३० साउन, काठमाडौं । गत आव २०७३/७४ मा कुमारी बैंकको नाफा २ प्रतिशतले घटेर ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ७१ करोड रहेको थियो ।
बैंकको खुद व्याज आम्दानी १० प्रतिशतले बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट २० करोड रुपैयाँ, अन्य सञ्चालनबाट ७ करोड र विदेशी मुद्राको कारोबारबाट बैंकले १० करोड रुपैयाँ आम्दानी गरेको छ ।
बैंकले यसअघि नोक्सान वापत राखेको २८ करोड फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि २१ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.८६ प्रतिशत रहेको छ भने प्रावधान १ सय ३० प्रतिशत गरेको छ ।
बैंकको चुक्ता पुँजी ५ अर्ब ९६ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल लगभग आधाले घटेको छ । यो दर १७ बाट घटेर ८ प्रतिशत छ । प्रतिसेयर आम्दानी ११.७१ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती २ अर्ब ११ करोड रहेको छ ।
बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउँदा साधारण सेयरको आधारमा लगभग ९.२७ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।
बैंकको निक्षेप संकलन ३७ प्रतिशतले बढेर ५२ अर्ब र कर्जा लगानी ५० प्रतिशतले बढेर ४५ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७८ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ११.३१ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १६.१५ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ रहेको छ ।
बैंकको कर्मचारी लागत ३७ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब २९ करोडले वृद्धि भएको छ । बैंकले सेयरको धितोमा १ अर्ब ४३ करोड र ओभर ड्राफ्ट शीर्षकमा २१ अर्ब लगानी गरेको छ ।
प्रतिक्रिया 4