+

चाडबाडमा पनि खेलमै व्यस्त नेपाली खेलाडी, देश–विदेशमा प्रतिस्पर्धा गर्दै

२०८३ कात्तिक  २ गते १६:२६ २०८३ कात्तिक २ गते १६:२६

चाडपर्वको रौनकसँगै नेपाली खेलाडीहरू देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गरिरहेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष क्रिकेट टोली आईसीसी विश्वकप लिग–२ को अन्तिम सिरिजमा ओमानसँग आज खेल्दै ओडिआई मान्यता जोगाउने लक्ष्यमा छ।
  • जापानको आइची–नागोयामा सुरु पाँचौं एसियन पारा गेम्समा नेपालका १९ खेलाडी आठ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्।
  • कात्तिक ९ गतेदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुने भएकाले फ्रेन्चाइज टोली र खेलाडीहरू तयारीमा व्यस्त छन्।

२ कात्तिक, काठमाडौं । नेपालीका लागि दसैं उल्लास, उमङ्ग र पारिवारिक जमघटको पर्व हो । तर, नेपाली खेलाडीका लागि भने दसैंको समयमा पनि खेलकुदकै चटारो छ ।

राष्ट्रिय क्रिकेट टोलीदेखि अन्तर्राष्ट्रिय पारा खेलकुद, ई–स्पोर्ट्स, अटो जिमखाना र ह्यान्डबलसम्मका नेपाली खेलाडीहरू विभिन्न प्रतियोगितामा व्यस्त छन् । चाडपर्वको रौनकसँगै नेपाली खेलाडीहरू देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यस्तै नेपालकै ठूलो खेलकुद मेलाको रुपमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको माहोल पनि तातेको छ ।

क्रिकेटमा विश्वकप लिग–२ को चुनौती

नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम सिरिज खेल्न ओमानमा छ । नेपालले सिरिजको आफ्नो अन्तिम खेल आज घरेलु टोली ओमानसँग खेलिरहेको छ ।

ओडिआई मान्यता जोगाउनका लागि महत्वपूर्ण मानिएको यस खेलमा नेपाली टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

यता, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन एक साता मात्र बाँकी छ । बडादसैं सकिएपछि कात्तिक ९ गतेदेखि एनपीएल सुरु हुनेछ ।

तिहारको समयमा पनि एनपीएलका खेल जारी रहनेछ । प्रतियोगिताको तयारीसँगै दसैंको समयमा पनि फ्रेन्चाइज टोली र खेलाडीहरू तयारीमै व्यस्त छन् । फ्रेन्चाईजहरु धमाधम विदेशी खेलाडीहरु अनुबन्ध गरिरहेका छन् ।

दसैंको माहोलबीच नेपाली क्रिकेटमा एनपीएलको रौनक बढ्दै गएको छ ।

एसियन पारा गेम्समा १९ नेपाली खेलाडी

जापानको आइची–नागोयामा पाँचौं एसियन पारा गेम्स सुरु भइसकेको छ ।

यही अक्टोबर १८ देखि २४ सम्म आयोजना हुने प्रतियोगितामा नेपालबाट आठ खेलमा १९ खेलाडीले सहभागिता जनाइरहेका छन् । एसियाली स्तरमा प्रतिस्पर्धा गर्दै नेपाली खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाएका छन् ।

तेक्वान्दोमा पलेशा गोबर्धन र रेनु तामाङ, एथलेटिक्समा प्रभा आङदेम्बे, श्रृष्टि धेवाजु, मोहन रोका, हिमाल अर्याल र राजु गुरुङ, ब्याडमिन्टनमा प्रकाश अधिकारी, टेबलटेनिसमा केशव थापा, डिगमसिंह चेमजोङ, निर्मला भण्डारी, स्वीकृति न्यौपाने र विवेक राई, पावर लिफ्टिङमा रजनी राई र पवन घर्ती मगर, पौडीमा जेनिशा कडायत र हर्कमान घर्ती, जुडोमा संकल्प आचार्य र ह्वीलचेयर टेनिसमा रामबहादुर तामाङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकतर्फ तेक्वान्दोमा कविराज नेगी लामा, एथलेटिक्समा ओलम्पियन विमला राना मगर, ब्याडमिन्टनमा छविलाल शाही, टेबलटेनिसमा बसन्त भारती, पावर लिफ्टिङमा क्याब्लिन महर्जन, पौडीमा शुभ श्रेष्ठ, जुडोमा योगेन्द्र विष्ट र ह्वीलचेयर टेनिसमा सूर्यभूषण वज्राचार्य छन् ।

पीएमजीओमा नेपाली ई–स्पोर्ट्स टोलीको चुनौती

पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को दोस्रो संस्करण पाकिस्तानमा सुरु हुँदैछ। प्रतियोगितामा नेपालबाट होरा ई–स्पोर्ट्स र ट्रेन्ड टु किल्ड (टीटूके) गरी दुई टोलीले प्रतिस्पर्धा गर्दैछन्। दुवै टोली नेपालमा आयोजित पीएमजीओ साउथ एसिया फल्स प्रतियोगिताबाट छनोट भएका हुन्।
प्रतिय‍ोगिता अक्टोबर २० देखि २५ (कात्तिक ३-८ गते) सम्म
ई–स्पोर्ट्समा नेपालको उपस्थिति बलियो बनाउने लक्ष्यसहित दुवै टोली अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार छन्।

एसिया अटो जिमखाना च्याम्पियनसिप

एसिया अटो जिमखाना च्याम्पियनसिप (एएजीसी) को तेस्रो राउन्ड हङकङ र थाइल्यान्डमा हुँदैछ । हङकङमा दुई दिन भएको प्रतिस्पर्धामा रेहान सुनार र बिपास्ना तामाङले प्रतिस्पर्धा गरेका थिए । आशिष रौनियार व्यवस्थापकका रूपमा टोलीसँग छन् । प्रतिस्पर्धामा १२ देशका खेलाडीहरु सहभागी थिए ।

अब नेपाली टोली एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपमा भाग लिन उतैबाट थाइल्यान्ड जानेछन् ।

जसमा सोही टिमले अटोजिमखानामा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै कबिन ठकुरी र जय प्रताप मास्के दसैंको टिकाको दिन थाईल्यान्ड प्रस्थान गर्ने र उनीहरुले अटो क्रस विधामा प्रतिस्पर्धा गर्ने नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिए ।

आईएचएफ ह्यान्डबलका लागि बंगलादेशमा नेपाली महिला टोली

अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आईएचएफ) अन्तर्गतको प्रतियोगितामा सहभागी हुन नेपाली महिला ह्यान्डबल टोली बंगलादेशमा छ। अन्तर्राष्ट्रिय अनुभव बटुल्ने र आफ्नो खेलस्तर सुधार गर्ने लक्ष्यसहित नेपाली टोली प्रतिस्पर्धामा उत्रिँदैछ।

आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा सहभागी हुन नेपाली महिला ह्यान्डबल टोली हाल बंगलादेशको ढाकामा छ ।

अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ) को आयोजनामा कात्तिक १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित बंगालादेश, भारत, मालदिभ्स, यमन र आफगानिस्तानको सहभागिता रहने छ ।

प्रतियोगितामा बन्दना राई (कप्तान), उमा राई, देवकुमारी बाँस्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगिता चौधरी, सञ्जु राई, शान्तीकला राई र ममता राना सहभागी हुने छन् । टिम प्रशिक्षकमा सुसिल अधिकारी छन् ।

टेनिस टोली भियतनाममा

भियतनाममा हुने बिलि जिन किङ कपमा नेपालबाट ४ खेलाडी सहभागी हुँदैछन् ।

अक्टोबर २१ देखि २४ (कात्तिक ४ देखि ७ गते) सम्म भियतनामको फान थिटमा हुने प्रतियोगितामा स्वस्तिका विष्ट, सिर्जना थापा, प्राज्ना मानन्धर र प्रकृति श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा सन्तोष खत्री छन् ।

चाडपर्वमा पनि खेलकुदकै प्राथमिकता

यी प्रतियोगिताहरूले दसैंको समयमा पनि नेपाली खेलकुद गतिविधि निरन्तर चलिरहेको देखाउँछन् । खेलाडीहरू परिवारसँग चाडपर्व मनाउनुका साथै आफ्नो खेलजीवन र देशको प्रतिनिधित्वलाई प्राथमिकता दिइरहेका छन् ।

क्रिकेटको मैदानदेखि ई–स्पोर्ट्सको प्रतिस्पर्धासम्म, पारा खेलकुददेखि ह्यान्डबल र अटो जिमखानासम्म नेपाली खेलाडीहरूको व्यस्तताले अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको उपस्थिति विस्तार भइरहेको संकेत गर्छ। दसैंको उल्लासबीच नेपाली खेलाडीहरूको ध्यान भने प्रतिस्पर्धा, प्रदर्शन र सफलतातर्फ केन्द्रित छ ।

चाडबाडमा खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय