Comments Add Comment

बोर्ड अध्यक्ष र निर्माता संघको परिक्षाः के ‘कलंक’ बुधबार नै रिलिज होला ?

नेपाली चलचित्र क्षेत्र धराशायी अवस्थामा पुगेको छ । हरेक हप्ता फेरिने नेपाली चलचित्रले हलमा पानी भन्न पाएका छैनन् । अहिले चलचित्र निर्माणमा निर्माता तर्सिएको अवस्था हो । फ्लरोमा गएका चलचित्रको अवस्था हेर्दा, अर्को बर्ष चलचित्र रिलिजको संख्या आधा घट्ने देखिन्छ । यो बिषयमा अर्को स्टोरीमा चर्चा गरौला ।

तर, वितरकहरुको लापरवाहीपूर्ण चलचित्र रिलिजले नेपाली चलचित्रलाई अर्को समस्या देखिन थालेको छ । हो, विदेशी चलचित्रलाई पूर्ण रुपमा बहिष्कार नै गरेर नेपालमा ल्याउनै हुँदैन भन्न सकिदैन । विश्वव्यापी रुपमा अहिले हरेक देशमा कुनै पनि देशका चलचित्र रिलिज हुन सक्छन् । तर, विदेशी चलचित्रबाट रकम कमाउने लोभमा आफ्नै देशको चलचित्रलाई भने मारिदिने ? यो कस्तो सोच हो ?

कुरा गरौ, यो साताको । यो साता स्टेशन फाइब नामक वितरण कम्पनीले ३ वटा चलचित्रले नै वितरण गर्यो । २ वटा हिन्दी चलचित्रलाई बिहिबार रिलिज गरियो । न दशै, न तिहार, न तिज न नयाँ बर्ष । कुन आधारमा दुई हिन्दी चलचित्रले बिहिबार रिलिज भए ?

भारतमा जुन दिन चलचित्र रिलिज हुन्छन्, सोही दिन नेपालमै रिलिज गर्नुपर्ने कारण के हो ? नेपाली चलचित्रले शुक्रबार बाहेक अरु दिन रिलिज नपाउने, अनी हिन्दी चलचित्रलाई खुल्लम खुल्ला ?  अब, वैशाख ४ गतेको कुरा गरौ । बैशाख ४ गते अर्थात अप्रिलको १७ तारिखमा ‘कलंक’ नामको हिन्दी चलचित्र रिलिज हुँदैछ । यो चलचित्र रिलिजको ठिक ५ दिन अगाडि दुई नेपाली ठूला र महंगा चलचित्र रिलिज हुँदैछन् । चैत्र २९ गते चलचित्र ‘ए मेरो हजुर ३ र यात्रा’ रिलिज हुँदैछन् । तर, बिडम्बना यी दुई चलचित्रले एक साता पनि हलमा राम्रोसँग स्थान पाउने छैनन् । कारण, वितरकको चरम लापरबाही र मनपरितन्त्रले बुधबार ‘कलंक’ नामक हिन्दी चलचित्रलाई नेपाली चलचित्रले रिलिजको एक साता नपुग्दै हल छाडिदिनुपर्नेछ ।

अर्को उदेकलाग्दो कुरा त के छ भने, नेपालमा ‘कलंक’ ल्याउने वितरक मनोज राठीले ‘ए मेरो हजुर ३’ पनि वितरण गर्दैछन् । एउटै वितरकले आफूले वितरण गरेको चलचित्रमाथि अर्को हिन्दी चलचित्र कसरी ल्याउन सक्छन् ? तर, नेपालमा जे पनि चल्छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी चार वटा चाडपर्व बाहेक अरु समयमा शुक्रबारबाहेक कुनै पनि चलचित्र रिलिज गर्न नपाइने बताउँछन् । तर, निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने जस्तै भएको छ त यहाँ ? पक्कै पनि छैन ।

वितरकहरुको भनाइलाई आधार मान्ने हो भने ठूलो लगानी गरेर उनीहरुले चलचित्र भित्राएका हुन्छन् । सो समयमा चलचित्रको प्रदर्शन मिति तोकिएको हुँदैन । यसैले भारतमा रिलिज भएको भन्दा केही दिन पछाडि नेपालमा चलचित्र रिलिज गर्दा त्यसले पैसा कमाउँदैन ।

हिन्दी चलचित्रबाट डुबिन्छ भनेर नेपाली चलचित्र पनि डुबाइदिने ? नेपाली चलचित्र वितरण गरेको ५ देखि १५ प्रतिशतसम्म लिने वितरकले हिन्दी चलचित्रका लागि महंगो रकम तिर्न सजिलै तयार हुन्छन् । चलचित्र विकास बोर्डमा अहिले केशव भट्टराई अध्यक्षको रुपमा आएका छन् । साच्चै, ‘कलंक’को बुधबार रिलिज बोर्ड अध्यक्ष र निर्माता संघका लागि नै एउटा परिक्षा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment