Comments Add Comment

विमान आएको ४ महिनापछि श्री एयरलाइन्सलाई उडान अनुमति


२६ साउन, काठमाडौं । नेपालमा विमान ल्याएको झण्डै ४ महिनापछि मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई उडान अनुमति (एओसी) दिएको छ ।

श्री एयरलाइन्सका अनुसार प्राधिकरणले बिहिबार मात्रै यस्तो अनुमति प्रदान गरेको हो । तीनवटा जहाज ल्याइसकेको श्री एयरलाइन्सले शुक्रबारदेखि नियमित उडान थाल्ने श्री एयरलाइन्सका बजार प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।

उनले भने ‘भोलि देखि नियमित उडान थाल्दैछौं, भोलिबाट नै हामी भैरहवा र नेपालगञ्जको उडान थाल्ने छौं । ‘

श्री एयरलाइन्सले चार महिना अघिदेखि उडान थाल्न खोजेको भएपनि प्राधिकरणले एओसी दिनमा गरेको ढिलाइका कारण ४ महिनासम्म यसले उडान भर्न सकेन ।

नियमित उडान गर्नुपर्ने जहाज ग्राउण्डेड भएर बसिरहँदा कम्पनीले ठूलो क्षति ब्यहोर्नुपरेको छ ।

अनलाइनखबरसँग कुराकानी गर्दै मानन्धरले भने ‘४ महिनासम्म उडान भर्न नपाउँदा हामीले आर्थिक रुपमा क्षति त ब्यहोरेका छौ । तर त्यो के कति हो भनेर अहिलेसम्म हामीले कुनै हिसाव-किताव नै गरेका छैनौं । ‘

श्री एयरलाइन्सले पहिलो विमान गत चैतमा नै ल्याइसकेको थियो । यसले तीन महिनामा क्यानेडाको बम्बार्डियरबाट उत्पादित सिआरजे सिरिजका तीनवटा जेट इन्जिनयुक्त विमान भित्राएको थियो ।

तीन महिना बित्दासम्म पनि पनि क्यानले कुनै निर्णय नदिएपछि श्रीको फाइल अख्तियार दुरुपयोग अनुसन्धानले तानेको थियो । अख्तियारले छानबिन गर्न थालेपछि मात्रै प्राधिकरणले एओसीको प्रक्रिया थालेको थियो ।

एओसी जारी गर्नुभन्दा पहिले उडान परिक्षण गर्ने अनुमति पनि क्यानले केहि दिनअघि मात्रै दिएको थियो ।

आठ वटा हेलिकप्टर रहेको श्री एयरलाइन्सले हेलिकप्टर सेवापनि प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment