Comments Add Comment

प्रमुख निर्वाचन आयुक्त भन्छन्- प्रदेशको चुनाव गर्न सकिँदैन, पहिले संसदको गरौं

दायाँ वायाँ हुँदैन, दुईवटै चुनाव हुन्छन्- गृहमन्त्री

२५ साउन, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ७ भित्र प्रदेशसभाको चुनाव गर्न नसकिने भन्दै अब प्रतिनिधिसभाको चुनाव मात्रै हुन सक्ने जनाउ दिएको छ । सरकारले भने तोकिएकै मितिमा दुबै चुनाव गर्ने दाबी गरेको छ ।

प्रदेशको चुनावबारे निर्वाचन आयोगले कुनै औपचारिक निर्णय नगरे पनि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी माघ ७ भित्र प्रतिनिधिसभाको मात्रै चुनाव हुन सक्ने बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले भने- ‘हामीले सरकारलाई पनि भनिसकेका छौं, दुईवटै निर्वाचन गराउने सम्भावना अब करिब-करिब टरेको छ । माघ ७ भित्र प्रतिनिधिसभाको निर्वाचनको सम्भावना छ ।’

संविधानले नै माघ ७ सम्म व्यवस्थापिका संसदको म्याद तोकेको छ । संविधान कार्यन्वयनका लागि यो अवधिभित्रै प्रदेशसभाको पनि चुनाव गर्नुपर्ने हुन्छ । तर, यो अवधिमा प्रदेशसभाको चुनाव गर्न नसकिने प्रमुख आयुक्त यादवले अभिव्यक्ति दिएका छन्, जुन गम्भीर छ ।

अब संविधान कार्यान्वयनका लागि मंसिरमा प्रतिनिधिसभा चुनाव गराउने प्रस्ताव प्रमुख आयुक्त यादवको छ । तर, प्रतिनिधिसभाको चुनावका लागिसमेत सरकारले भदौ १ गतेभित्रै निर्वाचनको मिति तोक्नुपर्ने प्रमुख आयुक्त यादवकोे माग छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक गर्ने सरकारको प्रस्तावसमेत जटिल रहेको बताए । तर, यसबारेमा निर्वाचन आयोग, राजनीतिक दलहरु र सरकार तीनै पक्ष बसेर छलफल गर्न सकिने उनले बताए

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी कानुनका साथै निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन समयमै नआएका कारण अब प्रदेशको चुनाव गराउन कठिन हुने यादवले बताएका हुन् ।

यादवका अनुसार निर्वाचन आयोगले असारभित्रै प्रतिनिधिसभा र प्रदेशसभा सम्बन्धी कानुन संसदबाट आउनुपर्ने माग गरेको थियो । तर, अहिलेसम्म ती कानून नआएको यादवले बताए ।

त्यस्तै निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन साउन १५ सम्म आउनुपर्ने आयोगको माग थियो । क्षेत्र निर्धारण आयोगले भर्खरैमात्र काम थालेको छ ।

एकैपटक चुनाव गर्दा के हुन्छ ?

प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक गर्ने सरकारको प्रस्तावसमेत जटिल रहेको बताए । तर, यसबारेमा निर्वाचन आयोग, राजनीतिक दलहरु र सरकार तीनै पक्ष बसेर छलफल गर्न सकिने उनले बताए ।

एउटै मतपत्रमा प्रत्यक्ष र समानुपातिकको अलग मतदान गर्ने विकल्पबारे पनि छलफल गर्न सकिने यादवले बताए ।

तर, माघ ७ अघि संविधान कार्यान्वयनका लागि भने प्रतिनिधिसभाको निर्वाचन भने हर हालतमा गर्नैपर्ने उनले बताए ।

प्रदेश र केन्द्रको निर्वाचन एकैपटक गर्न मतपत्र व्यवस्थापन, मतदान केन्द्र व्यवस्थापन र मतदाता शिक्षा लगायत धेरै प्राविधिक कठिनाइ रहेको यादवको ठहर छ । दुबै निर्वाचनका लागि ७ करोड मतपत्र छाप्नुपर्ने उनी बताउँछन् ।

गृहमन्त्री भन्छन्- दायाँ वायाँ हुँदैन, दुईवटै चुनाव हुन्छन्

प्रमुख निर्वाचन आयुक्त यादवले माघ ७ भित्र प्रतिनिधिसभाको मात्रै निर्वाचन गर्न सकिने बताए पनि गृहमन्त्री जनार्दन शर्माले भने तोकिएकै मितिमा दुईवटै चुनाव हुने बताए ।

अनलाइनखबरसँग प्रतिक्रिया दिँदै गृहमन्त्री शर्माले भने-‘तोकिएकै मितिमा दुईवटै चुनाव सम्पन्न गर्न सरकार प्रंतिवद्ध छ, यसमा दायाँ वायाँ हुँदैन ।’

निर्वाचन सम्बन्धी कानून निर्माणको अन्तिम चरणमा पुगिसकेको र संसदले त्यसलाई छिट्टै पारित गर्ने मन्त्री शर्माले बताए ।

साथै निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धाणका लागि २१ दिन समय पाएको बताउँदै मन्त्री शर्माले आयोगको प्रतिवेदन पनि चाँडै आउन लागेको बताए ।

आगामी माघ ७ भित्र प्रदेश सभा र प्रतिनिधिसभा दुबैको चुनाव सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए ।

एमाले नेता खुशी !

पहिले प्रतिनिधिसभाको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव सकारात्मक रहेको एमाले नेता सुवास नेम्वाङले अनलाइनखबरलाई प्रतिक्रिया दिए ।

प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेशको चुनाव गर्न नसकिने भन्दै पहिले प्रतिनिधिसभाको चुनाव गर्ने अनौपचारिक प्रस्ताव राखेपछि एमाले नेताहरु खुशी देखिएका छन् । एमालेले प्रदेशको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने माग राख्दै आएका बेला यादवको यस्तो प्रतिक्रिया आएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको चुनाव पहिले हुनुपर्ने बताउँदै आएका छन् ।

मंसिरमा प्रतिनिधिसभा चुनाव नगराए संवैधानिक र राजनीतिक संकट उत्पन्न हुने भएकाले पहिले प्रतिनिधिसभाको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव सकारात्मक रहेको एमाले नेता सुवास नेम्वाङले अनलाइनखबरलाई प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment