Comments Add Comment

अर्थ मन्त्रालयको क्यान्टिनमा म्याद गुज्रेको चाउमिन


१७ साउन, काठमाडौं । मुलुकको मूख्य प्रशासनिक केन्द्र सिंहदरवारभित्रका क्यान्टिन (चमेनागृह) मा दुषित खाद्यवस्तु भेटिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार गरेको अनुगमनमा सिंहदरवारभित्रका विभिन्न मन्त्रालयमा गुणस्तरहीन खाद्यवस्तु भेटिएको हो ।

गुणस्तरहित पाइएपछि विभागको अनुगमन टोलीले अर्थ मन्त्रालयको क्यान्टिनबाट १० पाकेट चाउमिन र ३ पाकेट दूध नष्ट गरेको छ । चाउमिनमा ‘लेवल’ (उत्पादन मिति, प्रयोग मिति, मिसावट वस्तु लगायतका विवरण) उल्लेख नगरिएको र दूधमा उत्पादन मिति नै उल्लेख नगरेको भेटिएको छ ।

अर्थ मन्त्रालयको क्यान्टिनले टेण्डर सम्झौता विपरीत महंगो मूल्य लिएर खानेकुरा बेचेको फेला परेको अनुमगन टोलीका एक अधिकारीले बताए । अनुगमन टोलीले क्यान्टिन सञ्चालक सीएमएस हस्पिटालिटी प्रालिलाई २४ घण्टाभित्र विभागमा हाजिर हुन निर्देशन दिएको छ ।

संसद सचिवालयको क्यान्टिन फोहारी

त्यस्तै, व्यवस्थापिका संसद सचिवालयको क्यान्टिनमा पनि विभिन्न कैफियत देखिएपछि विभागको टोलीले ३ दिनभित्र जवाफसहित विभागमा हाजिर हुन निर्देशन दिएको छ । रिजेन्सी बैंकेट पार्टी प्यालेसले चलाएको उक्त क्यान्टिन फोहोरी र सम्झौतापत्र बमोजिम नचलेको पाएपछि टोलीले जवाफसहित हाजिर हुन निर्देशन दिएको हो ।

सिंहदरबारभित्रकै केन्द्रीय सर्भिस सेन्टरको क्यान्टिनमा पनि मूल्यसूची नराखेको पाइएपछि विभागले सुधार्न निर्देशन दिएको छ । नेपाल टेलिभिजनको क्यान्टिनमा पनि विभिन्न कैफियत भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment