Comments Add Comment

काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको विलासी गाडी

उपमेयरलाई ८० लाखको गाडी


२३ साउन, काठमाडौं । पदभार ग्रहण गर्नासाथ जनप्रतिनिधिका लागि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि बिलासी गाडी किनेका छन् ।

मेयर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फर्च्यूनर ’ गाडी काठमाडौंमा आइपुगेको छ ।

भन्सार छुटाएर ल्याइएको गाडी अहिले राष्ट्रिय सभागृह परिसरमा राखिएको छ । त्रिपालले ढाकेर राखिएको गाडीको नम्बर प्लेट लिइएको छैन । नयाँ गाडी केही दिनमै मेयर शाक्यले प्रयोग गर्ने महानगर स्रोतले बताएको छ ।

मेयर शाक्यलाई अहिले पनि महानगरले महंगै गाडी उपलब्ध गराएको छ । उनले चढ्ने गाडी झण्डै १ करोड बराबरकै छ । झण्डै ४ वर्ष अघि किनिएको गाडी जनप्रतिनिधि आउनु अघि कार्यकारी अधिकृतले चढ्दै आएका थिए ।

मेयर विद्यासुन्दर शाक्यले हाल चढ्दै आएको गाडी ।

महानगर स्रोतका अनुसार मेयर शाक्यले चढ्दै आएको यो गाडी कन्डिसनमा छ । स्रोतले भन्यो, ‘मेयर र उपमेयरसा’बलाई अहिले नै गाडी दिइएको छ । गाडी राम्रै कन्डिसनमा छ । तर, पनि नयाँ गाडी मगाइएको छ ।’

अनौठो त के भने केही समयअघि ढलमा परेर बालिकाको मृत्यु भएपछि प्रधानमन्त्रीले सडकको खाल्डाखुल्डी पुर्न भन्दा काठमाडौं मेयर शाक्यले नै वर्षामा खाल्डा पुर्दा जनताको करबाट तिरेको रकम खेर जान्छ भनेका थिए । तर, तीनै मेयरले आफ्ना लागि १ करोड २० लाख पर्ने गाडी मगाएका छन् ।

दाया मेयर विद्यासुन्दर शाक्यले मगाएको नयाँ गाडी सभागृह परिसरमा,बायाँ फर्च्यूनर गाडीको  तस्वीर ।

‘सडकको खाल्डो किन पुरिएन भनेर जनताले सोध्दा मेयरसाहबले मितब्ययिताको भजन गाउनुभयो । अहिले बिलासी गाडी चढ्ने चाहनाले नै उहाँको महानगरप्रतिको प्रतिवद्धतामा ठेस लाग्यो’ एक जनप्रतिनिधिले भने ।

उपमेयरलाई ८० लाखको गाडी

मेयरलाई मात्र होइन, उपमेयर हरिप्रभा खड्गीलाई पनि ८० लाखको नयाँ गाडी मगाइएको छ । यो गाडी वीरगञ्ज भन्सारमा आइपुगेको स्रोतले बताएको छ ।

यो वर्ष महानगरले जनप्रतिनिधिका लागि गाडी किन्न मात्रै ७ करोड रुपैयाँ बजेट छुट्याएको छ । यसमध्ये २ करोड मयेर र उपमेयरकै गाडीका लागि खर्च हुनेछ ।

अब मेयर शाक्यले आफू नजिकका केही वडाअध्यक्षलाई पनि यसैवर्ष गाडी दिने योजनाअनुसार ठूलो रकम छुट्याइएको दाबी महानगर स्रोतको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की भने मेयर र उपमेयरको बरिष्ठता र मर्यादाअनुसार सुहाउँदो गाडी किनिएको तर्क गरेका छन् । ‘मेयरसाहाब चढ्ने गाडी उहाँको मर्यादाअनुसारकै हुनुपर्छ भनेर नयाँ किन्ने निर्णय भएको हो । यसलाई आलोचनात्मक ढंगले हेर्नुहुन्न’ कार्कीले भने ।

उनले जनप्रतिनिधि आउनुभन्दा अघिदेखि कै योजना र प्रक्रिया अनुरुप गाडी किनिएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment