Comments Add Comment

झापाका महिला जनप्रतिनिधिको गुनासोः महिलालाई महिलाले नै हराए

१५ साउन, झापा । लामो समयको अन्यौलतापछि भएको स्थानीय निर्वाचनमा महिला उम्मेदवारको विषय निकै चर्चामा रह्यो ।

प्रमुख या उप्रमुखमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनै पर्ने व्यवस्था भएकाले यसपटक नेपालको इतिहासमै सबैभन्दा धेरै महिला जनप्रतिनिधि निर्वाचित भए । तर, अधिकांश स्थानमा दलहरुले महिलालाई उपप्रमुखमा सीमित बनाए ।

दोस्रो चरणमा निर्वाचन भएको झापामा २ सय ७७ जना महिला जनप्रतिनिधि निर्वाचित भए । जसमध्ये कमल गाउँपालिकामा मेनका काफ्लेले प्रमुख पदमा जितिन् ।

निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र काफ्लेको बराबर मत आएपछि भएको गोलाप्रथाबाट उनले जित निकालेकी थिइन् ।

जिल्लामा १२ जना महिलाले उपप्रमुखमा जिते भने ३ जना वडाध्यक्षमा विजयी भए । र, २ सय ६१ जना दलित महिला सदस्य र महिला सदस्यको कोटाबाट निर्वाचित भए । महिलाहरुले प्रमुख र उपप्रमुखमा जित्न भने निक्कै कसरत गर्नु पर्याे ।

शनिबार बिर्तामोडमा नारी सञ्चार गृहले गरेको छलफल कार्यक्रममा झापाका निर्वाचित महिला जनप्रतिनिधि भेटिए ।

कार्यक्रममा उनीहरुले टिकट पाउन गर्नु परेको संघर्षदेखि चुनाव जितिसकेपछिको तिता–मिठा अनुभव खुलेरै बताए ।

गोलाप्रथाबाट कमल गाउँपालिकाकी प्रमुखमा विजयी बनेकी मेनका काफ्लेले पुरुषवादी चिन्तनका कारण महिलालाई अघि बढ्न समस्या भएको बताइन् ।

महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने चिन्तन हाबी हुँदा आफूलाई समस्या भएको उनको भनाइ थियो । ‘महिलालाई हराउन महिला नै लागि परे’, उनले भनिन्, ‘पितृसत्तात्मक सोचले निक्कै गाह्रो भयो ।’

उनको विश्लेषणमा अधिकांश ठाउँमा महिलाकै असहयोगका कारण महिलाले पराजित हुनु परेको छ ।

पार्टीभित्र एकतर्फ महिलाले टिकट पाउनु गर्नु पर्ने संघर्ष त छँदै छ, अर्कातिर महिलाकै असहयोगमाथि लड्नु पर्दा महिला उम्मेदवारलाई गाह्रो भएको उनले स्मरण गरिन् ।

बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईंले चुनावअघि र पछिको तीतो अनुभव बारेको दुई घटना यसरी सुनाइन्ः

चुनावअघिः जनताको घर दैलोमा जाँदा अधिकांश मानिसहरु मेयरका उम्मेदवारसँग झुम्मिन्थे । वडाध्यक्ष अनि अरु पदका उम्मेदवारहरुसँग गफिन्थे । तर, महिला उम्मेदवारलाई चाहिँ हेर्दै हेर्दैनथे । मेयरले उहाँ चाहिँ उपमेयरको उम्मेदवार भनेपछि बल्ल नजर लगाउँथे ।

चुनावपछिः बिर्तामोड नगरपालिकाको कार्यालयमा केही सेवाग्राही आए । उनीहरुले प्रमुखलाई खोजे । त्यस दिन नगर प्रमुख अन्तैको काममा गएका थिए । सेवाग्राहीको काम गर्न म बसेको थिएँ ।

तर, उनीहरुले मलाई वास्तै गरेनन् । एक जना कर्मचारीले सरले उहाँलाई नै जिम्मा दिनु भएको छ भने । तर, पनि उनीहरुले वास्ता गरेनन् । बरु, केही वेरमा लुसुक्क निस्किएर बाहिर गए ।

महिलाहरुलाई हेयको दृष्टिकोणले हेर्दे चलन रहेको भन्दै उनले निर्वाचित जनप्रतिनिधिलाई संवेदनशील भएर चुनौतीलाई ‘फेस’ गर्न सुझाव दिइन् ।

मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेतीले संगठन कमजोर भएको अधिकांश ठाउँमा महिलालाई उम्मेदवार बनाइएको गुनासो गरिन् ।

‘कानुनमै बाध्यकारी नियम भएकाले मात्र सीमित ठाउँमा भए पनि महिलाले प्रमुख र उपप्रमुखमा ठाउँ पाए’, उनले सुनाइन्, ‘नत्र, त्यति पनि हामीले पाउने थिएनौं ।’

सीमित ठाउँमा महिलाले जित निकालेको कुरालाई उनले सकरात्मक रुपमा लिनु पर्ने बताइन् । र, काम गरेर सबैलाई देखाउनु पर्ने सुनाइन् ।

‘हामीले चुनौतिहरुलाई अवसरमा परिणत गरेर अघि बढ्नु पर्छ’, उनले थपिन्, ‘अब काम गरेर ५ वर्षपछिको चुनावमा झन् धेरै महिला निर्वाचित हुने वातावरण बनाउनु पर्छ ।’

भद्रपुरकी उपमेयरको गुनासो–कालोकोटे भनेर होच्याए

भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले पुरातनवादी सोच र शैलीलाई परिवर्तन गर्न अब राजनीतिक शक्तिको प्रयोग गर्नु पर्ने बताइन् ।
‘अब हामी निर्वाचित महिला जनप्रतिनिधिले नै सामाजिक रुपान्तरणमा प्रमुख भूमिका खेल्नु पर्छ’, उनले भनिन् । महिलालाई चुनाव लड्दा आर्थिक समस्या पनि उत्तिकै भएको अनुभव उनले सुनाइन् ।

चुनावी प्रतिष्पर्धामा आउँदा आफूले अनेकथरिका समस्या भोग्नु परेको उनले बताइन् ।

‘कानुनी पृष्ठभूमिबाट आएको भनेर कालोकोटेको मात्र चुनाव हो ? भनेर होच्याउनेसम्मको काम भए’, उनले सम्झिइन्, ‘तर, अब म काम गरेर देखाउँछु, सामाजिक रुपान्तरणका लागि कालाकोटे नै आवश्यक छ भन्ने कुरा पुष्टि गर्छु ।’

के भन्छन् दमक र अर्जुनधाराका उपमेयर ?

दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले लामो समयसम्म प्राध्यापन गरेर मान्छेलाई टपक्क टिपेर राजनीतिमा ल्याइएको भन्दै गलत प्रचार गरिएको बताइन् ।

पार्टीको विभिन्न भातृ संगठनमा सक्रिय उनी बौद्धिक र शिक्षक संगठनमा लामो समयदेखि आबद्ध थिइन् ।

‘मैले २७ वर्ष अध्यापन गरेँ’, उनले भनिन्, ‘यो अवधिमा मैले धेरै विद्यार्थी, शुभचिन्तक पाएँ । उहाँहरुको मायाले मैले जितेँ ।’

अर्जुनधारा नगरपालिकाकी उपमेयर कमला आचार्य महिला भएकाकै कारण आफूलाई ‘नचाउने’ काम भएको टिप्पणी गरिन् ।

‘भोट माग्न थालिसकेको मान्छेलाई रातारात टिकट खोसिएको खबर आउँछ’, उनले स्मरण गरिन् ।

तर, अब जितिसकेपछि अन्य महिलाले त्यस्तो परिस्थिति भोग्नु नपरोस् भनेर आफूले त्यसविरुद्ध रचनात्मक रुपमा लडाईँ गर्ने उनले बताइन् ।

सकरात्मक काम गरेर अब सामाजिक रुपान्तरणमा भूमिका खेल्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment