Comments Add Comment

प्रशिक्षण र अभ्यास खेलका लागि जापान जाने राष्ट्रिय फुटबल टोलीको बिदाई

२६ साउन, काठमाडौं । १० दिने प्रशिक्षण र अभ्यास खेलका लागि जापान जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरिएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीको बिदाई गरेको हो । टोली शुक्रबार साँझ जापान प्रस्थान गर्नेछ ।

एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानबिरुद्धको खेलको तयारीमा रहेको नेपाली टोली नेपाली टोलीका जापानिज प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा जापान जान लागेको हो ।

बिदाई कार्यक्रममा प्रशिक्षक कोजीले आफू नेपाली टोलीको प्रशिक्षक भएदेखि नै नेपाली टोलीलाई जापानमा लगेर प्रशिक्षण गराउने चाहना पूरा हुन लागेकोमा खुसी व्यक्त गरे ।

जापान भ्रमण गर्ने २४ सदस्यीय नेपाली टोलीको कप्तानी अनिल गुरुङले गर्नेछन् । गोलरक्षक किरण चेम्जोङ र डिफेण्डर रोहित चन्द बिदेशी लिगमा अनुबन्धित भएकाले जापान भ्रमणमा समावेश हुनेछैनन् ।

सन् २०२० मा ओलम्पिकको आयोजना गर्ने जापानले स्पोर्टस फर टूमरो कार्यक्रम अन्तर्गत नेपाली टोलीलाई जापान भ्रमण गराउने र प्रशिक्षण तथा अभ्यास खेल खेलाउन लागेको हो । स्पोर्टस फर टुमरो कार्यक्रमले नेपाल लगायत अन्य १०० देशबाट खेलाडीहरुलाई जापानमा प्रशिक्षण गराउनेछ ।

आठ दिनको अवधिमा नेपालले जापानमा पाँच अभ्यासखेल खेल्नेछ । जसमध्ये जापानी लिग जे लिगका टिमको युवा टिमसँग प्रतिस्पर्धा गर्नेछ भने दुई खेल युनिभर्सिटी टिम र एक खेल स्थानीय क्लवसँग खेल्नेछ ।

नेपाली टोलीको व्यवस्थापन जापानी फुटबल महासंघले गर्नेछ । कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपाली टोलीलाई शुभकामना दिँदै जितका लागि अग्रिम बधाइसमेत दिए । नेपाली टोली भदाै ६ गते नेपाल फर्कनेछ ।

नेपाली खेलाडीहरुले समान प्राकृतिक प्रकोपको सामना गरिरहेको नेपाल र जापानका युवाहरुबीच भाइचाराका लागि भेटघाट तथा प्राकृतिक विपत्तिका पीडितहरुसँग भेटघाटसमेत गर्ने कार्यक्रम तय भएको छ ।

नेपाली राष्ट्रिय टोली एएफसी एसियन कप छनोटमा व्यस्त छ । यसअघि फिलिपिन्स र यमनसँग खेलेको नेपालले आगामी खेल ताजिकिस्तानसँग खेल्नेछ ।

दुई खेलमा १ अंक जोडेको नेपाल समूहको तेस्रो स्थानमा छ भने ६ अंकसहित फिलिपिन्स पहिलो र ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजिकिस्तानले खाता खोल्न सकेको छैन । समूहको शीर्ष दुई टीम एएफसी एशियन कपमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment