Comments Add Comment

बाढीबाट अर्बौंको क्षति, मृतकको संख्या ९१

बाँकेका बाढी पीडित । तस्वीर: आरपी सुवेदी/अनलाइनखबर

३० साउन, काठमाडौं । हालैका दिनमा आएको भीषण वर्षाका कारण तराई क्षेत्र जलमग्न छ । गत शुक्रबारदेखिको अविरल वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानमा परेका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी मृत्यु हुने संख्या ९१ पुगिसकेको छ ।

अविरल वर्षाबाट भएको भौतिक क्षति पनि ठूलो छ । प्रभावित क्षेत्रमा आवास, कृषि बाली, सडक, विद्युत, टेलिफोन, उद्योगधन्दामा व्यापक क्षति पुगेको छ ।

१२ वैशाख ०७२ को महाभूकम्पको जस्तै ठूलो क्षती बाढी पहिरोबाट भएको सरकारी र निजी क्षेत्रका अधिकारीहरुको अनुमान छ । मानवीय क्षति र पुनर्निर्माणमा लाग्ने समय र बजेट बराबर नरहे पनि मुख्य उत्पादन र औद्योगिक क्षेत्रमा पुगेको नोक्सानीको आँकडा कम नरहेको उनीहरु बताउँछन् ।

‘बाढीले पुर्‍याएको क्षति अनुमान गर्दा भूकम्पबाट भएको भन्दा ठूलो देखिएको छ,’ उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अनलाइनखबरसँग भने ।

महाभूकम्पले औद्योगिक तथा व्यापारिक क्षेत्रमा १५ अर्ब रुपैयाँबराबरको क्षति पुगेको निजी क्षेत्रको आँकलन थियो । अहिलेको क्षति त्यसभन्दा बढी हुनसक्ने अनुमान निजी क्षेत्रको छ । ‘मुलुकको मुख्य औद्योगिक क्षेत्र विराटनगर, हेटौंडालगायतमा बाढीले क्षति पुर्‍याएको छ,’ गोल्छाले भने ।

लगत संकलन भइरहेकाले अहिले नै बाढीको क्षति आँकलन गर्न नसकिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले बताए । बाढीले कृषि, विद्युत, सडक, टेलिकमलगायतमा बढी नोक्सानी पुर्‍याएको छ ।

धान, तरकारी र माछा डुबानमा

कृषि विकास मन्त्रालयका अनुसार बाढीका कारण प्रभावित क्षेत्रमा करोडौंको क्षति भएको छ । भारी वर्षाले पूर्वाञ्चलमा मात्र १४ करोड रुपैयाँबराबरका तरकारी डुबानमा परेको मन्त्रालयले जनाएको छ । पूर्वाञ्चलमै तीन करोड रुपैयाँबराबरको माछा र करिब १२ करोड रुपैयाँको सञ्चित खाद्यान्न डुबानमा परेको मन्त्रालयको आँकडा छ ।

बाढीले पूर्व क्षेत्रका झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा बढी क्षति पुगेको छ ।

मध्य तराईको पर्सामा २०/२० हजार हेक्टरको धान र तरकारी, बारामा ५६ हजार हेक्टरको धान, नौ हजार पाँच सय हेक्टरको तरकारी र पाँच सय हेक्टरमा पालिएका माछा डुबानमा परेका मन्त्रालयले जनाएको छ । यस्तै, धनुषामा २१ हजार हेक्टरमा रोपिएको धान, एक हजार सात सय हेक्टरमा लगाइएको रहर, आठ सय हेक्टरको माछा, डेढ सय हेक्टरको धान डुबानमा परेको छ ।

सडक र पुलमा ठूलो क्षति

लगातारको वर्षाका कारण सडक पूर्वाधार र आयोजनामा पनि क्षति पुगेको छ । कतिपय स्थानमा यातायात अवरुद्ध छ ।

सडक विभागका अनुसार आइतबारसम्ममा पूर्व-पश्चिम राजमार्गका विभिन्न ठाउँमा पुल र सडक बगेका छन् । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पनि क्षति पुगेको छ । बाढी प्रभावित जिल्लामा ५० भन्दा बढी पुल भत्किएको विभागले जनाएको छ ।

सप्तरीका तीन वटा पुलमा क्षति पुगेको छ । जनकपुरधाम नजिक एक खोलाको पुलमा पनि जोखिममा परेको छ । पूर्व-पश्चिम राजमार्गस्थित महोत्तरीको रातु खोलाको पुलमा क्षति पुगेको छ, त्यहाँबाट आवतजावतमा रोक लगाइएको छ । सोही जिल्लाको अर्को पुल पनि भत्किएको छ ।

महोत्तरीकै बर्दिवासका पनि विभिन्न स्थानमा बाढीका कारण यातायात अवरुद्ध भएको छ, सुचारु गराउने प्रयास भइरहेको विभागले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्गस्थित मकवानपुरको ३ नम्बर पुल पनि जोखिममा परेको छ । नवलपरासीको दाउन्नेस्थित सडकमा क्षति पुगेपछि वैकल्पिक मार्ग प्रयोग गरिएको छ । यस्तै, पाल्पा, रौतहट, दाङ, बाँके, बैतडी, झापा, मोरङलगायत जिल्लाका सडकसमेत क्षतिग्रस्त छन् ।

विद्युतमा दुई अर्बको नोक्सानी

विद्युत प्राधिकरणका अनुसार वर्षाका कारण दुई अर्ब रुपैयाँबराबरको क्षति पुगेको छ । वर्षासँगै आएको बाढी पहिरोले पूर्वाञ्चलका सबै जिल्लामा बिजुली आपूर्ति प्रभावित भएको छ । मध्य क्षेत्रका अधिकांश जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ ।

प्राधिकरणका अनुसार दमक-गोदक खण्डको एक सय ३२ केभी प्रसारण लाइनअन्तर्गत् इलामको चुलाचुलीस्थित टावर नम्बर १७ बाढीको कारण ढलेको छ । यस्तै, हेटौंडा सब-स्टेसनअन्तर्गत् हेटौंडा सिमेन्ट नजिक ६६ केभीको टावर ढल्न लागेकाले औद्योगिक फिडर सर्किट नम्बर १ र २ बन्द गरिएकोे छ ।

साथै, दुहवी, दमक र अनारमनीस्थित सब-स्टेसनहरु जलमग्न भएकाले २७ साउन बिहान साढे सात बजेबाट बन्द गरिएको छ । चन्द्रनिगाहापुर-पथलैया एक सय ३२ केभी सर्किट नम्बर २ पनि सोही रातिदेखि बन्द छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ढल्केबर-चन्द्रनिगाहापुर एक सय ३२ केभी सर्किट नम्बर १ पनि २७ साउनदेखि बन्द भएको छ । बालाजु-त्रिशुली ६६ केभी सर्किट नम्बर १ र २ पनि सोही रातिदेखि सञ्चालनमा आउन सकेको छैन ।

बाढी पहिरोले बिजुलीका सब-स्टेसनमा क्षति पुग्दा विद्युत आयात पनि प्रभावित भएको छ । प्राधिकरणका अनुसार ढल्केबर-मुजफ्फरपुरबाट लिनुपर्ने एक सय मेगावाट बिजुलीमध्ये सात मेगावाटदेखि ३३ मेगावाट मात्र आयात भइरहेको छ । साथै, विहार र टनकपुरबाट हुने विद्युत आयात पनि बन्द गरिएको छ ।

धेरै सब-स्टेसन र फिडर बन्द अवस्थामा रहेकाले विद्युत गृहको उत्पादन क्षमताभन्दा निकै कम मात्र उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।

एक सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’बाट एक सय मेगावाट मात्र उत्पादन भइरहेको छ । यस्तै, ७० मेगावाटको मध्यमर्स्याङ्दीबाट २५ र ६९ मेगावाटको मध्यमर्स्याङ्दीबाट ३२ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ ।

बालाजु-त्रिशुली ६६ केभी सर्किट टि्रपिङ भएकाले चिलिमेबाट सात तथा त्रिशुली र देवीघाटबाट पाँच मेगावाट मात्र उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment