१२ साउन, रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला समन्वय समिति (जिसस)मा पार्टीबाट पठाउनेहरुको नाम टुङ्गो लगाएको छ ।
बुधबार साँझ सम्पन्न बैठकले समन्वय समितिमा पठाउने ९ जनाकै टुङ्गो लगाएको छ ।
जिससको प्रमुखमा खाँडादेवी गाउँपालिकाको गागलका प्रेमबहादुर खड्का र उपप्रमुखमा लिखु गाउँपालिकाको नागदहीकी दीपा पाख्रीनलाई उम्मेदवार बनाउने सर्वसम्मतीले निर्णय गरेको छ ।
एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कार्कीका अनुसार महिला सदस्यमा दोरम्बा गाउँपालिकाको डडुवाकी निडोल्मा शेर्पा, गोकुलगंगा गाउँपालिकाको नामाडीकी राधिका गुरुङ, उमाकुण्ड गाउँपालिकाको भूजिकी मैसार्की रहेका छन् ।
यसैगरी रामेछाप नगरपालिकाको साँघुटारका पूर्णबहादुर महत, मन्थली नगरपालिकाको चिसापानीका गणेश माझी, मन्थली नगरापालिकाको भलुवाजोरका रामबहादुर तामाङ र लिखु गाउँपालिकाको दुरागाउँका रमेश वाग्लेलाई एमालेले जिससको सदस्य बनाउने निर्णय गरेका छ ।
जिल्ला पार्टीले गरेको निर्णयमा प्रमुख र उप्रमुखको प्रदेश हुँदै स्थायी कमिटीले अनुमोदन गर्ने छ भने सदस्यहरुको जिल्ला पार्टीको निर्णय नै अन्तिम हुने छ ।
एमालेको यो निर्णयसँग सिफारिस गरिएका सबै जिल्ला समन्वय समितिमा आउने निश्चित छ ।
कुल ८ वटा स्थानीय तह रहेको रामेछाप जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचनमा १६ जना मतदाताले मतदान गर्ने छन् ।
दुई नगरपालिकाका प्रमुख तथा उपप्रमुख र ६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने छन् । अहिले एमालेको ९ भोट छन् भने काँग्रेसका ३ र माओवादी केन्द्रका ४ भोट छन् ।
काँग्रेस र माओवादीको जोड्दा पनि कुल ७ भोट हुन्छ । एमाले एक्लैसँग ९ भोट छ ।
जिससको निर्वाचन यही साउन २९ गतेभित्र सम्पन्न गरिसक्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले कार्यआरम्भ गरिसकेको छ ।
त्यसैले साउन २९ गतेभित्र खड्का जिल्ला समन्वय समितिको प्रमुखको पदमा पुग्ने छन् ।
एमाले भित्र इमान्दार र पदको लोभ नगर्ने छवि बनाएका खड्का सादगी जीवनका नेता मानिन्छन् । उनी साबिक गागल भदौरे गाविसका पूर्व उपाध्यक्ष पनि हुन् ।
चालिसको दशकदेखि राजनीतिमा निरन्तर सक्रिय रहेका खड्का भूमिगतकालदेखिनै पार्टीको मूलधारमा रहेर काम गर्दै आएका छन् ।
प्रतिक्रिया 4