासो गरे । तर, त्यस्तो खेलबाट प्रभावित हुनेले नेतृत्व सम्हाल्न सक्दैन भन्दै थापाले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफू अविचलित एवं कटिवद्ध रहेको बैठकमा बताए ।

संसदीय दलको बैठकमा राप्रपाका सांसद रेशम लामा, रामकुमार सुब्बा र बविना मोक्तान लगायतका केही व्यक्तिहरु अनुपस्थित थिए । उनीहरु संविधान संशोधनको विरुद्धमा उभिँदै आएका छन् ।

शंकाको सुई दीपक बोहोरातिर

यसैवीच कमल थापाविरुद्ध पशुपति समशेरलाई वक्तव्य जारी गर्न लगाउने र थापा-राणावीच अन्तरविरोध चर्काएर आफ्नो स्वार्थ सिद्ध गर्न दीपक बोहोरा लागि परेको निश्कर्ष थापा पक्षका केही नेताहरुले निकालेका छन् ।
पूर्व राप्रपा नेपाल पक्षधर एक नेताले भने- ‘बोहोराले पहिले राप्रपामा सूर्यबहादुर थापा र पशुपति समशेरवीच झगडा लगाएर आफू बलियो बनेका थिए, अहिले पशुपति र कमल थापावीच दुरी बढाउने भूमिका उनैले खेलिरहेका छन् ।’

पूर्वगुटमा खलबल

राप्रपाभित्र अहिले देखिएको विवादमा पूर्वसमूहको प्रभाव खासै नदेखिएको सो पार्टीका नेताहरु बताउँछन् ।

जस्तो कि पूर्वराप्रपा नेपाल समूहमै रहेका चार जना सांसदहरु रामकुमार सुब्बा, बबिना मोक्तान, रेशम लामा र बिराज विष्ट कमल थापाको विपक्षमा छन् । उनीहरुलाई पूर्वराजाका मान्छेहरुले कमल थापाको विरोधमा प्रयोग गरिरहेका नेताहरुको बुझाइ छ ।

यी चार सांसदहरु खासगरी संविधान संशोधनको विरोधमा एमाले नजिक उभिएको स्रोतको दाबी छ ।

तर,पूर्व राप्रपा समूहमा रहे पनि विक्रम पाण्डे, जयन्त चन्द, सुनीलबहादुर थापा लगायतका नेताहरु भने कमल थापासँग नजिक रहेको नेताहरुको बताउँछन् ।

बरिष्ठ नेता पशुपति समशेर इमान्दार रहेता पनि उनलाई दीपक बोहोरा लगायतका नेताहरुले पार्टी अध्यक्षविरुद्ध उक्साएर स्वयं राणालाई नै भड्खालोमा हाल्न खोजिरहेको थापा पक्षको बुझाइ छ । अध्यक्ष थापा भने राणालाई साथमै राखेर अघि बढ्न तयार रहेको एक नेताले बताए ।

तथापि बरिष्ठ नेता पशुपति समशेर राणाले भने कमल थापाविरुद्ध हस्ताक्षर संकलन सुरु गरेको थापापक्षको आरोप छ । स्रोतले अनलाइनखबरसँग भन्यो- ‘उहाँले नेताहरुलाई घरैमा बोलाएर अध्यक्षविरुद्ध हस्ताक्षर गर्न लगाएको हामीले पत्ता लगाएका छौं, यो गम्भीर कुरा हो, यस्तो गुटबन्दीले पार्टी अगाडि बढ्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment