Comments Add Comment

बलिउडको ‘ब्याड लक’


शनिबार बेलुकी भारतको कोलकत्तामा आयोजना भएको चलचित्र ‘जब ह्यारी मेट सेजल’को प्रमोशन कार्यक्रममा मुख्य नायक साहरुख खान र नायिका अनुष्का शर्मालाई हेर्न करिब ७० हजार भन्दा बढी दर्शक उपस्थित भए । कोलकत्तामा साहरुख र अनुष्काको गजबको क्रेज देखियो । यो क्रेज विश्वभर नै देखिएको छ ।

शुक्रबार बिहान नेपालमै साहरुखका फ्यानले पहिलो शो हेर्दै केक काटे । यस्तो, सेलिव्रेशन विश्वभर देखियो । चलचित्र प्रमोशनका क्रममा भारतका विभिन्न स्थानमा पुगेका साहरुखलाई हेर्न, मानिसको सागर नै उर्लियो । चलचित्र प्रमोशनका क्रममा मात्र होइन, इद होस् वा जन्मदिन, साहरुखलाई हेर्न उनको घर अगाडि हजारौ फ्यानको भिड लाग्छ ।

तर, दुःखद कुरा विगत केही बर्षदेखि साहरुखलाई हेर्न हलमा यस्तो क्रेज देखिएको छैन । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘जब ह्यारी मेट सेजल’को ओपनिङ व्यापारले पनि साहरुखको पर्दा भित्रको क्रेज निकै घटेको देखाएको छ । मिश्रति समिक्षा पाएको यो चलचित्रले पहिलो दिन जम्मा १५.२५ करोडको व्यापार गर्‍यो । व्यापारिक कारोबार हेर्दा चलचित्र असफल हुने बाटोमा देखिएको छ । यही बर्षको सुरुवाती महिनामा रिलिज भएको साहरुखको चलचित्र ‘रइस’ सेमीहिट भएर उनको इज्जत जोगाइदियो ।

साहरुख खान मात्र होइनन्, यो बर्ष बलिउडका चर्चित नायक चलेका छैनन् । अझ, भनौ चलचित्र ‘बाहुवली २’को रिलिज पश्चात बलिउडलाई ‘ब्याड लक’ नै लागेको छ ।

हरेक बर्षको इदमा धुम मच्चाउँदै आएका नायक सलमान खानले पनि यो बर्ष निराश बनाए । उनी, अभिनित चलचित्र ‘ट्यूबलाइट’को यो बर्षको इदमा फ्यूज उड्यो । चलचित्रले सय करोड त कमायो, तर असफल भयो ।

बलिउड यो बर्ष निरन्तर व्यापारिक रुपमा कमजोर देखिएको छ । ‘बाहुवली २’ पछि रिलिज भएका ‘ट्यूबलाइट, मुन्ना माइकल, जग्गा जाशुश, जब ह्यारी मेट सेजल’ जस्ता चलचित्र असफल भएका छन् ।

रमाइलो कुरा त के छ भने, हिन्दीय भर्सनमा रिलिज भएको साउथ इन्डियन चलचित्र ‘बाहुवली २’ले ५ सय २१ करोड भन्दा बढी रकम हिन्दी भर्सनबाट कमायो । साउथको धुम मच्चिएको बर्ष बलिउडका ठूला ठूला स्टार असफल भए । साहरुख खान, सलमान खान, रणवीर कपुर, टाइगर श्राफ, अर्जुन कपुर जस्ता कलाकारका चलचित्र बक्स अफिसमा असफल साबित भएका छन् ।

बलिउड पण्डितहरु अहिले बलिउडलाई ‘ब्याड लक’ लागेको बताइरहेका छन् । एकपछि अर्को चलचित्रको असफलताले के कुरा पुष्टी गरिरहेको छ भने, अब बलिउड विस्तारै स्टारडमबाट मुक्त हुँदैछ । साउथका स्टारहरु प्रभास, अल्लु अर्जुन, रामचरन, महेश बाबु जस्ता कलाकारहरुको क्रेज विस्तारै बलिउड मार्केटमा बढ्न थालेको छ ।

बलिउडमा पछिल्लो समय खानडम रहेको छ । सलमान, साहरुख, आमिरले नै बलिउडलाई २५ बर्षदेखि हाकिरहेका छन् । आमिर खानले पछिल्ला बर्ष कथावस्तु छनोटमा निकै मिहिनेत गर्छन् । जसले गर्दा उनका चलचित्रले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् ।

दर्शकले, अब साहरुख, सलमानदेखि रणवीरसम्मलाई राम्रो कथावस्तुमा चलचित्र खेल्न बक्स अफिसबाटै सुझाव दिएको पक्का हो । अब, स्टारको क्रेज पर्दा भित्र देखिने संभावना कम छ । थोरै बजेटमा बनेका उत्कृष्ट चलचित्रले राम्रो कमाइ गरिरहदा बलिउड स्टारहरु असफल हुन थालेका छन् ।

बलिउडले अब कन्टेन्टमा सोच्नुपर्ने बेला आएको छ । ‘बाहुवली’ जस्तो कथा र दृश्यमा चमत्कार गरेको चलचित्र हेर्ने बानी दर्शकमा पर्न थालेको छ । बलिउडलाई केही महिनादेखि ‘ब्याडलक’ लागेको छ । यो खराब समय कुन चलचित्रले चिर्छ, यसै भन्न सकिने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment