Comments Add Comment

सोमबारबाट सवारीमा इम्बोस्ड प्लेटः सरकारीमा अनिवार्य, तत्काल निजीलाई स्वेच्छिक


२ भदौ, काठमाडौं । सरकारले सोमबारबाट सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जोड्न सुरु गर्ने भएको छ । सोमबारबाट बाग्मति अञ्चलमा दर्ता भएका निजी सवारीधनिले पनि आफ्नो सवारीमा स्वेच्छिक रुपमा इम्बोस्ड जोड्न पाउनेछन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउबाले इम्बोस्ड प्लेट जोड्ने कामको ओपचारिक सुरुवात गर्नेछन् ।

विभागले तत्काल सरकारी सवारीलाई अनिवार्य गरेपनि निजी सवारीलाई अनिवार्य गरिसकेको छैन । तर, केही समयभित्रै क्यालेण्डर बनाएर इम्बोस्ड प्लेटलाई सबै सवारीमा अनिवार्य रुपमा लागू गर्दै लैजाने तयारी भइरहेको विभागका प्रवक्ता डा. टोकराज पाण्डले अनलाइनखबरलाई बताए ।

सुरुवातमा काठमाडौंका निजीसहित सरकारी/संस्थान र कुटनीतिक नियोगका सवारीका नम्बर प्लेटहरुलाई इम्बोस्ड प्रविधिमा रुपान्तरण गर्ने तयारी छ ।

‘हामी क्यालेण्डर बनाएर यसलाई क्रमशः अनिवार्य गर्दै लैजान्छौं’ प्रवक्ता पाण्डेले भने,’बाग्मती अञ्चलमा दर्ता भएका निजी सवारीले पनि अहिले स्वेच्छिक रुपमा यसलाई जोड्न सक्छन् । हामी बाग्मती बाहिर पनि जति सक्दो छिटो यसको वितरण थाल्छौं ।’

इम्बोस्ड नम्बर प्लेट लागू गर्ने जिम्मा पाएको बंगलादेशी र अमेरिकी संयूक्त कम्पनी डेकाटुर टाइगर आइटीले इम्बोस्ड नम्बर प्लेट छाप्न सबै तयारी सकाएको छ । विभागको मिनभवनस्थित भवनमा मेसिन र उपकरण जोडेर छाप्ने कामको सबै तयारी गरिएको छ ।

यसअघि गत असोजबाटै इम्बोस्ड लागू गर्ने भनिएको थियो । यो प्लेट लागू गर्न टाइगर डेकाटुरले भ्याटबाहेक ३८.७५० मिलियन अमेरिकन डलर अर्थात ४ अर्ब ५ करोड रूपैयाँमा ठेक्का पाएको हो । अब यसअनुसार ५ वर्षभित्र २५ लाख सवारीको इम्बोस्ड प्लेट यो कम्पनीले छापेर सरकारलाई दिनेछ ।

५ वर्षभित्र देशभरका सबै सवारीमा इम्बोस्ड प्लेट जोडिसक्ने लक्ष्य छ । आफ्नो सवारीमा इम्बोस्ड प्लेट जोड्न चाहानेले यातायात कार्यलयमा गएर आफ्नो सवारीको विवरण भर्नुपर्नेछ ।

३ हजार ६ सयसम्म शुल्क

अहिलेको नम्बर प्लेट बदलेर इम्बोस्ड प्लेट राख्न छुट्टै दस्तुर तिर्नुपर्ने छ । मनित्रपरिषद्ले गरेको निर्णयअनुसार दुईपांग्रे मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड जडान गर्दा २ हजार ५ सय रुपैयाँ खर्च गर्नु पर्नेछ ।

टेम्पो लगायतका तीन पांग्रे साना सवारीमा यो प्लेट जोड्न २ हजार ९ रुपैयाँ राजस्व लाग्छ ।

यसैगरी कार, जीप,भ्यान तथा ट्र्याक्टरले ३ हजार २ सय र यसबाहेकका सबै प्रकारका ट्रक, बस लगायत ठूला सवारी साधनले इम्बोस्ड नम्बर जडान गर्दा ३ हजार ६ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

यसरी जोडिने इम्बोस्ड नम्बरको आयु १० वर्षको हुनेछ ।

कसरी फरक छ यो प्लेट ?

अनिवार्य रुपमा सबै सवारीमा राखिने भएकाले यो प्लेट लागू गरेपछि करको दायरामा नआएका सवारीलाई विभागमा पुगेर राजश्व बुझाउन बाध्यता पर्नेछ ।

यसमा धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिन्छ । इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ । इम्बोस्ड नम्बरप्लेटमा चम्किलो नम्बर हुने भएकाले टाढैबाट पनि सजिलै नम्बर छुट्याउन सकिन्छ । यसमा लेखिएको नम्बरप्लेट उप्काउन र मेट्न नमिल्ने गरी जडान गरिएको हुन्छ ।

प्रवक्ता पाण्डेकाअनुसार नम्बरप्लेटको कुनामा साना सातवटा संकेत अक्षर राखिन्छन्, जसलाई मेसिनले मात्र पढ्न सक्छ । प्लेटको पछाडि ‘बार कोड’समेत समावेश हुन्छ । जसमा कम्पनीको नाम, मिति, संकेत हुन्छ ।

इम्बोस्ड प्रविधिमा चार प्रकारका मात्र नम्बर प्लेट मात्रै कार्यान्वयनमा आउनेछन् । सरकारी सवारीसाधनमा सेतो प्लेटमा रातो अक्षर र अंक तथा निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर र अंक हुनेछन् । कूटनीतिक सवारीसाधनका लागि सेतो प्लेटमा निलो अक्षर र अंक हुनेछ ।

यो प्लेटमा रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस पनि जोडिएको हुन्छ । यसले सवारीसाधन कहाँ र कुन अवस्थामा छ भन्नेबारे सो डिभाइस निगरानी गर्ने प्रविधियुक्त गेटले नजिकको टावरलाई जानकारी दिने पाण्डेले बताए ।

प्लेटमा जोडिएको चिप्सलाई मेसिनको सहायताले ‘रिड’ गरी सवारीसाधनको विवरण हेर्न सक्छन् । यो लागू भएपछि देशभर भएका सबै सवारीको विद्युतीय रेकर्ड सरकारसँग हुनेछ ।

सुरक्षात्मक प्लेट

यो प्लेट बलियो र किफायती हुनेछ । एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन । किनभने यो प्रविधिको नम्बर प्लेट जडान गर्न यातायात कार्यालय पुग्नैपर्छ । साथै भन्सार छलेर ल्याइएका सवारीहरु पनि यो प्रणाली लागू भएपछि फन्दामा पर्नेछन् ।

इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले एउटा चीप्सस टाँस्नेछ । त्यो स्टीकरमा सवारीका विस्तृत विवरणहरु राखिन्छन् । संघीयतामा गएपछि पनि सवारी दर्ता प्रणालीलाई यसै स्टीकरमार्फत व्यवस्थित गर्न सकिने विभागले जनाएको छ ।

यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ ।

प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिनसहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेमा छन् भन्ने थाहा पाउन समय लाग्दैन ।

काठमाडौंमा मात्रै ५ वटा स्थानमा नम्बर प्लेट रिड गर्ने मेसिनसहितको गेट राख्ने विभागको योजना छ । विशेषगरी शहरी क्षेत्रका नाका तथा राजमार्गका विभिन्न ठाउँमा यस्ता मेसिनसहितका गेटहरु जडान हुनेछन् ।

यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सुचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ । यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग गर्ने विभागको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment