Comments Add Comment

एक महिनादेखि पर्वतका दुई गाउँ अन्धकार


१ साउन, पर्वत । विगत एक महिनादेखि यहाँका दुई गाउँ अन्धकार बनेका छन् ।

हावाहुरीसँगै पोल ढलेका कारण विद्युत् आपूर्ति बन्द भएको हो । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको वडा नं २ र ३ रानीपानी र बराचौर अन्धकारमय बनेका हुन् । हावाहुरीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति मर्मतका लागि सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

विद्युत् आपूर्ति बन्द हुँदा साविकका बर्राचौर र रानीपानी गाविसका करिब एक हजार ५०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका हुन् । रानीपानीको बरारुखमा रहेको मुख्य लाइनको फ्यूज गएको करिब एक महिना हुँदा एउटा फ्यूजसमेत प्राविधिकले नराखिदिँदा त्यहाँका नागरिक समस्यामा परेको स्थानीयवासी गणेश पराजुलीले जानकारी दिए ।

गाउँमा लाइन विस्तार गरिएका काठका पोल भाँचिएकाले पनि विद्युत् आपूर्तिमा समस्या भएको हो । रानीपानीका वडा प्राविधिकलाई खबर गर्दा मर्मतमा चासो नदिएकाले अझै केही दिन मर्मत गर्न नसकिने बताएको स्थानीयवासी लीलाधर पराजुलीले गुनासो गरे । विद्युत् आपूर्ति बन्द हुँदा गाउँमा खाना पकाउन, मोबाइल चार्ज गर्न तथा कुटानी पिसानी र स्थानीय फर्निचर उद्योगलाई बढी समस्या परेको छ । विद्युत्को अभावले स्थानीयवासी सञ्चारको पहुँचबाट वञ्चित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment