सोमबार, ९ असोज, २०७४
OnlineKhabar.com

प्रिय पाँच: कविताले दिएको कम्पन

स्वप्निल स्मृति

‘वैरागी काइँलाका कविताहरु’ – वैरागी काइँला

यो कविताकृति मैले स्कूले जीवनमै पढ्ने अवसर प्राप्त गरें । ‘महेन्द्रमाला’ मा हालिएका छन्द, झ्याउरे र सरल गीति कविताहरुमा डुबेको मलाई यस कृतिले कविताबारे मेरो बुझाइको भेजालाई विस्तारित गर्‍यो या भनूँ खल्बल्याइदियो ।

यस्तो गाह्रो पनि कविता हुन्छ भन्दा नेपाली पढाउने सरले भन्नुहुन्थ्यो- ‘आयामेली कवि हुन् वैरागी काइँला । पहिले कागजका मसिना टुक्राहरुमा शब्दहरु लेखेर बाक्सामा झार्छन् अनि एक-एक गरेर झिक्छन् । जुन शब्द आउँछ त्यै अनुसार लेख्दै लगेर कविता बनाउँछन् ।’ अहिले सम्झँदा त्यो भनेको प्रयोगवादी कविता

लेख्छन् भनेको रै’छ क्यार ।

मलाई यस कृतिको अघिल्लो खण्ड ‘मेरो हजुरका कविता’ भित्रका छोटा-मीठा कविता मन परे । किनभने त्यो कविताको भाषा आफ्नै भाषा जस्तो लाग्यो । ‘सोल्टिनी हजुर’, ‘हो नि हजुर’ भनेर लिम्बू भाषामा सम्बोधन शैलीमा जुन मौलिक खालको विनम्रता छ, काइँलाले कवितामा त्यो ल्याएका रहेछन् अहिले बुझ्दा ।

त्यो बाहेक अर्को खण्डमा चाहिँ ‘अस्तित्वको दाबीमा सावात्‌को बैला उत्सव’, ‘पर्वत’, ‘एकान्तको अजिङ्गर’, ‘उत्तरको ध्रुवतारा’ ‘मातेको मान्छेको भाषणमध्यरातको सडकसित’  लगायत थुप्रै कविता छन् ।

‘पर्वत’ कविता मलाई घरको लिस्नो चढ्दा पनि झवास्स हुन्थ्यो । ‘सावात्’ बारेबुझ्न मैले पछि बाइबल नै पल्टाउनुपर्‍यो । साबात्‌को बैला उत्सवमा नै काइँलाले ‘तिगेन्जङ’ वासी, केसामी, नाम्सामीका मिथहरुको प्रयोग गर्नुभएको छ । यसबाट मलाई के लाग्यो भने, नेपाली कविताभित्र पनि लिम्बू मुन्धुमी शब्दहरु हुँदो रहेछ ।

कवितामा आफ्नो संस्कृतिलाई केन्द्र मानेर कविता लेख्नेहरुको अहिले त ठूलो पंक्ति नै आएको छ । वास्तवमा त्यसको लिस्नो हाल्ने काम चाहिँ वैरागी काइँलाले गरेका छन् ।

आज यसले धेरै राम्रो भएको छ । नेपाली साहित्यमा विविधतापूर्ण नेपाली समाजको अनुहार झल्किँदै छ । तर, कविहरु कतिपय सन्दर्भमा सचेत पनि हुनुपर्छ कि जस्तो लाग्छ । प्लेटोले साहित्यको अनुकरणको सिद्धान्तबारे के भनेका रहेछन् भने, कुनै पनि पाठकले होमरको ‘इलियड’ पढे भने आफ्नो तरबार पनि अर्जाप्न थाल्छ ।

नेपालको पूर्वका थुप्रै कविहरु त्यसमा पनि राई-लिम्बू कविहरु वैरागी काइँलाबाट निकै प्रेरित भएर कवितामा आए । रुप, रंग, ढाँचा पनि त्यसै गरी लेख्दै आए । यसले चाहिँ वैरागी काइँलाको सास कत्ति थुन्दो हो जस्तो पनि लाग्छ ।

मैले भन्न खोजेको, त्यति प्रभावशाली कृति छ ‘वैरागी काइँलाका कविताहरु’ कृति । सिर्जनशील अराजकता, सिर्जनशील उत्तरवर्ती, मुक्त अभियान र झन्नैले रंगवाद पनि वैरागी काइँलाकै स्कूल हो ।

कवितामा कलात्मकता, विषय विविधता, सोझो-साम्य रेखाचित्र आदिको अर्थोन्मुख प्रयोगका जुक्तिहरु निकाल्ने सन्दर्भमा म यस कृतिलाई सधैं शिरमा राख्ने गर्छु ।

‘गहुँगोरो अफ्रिका’ – आहुति

त्यसो त गोपालप्रसाद रिमालले आधुनिक कवितासँगै आधुनिक प्रगतिवादी कविताको पनि जग हालेका हुन् । यस बीचमा थुप्रै प्रगतिवादी र प्रगतिशील कविहरु आए । त्यसमध्ये भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, पारिजातको ‘बैंशालु वर्तमान’, विमल निभाको ‘आगोनेर उभिएको मानिस’, श्यामलको ‘तपाईंहरु मार्फत’, ‘लयब्रह्म’, ‘जसराज किराँतीका प्रतिनिधि कविता’ उल्लेख्य छन् ।

यी लगायत अरु पनि थुप्रै छन् । तर, मलाई आहुतिको ‘गहुँगोरो अफ्रिका’ कृतिले निकै प्रभावित पारेको छ । त्यसमा पनि ‘गहुँगोरो अफ्रिका’ असाध्यै मन पर्छ । उहाँको पहिलो कृति ‘तपश्वीका गीतहरु’ मा पनि विचारका दृष्टिले धेरै अब्बल कविताहरु छन् । त्यसले नै ‘गहुँगोरो अफ्रिका’ सम्म आइपुग्दा उहाँको कवित्वलाई

त्यो गहिराइसम्म व्यक्तिन दियो भन्ने लाग्छ ।

कविता भनेको एक कविको लागि कला र उसले संवरण गरिरहेको विचारको निरन्तर यात्रा हो । थोरै कवि मात्र त्यसमा स्पष्ट हुन्छन् र त्यो यात्रालाई पहिल्याइराख्छन् । कत्ति कवि त दुई वटा नाउमा खुट्टा राखेर पेण्डुलम भइरहेका हामी पाउँछौं ।

आहुति नेपाली समाज–राजनीतिको परिप्रेक्ष्यमा मार्क्सवादलाई पैरवी गर्ने, त्यस अनुकूल प्रयोग गर्दै विकासका बारेमा पनि चिन्तन गर्ने कवि हुन् ।

कविता भनूँ मार्क्सवादी कविताको मूल दिशा हिजो ठाडो रुपमा सत्तातिर मात्र एकोहोरिएको थियो । जमिन र भुइँ बिर्सिएको थियो । त्यो प्रवृत्तिलाई समाजको पिँधतिर फर्काएर, प्रतिरोधपूर्ण तवरले बजारेर तल्लो उत्पीडित वर्गमा सपना र आवेगको थर्थराहट उत्पन्न गर्न सक्ने कलात्मकता उनका कवितामा छ ।

उनी स्वयं उत्पीडित सार्की परिवारबाट आएको  हुनाले दलितका मुद्दा–संवेदनामा कोरिएका उनका कविता ठीक हुन् । गैरदलित कविले जतिसुकै मरिहत्ते गरेर दलित उन्मुक्तिको कविता लेखे पनि तिनमा बढी कामना र कवि भइदिने प्रपञ्च हावी हुनसक्छन् ।

‘बिसे नगर्चीको बयान’ – श्रवण मुकारुङ

श्रवण मुकारुङको यस कृतिको बारेमा कुरा गर्दा जहिल्यै मलाई ०६२/६३ को जनआन्दोलनको एउटा घटना सम्झना हुन्छ । राजाविरुद्ध शहरकेन्द्रित आन्दोलन चलाइरहेका सात दल र ग्रामीण इलाकाबाट शहरअभिमुख भइरहेको सशस्त्र सङ्घर्ष गरिरहेको माओवादी यी दुई शक्तिलाई लोकतन्त्रका लागि राजा विरुद्ध मिलेर लड्न नागरिक समाजले ‘वार्मअप’ गरिरहन्थ्यो । कहिले टुँडिखेलमा ‘आऊ मिलाऔं हातहरु’ भनेर सांस्कृतिक कार्यक्रम त कहिले सडकमा खबरदारी सभा, यस्तै-यस्तै ।

यसै क्रममा नयाँ वानेश्वर चौकमा ठूलो नागरिक सभा भएको थियो । कविता वाचन गर्न म पनि पुगेको थिएँ । जनवादी गायक रामेश–रायनका गीत, लेखक खगेन्द्र सङ्ग्रौला, पत्रकार कनकमणि दीक्षितका भाषण, हरिगोविन्द लुइँटेलदेखि अर्जुन पराजुलीसम्मका कविता सुनियो । मेरो कविताको त के कुरा !

तर, जब श्रवण मुकारुङ ‘बिसे नगर्चीको बयान’ सुनाउन मञ्चतिर लागे, सहभागीहरुमा बेग्लै सलबलाहट देखियो, मानौं त्यहाँ केही विचित्र हुनै लागेको छ । श्रवण दाइले ‘मालिक ! म अढाइ सर्य वर्षपछि बौलाएँ’ भन्दै सुर्रिएर कविता वाचन गर्न मात्र के थालेका थिए, कति युवा लगाइरहेको ज्याकेट फुत्फुती फुकाल्दै आकाशतिर फ्याँक्ने, कति युवा सिठी फुक्ने !

त्यतिखेर मलाई अचम्म लाग्यो, कविताको त्यत्रो शक्ति हुँदो रहेछ ।

‘बिसे नगर्चीको बयान’ शक्तिशाली कविता हो । ऐतिहासिक जनआन्दोलन त शक्तिशाली नहुने कुरै भएन । अब के भयो भने आ-आफ्नो ठाउँबाट यो कविता र जनआन्दोलनले आ-आफ्नो शक्तिलाई तादात्म्य गर्न पाए । आन्दोलन सफल पनि भयो । यदि आन्दोलन असफल भएको भए यो कविता त सफल नै हो, तर प्रतिबन्धित हुन्थ्यो कि !

कतिले त कहाँको जन-आन्दोलन कहाँको कविता पनि भन्लान् ! खासमा नेपालको एउटा ठूलो ऐतिहासिकता जोडिएको कविता हो यो । तर, यही कविता मात्र त्यस्तो विशेष कविता हो मैले भन्न खोजेको भने होइन ।

यो कृतिमा अरु धेरै कविता पनि शक्तिशाली छन् । ‘रामभरोस अनुहार खोजिरहेछ’, ‘अन्ठानब्बेको आत्मकथा’ लगायत थुप्रै । यस कृतिका कविता कति ‘मोटो’ राजनीतिक रुपमा पनि मुखर छन् त कति कवितामा सामाज-राजनीतिका स-साना पक्षलाई ज्यादै कलात्मक रुपमा बुनिएका छन् । कति कविताबाट चाहिँ लाग्छ, श्रवण मुकारुङ ‘गम्भीरकवि’, अनि ‘कलाकार-कवि’ दुवै हुन् ।

‘खोलाको गीत र पुराना कविता’ – उपेन्द्र सुब्बा

मलाई कवि उपेन्द्र सुब्बाको ‘खोलाको गीत र पुराना कविता’ मन पर्छ । यसमा उनका अघिल्ला दुई कविताकृति ‘डाँडामाथिको घामजून र राँकेभूतहरु’ र ‘होङ्ग्रायो, भोक र पाङ्ग्रा’ कृतिका कवितालाई समेत छानेर राखिएको छ । उमेरले दाजु भए पनि लिम्बू भएकाले यहाँ म उपेन्द्र सुब्बाको लागि ‘उहाँ’ आदरार्थी शब्द चलाउँदिनँ। लिम्बू व्याकरणमा ‘हाइरार्कियल सम्बोधन’ नै हुँदैन ।

उनको कविता पढ्दा युनिभर्सल भ्यालुलाई सपाट होइन मिहीन तवरले, पर–पर, माथि–माथि होइन वरपर, भरसक ‘भित्री’ रुपमा खेल्न सक्ने कवि लाग्छन्  ।

राम्रा-राम्रा कविता लेख्नेहरुले कसरी लेख्दा हुन् ? उनीहरुका कमजोरी के-के हुन् ? सबल पक्ष के-के हुन् भनेर सोच्ने गर्छु म । उपेन्द्र दाइ मलाई जीवन र जगत्‌सँगको बडो आत्मिक यात्री झैं लाग्छन् । अनुभूतिलाई स्वाभाविक र सरल भाषामा व्यक्त गरी आफू कवि चाहिँ कविताको नेपथ्यमा ध्यानस्थ हुन्छन् । त्यसैले उनको कविताभित्र सुन्दर कविता त हुन्छ नै, तर त्यसभन्दा पर मुन्धुममा लीन साम्बा जस्तो एउटा ‘लुकेको कवि’ पनि भेटिन्छ । त्यो कविसित मलाई सर्वाधिकप्रियानुभूति र ईर्ष्या हुने गर्छ ।

नेपाली साहित्यमा स्थापित आन्दोलन सिर्जनशील अराजकतामा हाङयुग अज्ञात, राजन मुकारुङ र सरस्वती प्रतीक्षासँग जोडिएको नाम पनि हो उपेन्द्र । लेखनमा मूलतः नेपाली समाजको सांस्कृतिक विविधतालाई प्रतिविम्बन गरिनुपर्ने यस आन्दोलनको रणनीतिलाई उपेन्द्रले सक्दो रुपमा चुपचाप र जीवन्त कार्यान्वयन गरिरहेका छन् । उनी लिम्बू सांस्कृतिक जीवन र मुन्धुमी सभ्यताले निर्मित आफ्नो लेखनको क्यानभासमा विश्वजनीन रङहरु पोत्न समर्थ कवि छन् ।

सिर्जनशील अराजकताको आरनमा खारिएका कवि उपेन्द्रको कविताकृतिको कुरा गरिरहँदा हाङयुग अज्ञात र राजन मुकारुङको प्रतिनिधि कविताकृति ‘करङको हिरासत’ र ‘मिथक माया’ को चर्चा नगर्ने हो भने अधुरो रहन्छ । यी दुई कृतिमा जम्मा पाँच–पाँच वटा बेजोड (साँच्चिकै बेजोड नै भन्नुपर्ला) कविताहरु छन् । सायद ती आम पाठकमा कति पुग्न सके र कति सञ्चरित हुन सके भन्ने पनि होला । अर्थात् ती कविता केही

लामा, प्रयोगपरक, चिन्तनपरक, राजनीतिक सोद्देश्यपरक र साधारण पाठकका लागि ग्राह्य हुन गाह्रो हुने खालका निकै प्राज्ञिक उँचाइका कविता छन् क्यार । ठोकेरै त कसैले भन्न सक्दैन ।

त्यसैले उपेन्द्रका उखानतुक्का, लोक लघुकथा, ठट्यौला र कति त गाउँखाने कथा र चुट्किला जस्तै सरल तर गहन अर्थ बोक्ने कविताहरुले मलाई जबर्जस्त तानेको पनि हुन सक्छ ।

अर्को कुरा राजनीतिक विषयलाई छुँदै नछुनु उपेन्द्रको कमजोरी र क्षमता दुवै हो । उनको कविताको केन्द्र जहिल्यै पनि ठाडो विचारभन्दा शाश्वत भावना नै हो । उनको कविताले कसैलाई चिढ्याउँदैन पनि । कविताको नाममा कविता नै लेख्छन् उनी, न कि कवितामार्फत आफ्नो अन्यथा शक्ति प्रदर्शन गर्छन् ।

त्यसैले त कतिपय नाटक, प्रायोजन, ठूल्ठूला जार्गन, अनेकथरी सपना र बेढङ्गे भाषाका जञ्जालमा रुमल्लिए जस्तो समकालीन नेपाली कवितामाझ मलाई ‘खोलाको गीत र पुराना कविता’ छुट्टै लाग्छ ।

‘ल्याम्पोस्टबाट खसेको जून’ – मनु मञ्जिल

‘आँधीको आवेग’ नाममा वाणी प्रकाशनले छापेको मनु मञ्जिलको कविताकृति र ‘हजार वर्षको निद्रा’ भूपिन व्याकुलको चितवनतिर छापिएको हो कि, यी दुई कृति मैले सँगैजसो पढ्ने अवसर पाएँ । यी समवयी कविबाट नेपाली कवितामा मैले जस्तो धेरैले अपेक्षा गरे हुँदा हुन् । आफू नगर्ने अरुले गरिदिए हुने भनेर अपेक्षा गर्ने एकखाले हाम्रो समाजकै रोगै छ नि !

व्यक्तिगत हिसाबले भन्नुपर्दा मनु मञ्जिलको ‘ल्याम्पपोस्टबाट खसेको जून’ जुन कृति छ, यसमा ‘आँधीको आवेग’कै कविता पनि छन् । तर, मलाई राम्रो लाग्यो । नढाँटी भन्दा ‘आँधीको आवेग’ पढ्दा मनु मञ्जिलको शैली कृष्णभूषण बलको ‘भोलि बास्ने बिहान’का कविता शैलीजस्तो पनि लागेको थियो । सायद त्यो मेरै पठन कमजोरी पनि होला ।

तर, ‘ल्याम्पपोस्टबाट खसेको जून’ का कविताहरु पढेपछि मञ्जिलको कवित्वबारे एउटा साङ्गोपाङ्ग धारणा बन्छ नै । मेरो विचारमा प्वाँख हुँदैमा सबै चरीले चिलले जसरी आकाशमा खावा खान सक्दैनन्, अनि माथि आकाशबाट तल भुइँको कुरा ठम्याउन पनि सक्दैनन् ।

समकालीन धेरैखाले कविहरु जस्तो कोही चिबेचरा जस्तो लखेट्न मात्र जान्ने, कोही तित्राजस्तो भुइँ-भुइँमात्र खोस्री हिँड्ने,  कोही कुर्लेढुकुरजस्तो कुर्लिमात्र रहने, कोही कर्याङकुरुङजस्तो सामूहिक उडान भर्ने कविहरुबाट हेर्दा मनु मञ्जिल नेपाली कविता-आकाशमा कावा खाइरहेका ‘चिल–कवि’ जस्ता लाग्छन् । माथि उँचाइमा उडिरहे पनि उनले तल धर्तीको सौन्दर्यलाई आफ्नै मौलिकतामा टिपिरहेका हुन्छन् ।

कवितामा उनको कला पक्ष गजब लाग्छ त्यसमा आफैंले वाचन गरे भने उनको कविताले बडो सुन्दर उडान भरेजस्तो लाग्छ । जस्तो ‘दुश्मन’, ‘एउटा गाउँले बालकलाई सम्झेर’, ‘उनी कविता जीवनको रङ्गले लेख्छिन्’ र पछिल्लो चरणमा उनले लेखेको ‘साँघुरो बाटोमा’ आदि कवितालाई मात्र नै लिऊँ ।

२०७४ असार ३१ गते १४:५५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this