Comments Add Comment

पर्वतारोहण संघको चुनावमा वामपन्थी र कांग्रेसको अलगअलग प्यानल

आरोहीको रोयल्टीबाट पदाधिकारीले विदेश सयर गरेको आरोप

१९ साउन,काठमाडौं । नेपाल पर्वतारोहण संघको निर्वाचनमा आरोही तथा पर्यटन व्यवसायीहरु राजनीतिक दलमा बिभाजित भएर प्रतिस्पर्धा गर्ने भएका छन् ।

करिव ११ सय मतदाता रहेको पर्वतारोहण संघको नेतृत्व लिन एमालेको नेतृत्वमा माओवादी र शेर्पाहरुको समूहको एउटा प्यानल बनेको छ ।

एमाले नेतृत्वको प्यानलको अध्यक्ष सन्तवीर लामा छन् । त्यस्तै कांग्रेसको समूहबाट पूर्व अध्यक्ष जिम्बा जाङ्बु शेर्पाको नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ । संघको चुनाव साउन २१ गते काठमाडौंमा हुँदै छ ।

सगरमाथा लगायतका हिमाल आरोहण गर्ने आरोहीहरुको रोयल्टीबाट करोडौं रकम जम्मा भएपनि सो रकम पदाधिकारीहरुले विदेश भ्रमण र व्यक्तिगत प्रयोजनमा खर्च गरेको भन्दै हिमाल आरोहीहरुले संघको नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै आएका छन् ।

आरोहीहरु बिरामी पर्दा,संकटमा पर्दा र बृद्ध अवस्थामा उपचार खर्च समेत नपाउँदा पर्वतारोहण संघले दायित्व निर्वाह नगरेको किर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले बताए । संघको नेतृत्व दावी गरिरहेका दुवै समूहका उम्मेदवारलाई आरोहीहरुले यहि प्रश्न उठाइरहेका छन् ।

यसैबीच सन्तवीर लामा समूहले विहिवार पत्रकार सम्मेलन गरी आरोहीका गुनासा जायज भएको भन्दै बिगतको नेतृत्वको गलत कार्यशैलीकै कारण आफूहरुले नयाँ प्यानल खडा गर्नु परेको बताएको छ । अध्यक्षका उम्मेदवार लामाले आरोहीबाट उठेको रोयल्टी उनीहरुको हकहितमा लगाउने प्रतिबद्धता जनाए ।

लामा समूहबाट प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह,द्धितीय उपाध्यक्षमा प्रसिद्ध आरोही माया शेर्पा र महासचिवमा माओवादी निकट व्यवसायी बोधराज भण्डारी चुनावी मैदानमा छन् । त्यस्तै सचिवमा टिकाराम गुरुङ र कोषाध्यक्षमा सुदर्शन न्यौपाने उम्मेदवार छन् ।

शेर्पा समूहबाट महासचिवमा कुलवहादुर गुरुङ उम्मेदवार छन् । यो समूहको चुनावी कमाण्ड नेपाली कांग्रेसका नेतासमेत रहेका दिपक महतले गरेका छन् ।

अर्कोतिर लामा समूहको चुनावी अभियानलाई सघाउन एमालेका केन्द्रीय सस्य तथा पर्यटन विभाग प्रमुख सूर्य थापानै खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment