Comments Add Comment

भुइँमान्छे बन्न मुर्दासँग रमेशको संगत, सपनामा मुर्दासँगै भिडन्त

सफल निर्देशकको रुपमा स्थापित छन् रमेश बुढाथोकी । तर, पछिल्लो समय अभिनयमा पनि सक्रियता बढ्दो छ उनको । नेपाल टेलिभिजनमा पहिलो टेलिश्रृङ्खला बनाउने निर्देशकको श्रेय पाएका बुढाथोकीले थुप्रै मेगा सिरियल बनाए । साथै केही फिचर फिल्म निर्देशन गरेर हिट निर्देशकको सूचीमा उनी दरिए । उनै निर्देशकले मुख्य भुमिका निर्वाह गरेको ‘भुइमान्छे’ अहिले चर्चाको विषय बनेको छ ।

बुढाथोकीको भनाईलाई मान्ने हो भने समय र परिस्थितीले साथ नदिएको एउटा दुखिया मान्छेको कथा हो, भुइमान्छे । जो समय–परिस्थितीले पछारिन्छन्, उही भुइँमान्छे हुन्छन् हाम्रो समाजमा । उनको अनुभवले भन्छ, ‘हरेक मान्छेले जन्मेपछि सपना देख्छन् । तर, सबैको सपना पुरा हुँदैन ।’ त्यही सपना टुट्नेहरुको आवाज समेटेर भूइमान्छे बनाएको उनले बताए । यस चलचित्रमा उनले मुर्दा चिरेर जीवन निर्वाह गर्ने पात्रको भुमिका निर्वाह गरेका छन् ।

मुर्दा चिर्नेको संगत
शैली थिएटरमा एउटा नाटक मञ्चन भएको थियो, ‘सरकारी निरिक्षक’ । सोही नाटकमा अभिनय गरेका थिए बुढाथोकीले । नाटक मञ्चनकै शिलशिलामा कलाकार बुढाथोकी र नाटकका निर्देशक नवराज बुढाथोकीविच सम्बन्ध घनिष्ट भयो ।

नवराज भुइमान्छेको विषयमा सिनेमा बनाउने तयारीमा थिए । केन्द्रिय भुमिकामा रमेश बुढाथोकीलाई प्रस्ताव राखे । भुमिका सुन्दैमा रमेश बुढाथोकी उत्साहित थिए । बुढाथोकी भन्छन् ‘म आफैंमा कलाकारितामा लागेको मान्छे, चुनौतिपूर्ण रोल पाएपछि नगर्ने कुरै भएन ।’

फिल्ममा काम गर्ने सहमति भएपछि बुढाथोकी आफुले निर्वाह गर्ने पात्रको वारेमा अध्ययन गर्न लागे । चलचित्रमा मुर्दा चिर्नेको चरित्र निर्वाह गर्ने तयारीमा रहेका बुढाथोकीले केही दिन मुर्दा चिर्नेसँगै बिताउनुपर्ने भयो । जबकि मलामी पनि थोरै पटक मात्रै गएका छन् बुढाथोकी  ।

आफन्तका घरमा मान्छे मर्दाबाहेक मरेको मान्छेको छेउ समेत नपरेका उनलाई मुर्दा चिर्नेको संगत नगरी भएन । विभिन्न अस्पतालहरुमा मुर्दा चिर्ने मान्छे खोज्ने क्रममा पोखरास्थित गण्डकी अस्पताल पुगे । त्यहाँ एकजना पुरुष भेटिए जो १५÷२० वर्षदेखि मुर्दा चिर्ने काममा संलग्न थिए । लगभग ३५ देखि ४० वर्ष उमेरका ।

आफुले खोजेको पात्र भेट्दा बुढाथोकी अलिकति खुसी भए । मुर्दाघरमै पुगे उनलाई भेट्नका लागि । तर, ती व्यक्तिले भेट्न मानेनन् । कुरा गर्दिन भन्दै फर्काइदिए । भोलीपल्ट मुर्दा चिर्ने मान्छेकै अर्को साथी भेट भयो । साथीमार्फत आग्रह गरेपछि भोलीपल्ट भेट भयो, खाजा घरमा ।

खाजा खाने क्रममा ती व्यक्ति विस्तारै खुल्न थाले । उनले स्क्रिप्टका लागि केही टिप्स दिए । उनका कुरा सुनेर केही दृष्य स्क्रिप्टमै राखियो ।

मुर्दा घरमा छिरेपछि रिंगटा
पहिलोपटक मलामी कहिले गए उनी आफैलाई थाह छैन । तर, एकजना साथीको श्रीमती बित्दा काँध हालेर लास बोकेको भने बिर्सेका छैनन् । त्यसपछि त आफ्नै बाको निधन हुँदा हो उनी मलामी ग । ती दुई घटना बाहेक उनी लासको वरिपरि परेका छैनन् ।

मरेको मान्छेको वरिपरि पर्नै डराउने मान्छे पहिलो पटक मुर्दाघर छिर्दा कस्तो भयो होला ? बुढाथोकी भन्छन्, ‘मुर्दाघर छिरेपछि भाउन्न भएर आयो । ब्लेडले मुर्दा चिरेको देखेपछि वाकवाकी लाग्यो । मुर्दाघरवाट बाहिर निस्केँ र वान्ता गरेँ । उनलाई लाग्यो, ‘काम गर्न त सकिदैन कि क्या हो ।’

फिल्ममा काम गर्ने सम्झौता गरिसकेका थिए । फेरि मनलाई द¥हो बनाए । काम नगरी त सुखै थिएन । फेरि गए मुर्दाघरभित्रै । मुर्दा चिर्ने मान्छेको हातभरि रगत थियो । उसले बुढाथोकीको हात च्याप्प समाउदै अर्को मुर्दा चि¥यो । ‘यी यसरि चिर्न पर्छ’ भन्दै । डराइ डराइ थोरै लास चिरे बुढाथोकीले पनि ।

सपनामा आएर लासले थर्काए
मुर्दा चिर्ने मान्छेको वारेमा अध्ययन गर्दा सुरुको दिन अलि अप्ठ्यारो भए पनि पछिल्ला दिनमा त्यति असहज भएन । जब सुटिङ सुरु भयो । बुढाथोकीको संगत फेरि मुर्दासँगै हुन थाल्यो । सुटिङमा मुर्दाको डमी बनाएर काम गरिएको थियो । बुढाथोकी सम्झन्छन् ‘मेरो दिमाग चाँहि मुर्दाघरमै अडियो । जब राति म निदाउथेँ, सपनामा मुर्दाहरु आउँथे र मसँग कुस्ती खेल्न खोज्थे । धकेलाधकेल हुन्थ्यो । कहिले म जित्थेँ त कहिले उनीहरुले ।’

मुर्दासँग फाइट खेल्दैगर्दा धेरैपटक ब्युझिएका छन् । मनोपरामर्शका लागी चिकित्सककहाँ धाउनु नपरेको उनले सुनाए । सुटिङ सकिएपछि फेरि सपनामा लास आएका छैनन् ।
मर डर लाग्न छाड्यो । मुर्दाको संगत गर्नु अघिसम्म उनी मर्ने कुराले डराउँथे ।

‘उमेर नपुग्दै म मरेँ भने श्रीमती–छोरीको भविष्य के होला ?’ यस्तो प्रश्न मनमा उब्जिरहन्थ्यो । मुर्दाको संगत गरेपश्चात उनलाई जन्मजस्तै मृत्यु पनि सामान्य प्रक्रिया हो जस्तो लाग्न थालेको छ ।
यही चलचित्रमा काम गर्ने क्रममा थाहा पाए उनले कि मुर्दा चिर्ने मान्छेको जीवन वास्तवमै निरस हुँदो रहेछ । हेर्दा त आम मान्छेजस्तै तर, धेरै कुरामा हामीभन्दा फरक । हाँस्दा पनि फिस्स मात्रै हाँस्ने । मनैदेखि हाँस्न नसक्ने । कुराकानी गर्दा पनि मुर्दाकै प्रसंगमा धेरै कुरा गर्ने । मुर्दा चिर्नेसँगको अनुभुतिवारे उनी भन्छन्, ‘मुर्दाहरुको वारेमा उनले कुरा गर्दा हामीले चासो दियौ भने उनी निकै खुसी हुन्थे ।’
मुर्दा चिर्ने ब्यक्तिसँग केही दिन संगत गरेका बुढाथोकीले उनका धेरै कुरा सुने । उनलाई पनि सुरुका एक–डेढ वर्ष निकै डर लागेछ  । पछि क्रमश डर हट्दै गयो । बुढाथोकीले भने, ‘मुर्दा चिर्नेको मुर्दाहरुसँग सम्बन्ध निकै मजबुत हुँदो रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment