Comments Add Comment

गोविन्द केसीलाई झलनाथ खनालको आग्रह- डाक्टरसा’ब अनशन छोड्नुस्

'निर्वाचनअघि संविधान संशोधन असम्भव'

२५ साउन, इलाम । नेकपा एमालेका नेपाल झलनाथ खनालले चिकित्सा सेवामा सुधारको माग राख्दै आमरण अनसनमा रहेका बरिष्ठ चिकित्सक गोविन्द केसीको अनशनको औचित्य नभएको टिप्पणी गरेका छन् ।

गृहजिल्ला इलाममा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले अनसनरत डा. केसीको अनशन आफैंमा औचित्यहीन रहेको भन्दै फिर्ता लिन आग्रहसमेत गरे ।

खनालले डा. केसीले राखेका मागहरु केही ठीक त केहि बेठीक भएकाले उनका मागहरुलाई जनताको सर्वोच्च निकाय संसदले विचार गरेर हल गर्ने बताए । उनले अनशनको हतियार प्रयोग गरेर संसदलाई दवाव नदिन डाक्टर केसीलाई सुझाए ।

नेता खनालले भने-‘डाक्टर साव अनशन छोड्नुहोस्, थपक्क खानुहोस् ।’ सही मागहरुलाई सरकारले आफैं पूरा गरेर जाने भएकाले आन्दोलनको आवश्यकता नपर्ने खनालले बताए ।

निर्वाचनअघि संविधान संशोधन असम्भव

नेता खनालले सबै निर्वाचन सम्पन्न नभएसम्म संविधान संशोधन हुनै नसक्ने बताएका छन् । उनले अहिलेको एजेण्डा संविधान संशोधन नभई निर्वाचन भएको बताए ।

खनालले कुनै हालतमा पनि निर्वाचनअघि संविधान संभव नहुने भएकाले संशोधनको कल्पना नगर्न सत्ता पक्षलाई आग्रह गरेका छन् । ‘संशोधनको पक्षमा दुई तिहाई बहुमत कुनै शक्ति लाए पनि पुग्दैन, त्यसैले संशोधनको सपना नदेखे हुन्छ ।’ उनले भने, ‘कांग्रेस छलछामको राजनीति गरिरहेको छ, राजपालाई निर्वाचनमा आउन नदिएर उसका कार्यकर्ताहरु आफ्नोमा ल्याउने षड्यन्त्रमा कांग्रेस लागेको छ ।’

एमालले राजपालाई सँगै निर्वाचनमा लैजान चाहेको र निर्वाचनपछि संविधान संशोधनको विषयमा पनि कुरा गर्न तयार रहेको खनालले प्रष्ट पारे । उनले थपे- ‘दुईतिहाई पुर्‍याएर संविधान संशोधन गर्छु भन्नु पहरा चढ्न खोज्नु उस्तै हो ।’

अहिले निर्वाचन सम्पन्न गर्ने समय भएकाले संविधान संशोधनको बेमौसमे खेती छोडेर तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन लाग्न पनि खनालले आग्रह गरेका छन् । उनले निर्धारित समयमा निर्वाचन नगराए संवैधानिक संकट उत्पन्न हुने भएकाले टाउकोले टेकेरै भएपनि निर्वाचन गराउनु पर्ने बताएका छन् । ‘जसले निर्वाचन नगराएर संवैधानिक संटक पैदा गर्छ त्यसको परिणाम उसैले भोग्नुपर्छ ।’ खनालले भने ।

मंगलबारबाट इलाममा शुरु भएको १ नम्बर प्रदेशका एमालेबाट विजयी जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रममा खनाललगायत एमाले महासचिव इश्वर पोख्रेल, एक नं. प्रदेश प्रमुख भीम आचार्य पुनःनिर्माण प्राधिकरणको पूर्व प्रमुख शुशील ज्ञवाली, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा, स्थानीय तह पुनर्संरचना आयोग अध्यक्ष बालानन्द पौडेललगायतले प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment