Comments Add Comment

रसुवाको पैरेबेंसीमा पहिरो, एकै परिवारका ४ जना बेपत्ता

पहिरोले सडक थुनिएपछि घाइते ४ जनाको उद्दारमा समस्या

२३ साउन, रसुवा । अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेंसीमा एकै घरका चार जना हराइरहेका छन् भने घाइते अवस्थामा चार जनालाई उद्धार गरिएको छ ।

गए राति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वर्षीय धर्मबहादुर थापामगर, उनको बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी हराइरहेका छन् ।

माथिबाट निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले उनीहरुको उद्धारमा पुगेको नुवाकोट र रसुवाको नेपाल प्रहरी र श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीलाई कठिनाइ भएको छ ।

पहिरोमा परी अन्य चारजना घाइते भएकामध्ये रुद्र थापामगर र देवकी थापामगरको अवस्था गम्भीर छ । चारै जना घाइतेको नुवाकोटको मनकामना शान्तिबजारतर्फ लागेर स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरुलाई उपचारका लागि अस्पताल ल्याउन पहिरोले सडक अवरुद्ध रहेको र आवत जावतमा समेत कठिनाइ भएकाले सकिएको छैन ।

आइतबार साँझदेखि नै वर्षा भइरहेकाले राति ९ बजे पैरेबेशीस्थित माथिबाट पहिरो आएको स्थानीय बासिन्दाले बताएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार वर्षाले रसुवाको लहरेपौवास्थित खाल्डेदेखि नै घटनास्थल पैरेबेशीसम्म पुग्न रसुवा र नुवाकोटको विभिन्न स्थानमा पहिरो बगिरहेकाले उद्धार गर्न थप टोली घटनास्थलमा जान सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment