२६ साउन, काठमाडौं । यामाहाले केही समयभित्रै नेपाली बजारमा नयाँ बाइक ल्याउने भएको छ । निकै प्रतिस्पर्धात्मक २५० सीसीको पर्फमेन्स सेग्मेन्टमा नयाँ बाइक एफजी२५ ‘स्ट्रिटफाइटर’ ल्याउने भएको हो ।
एफजी२५ सेग्मेन्टकै सबैभन्दा सस्तो तर अत्याधुनिक फिचरहरुले भरिएको हुने नेपालका लागि यामाहा बाइकको अधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले जनाएको छ ।
नयाँ एफजी२५ नेपाली बजारमा रहेको एफजी सिरिजका प्रयोगकर्ताका लागि ‘आइडियल अपग्रेड’ र नयाँ ग्राहकका लागि आकर्षण हुने एएमडब्लु इन्टरप्राइजेजका सह-महाप्रबन्धक दिपक रौनियार बताउँछन् ।
यामाहा इन्डियाले सुरुमा यो बाइकको नाम ‘यामाहा एफजी २५०’ राखेको थियो । तर गत जनवरीमा लन्च हुँदा उसले आफ्नो उत्पादनको नाममा दुई अक्षरको अंक राख्ने परम्परालाई निरन्तरता दिँदै ‘यामाहा एफजी २५०’बाट ‘०’ हटाइयो र यसलाई ‘यामाहा एफजी२५ स्ट्रिट फाइटर’ नाम दिइयो ।
शक्तिशाली र वातावरणामैत्री
यामाहा एफजी२५मा वातावरणमैत्री बीएस४ सँग मिल्ने ओइल-कुल्ड २४९ सीसी सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड इन्जिन जडान गरिएको छ जसले ८००० आरपीएममा २०.६ बीएचपी पावर र ६००० आरपीएममा २० एनएम टर्क उत्पन्न गर्छ ।
यो बाइकमा ५-स्पिड गियर बक्स रहेको छ जुन यामाहा कम्पनीका अनुसार सिटी राइडका लागि आवश्यक पर्ने लो-एन्ड एसिलेरेसनका लागि उत्तम छ ।
प्राविधिक पाटोलाई हेर्ने हो भने बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि मोनोसक सस्पेन्सन रहेको छ । ब्रेकिङका लागि २८२ एमएम फ्रन्ट र २५७ एमएम रियर डिस्क ब्रेक जडान गरिएको छ ।
उपयोगी फिचर्सबाट सु-सज्जित
त्यसैगरी, एफजी २५ मा ‘फुल एइडी हेडल्याम्प’ राखिएको छ जुन २५० सीसी सेग्मेन्टमा पहिलो हो । साथै, स्टाइलिस एलइडी टेललाइट र एएओ (अटोमेटिक हेडल्याम्प अन) यसका विशेषताहरु हुन् ।
नयाँ बाइकको कर्ब वेट १४८ केजी रहेको छ जुन डाइमन्ड आकारको फ्रेममा बनाइएको छ । प्याटेन्डेड ब्लुकोर टेक्नोलोजीको इन्जिनका कारण यो नयाँ बाइकले ४३ किलोमिटर प्रतिलिटर माइलेज दिने यामाहाले जनाएको छ ।
यामाहा एफजी२५ तीन वटा एक्साइटिङ कलर- ब्यालिस्टिक ब्लुक, वारियर ह्वाइट र नाइट ब्ल्याकमा उपलब्ध हुनेछ । एफजी२५ स्ट्रिटफाइटर एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको छ र यसको बेसिक डिजाइन एफजी सिरिजबाट इन्स्पायर भए पनि थप परिस्कृत गरिएको छ ।
सजिलो र मितब्ययी
यो नेकेट स्पोर्टस् बाइकमा स्प्लीट सिट छ भने पांग्राको डिजाइन यामाहाको लोकप्रिय सिरिज एमटीबाट प्रभावित भएको देखिन्छ अगाडिको चक्का १००/८० सेक्सनको छ भने पछाडिको चक्का १४०/७० सेक्सनको रहेको छ ।
यामाहाको नयाँ बाइकको ग्राउन्ड क्लेरेन्स १६० एमएम छ भने फ्युल ट्यांक १४ लिटर क्षमताको छ जुन सिटी राइडका लागि काफी र लङ राइडका लागि पर्याप्त छ ।
यामाहाको नयाँ बाइकलाई निकै मितव्ययी बनाउने प्रयास गरिएको छ । बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राखेर यसको निर्माण गरिएको यामाहा इन्डियाले जनाएको छ ।
सन् २००८ मा लन्च भएदेखि नै नेपाल मात्र होइन पूरै दक्षिण एसियामा एफजी सिरिजका बाइक सफल सावित भएको थियो । केही वर्षअघि यामाहाले फ्युल इन्जेक्सन प्रविधि भएको एफजी भी २.० ल्याएको थियो जुन युवामाझ निकै लोकपि्रय रह्यो ।
तथापी, ग्राहकले एक सय ५० सीसीभन्दा पनि बढी पावरफुल र ठूला बाइकमा रुची देखाएपछि यामाहाले आर३ ल्यायो जसले हलुका रेसिङ बाइकका रुपमा ख्याति कमायो ।
भारत र नेपालमै पनि २०० देखि २५० सीसीको मोटरसाइकल सेग्मेन्ट सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको सेग्मेन्ट हो । युवापुस्ताले यहि सेग्मेन्टलाई रुचाइरहेको परिवेशमा एमएडब्लु इन्टरप्राइजेजले तुलनात्मक रुपमा कम मूल्यमा यामाहा एफजी२५ नेपाल भित्र्याउन लागेको हो ।
यसको मूल्य आर१५ कै मूल्यको आसपासमा हुने एमएडब्लुका दिपक रौनियार बताउँछन् । आर १५को मूल्य तीन लाख ५४ हजार नौ रुपैयाँ रहनेछ ।
प्रतिस्पर्धी बाइक
एफजी एफआई र एफजी-ए एफआई जस्तै एफजी २५ पनि नेपाली राइडरहरुले रुचाउनेमा आफू विश्वस्त भएको रौनियार बताउँछन् ।
२०० देखि २५० सीसीको सेग्मेन्टमा नेपालमा रहेका करिब सबै दुईपांग्रे ब्रान्ड प्रोडक्ट छन् । जस्तो कि बजाज पल्सर एनएस२००, होन्डा सीबीआर २५०आर, केटीएम२०० ड्युक, टीभीएस अपाचे आरटीआर २०० ४भी र अन्य ।
निश्चित रुपमा यामाहा एफजी२५ले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन्छ । तर यामाहा इन्डियाले बजारको माग र अन्य ब्रान्डका मोटरसाइकलको लामो समयको रिसर्चपछि एफजी२५ को निर्माण गरेको रौनियारको भनाइ छ ।
प्रतिक्रिया 4