Comments Add Comment

भदौ १६ देखि सुपथ मूल्य पसलः पीठोदेखि खसीबोकासम्ममा छुट


६ भदौ, काठमाडौं । सरकारले आसन्न चाडपर्वलाई लक्षित गरेर उपभोग्य वस्तुमा उपभोक्तालाई सहुलियत दिने गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम आय भएका सर्वसाधारणलाई लक्षित गरेर सरकारले दशैंदेखि छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

सरकारी स्वामित्वका खाद्य संस्थान र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले यही भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् । उपत्यकासहित विभिन्न ३ दर्जन स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने आपूर्ति मन्त्रालयले बताएको छ ।

सुपथ मूल्य पसलमा चामल, फापर, चिनी, घ्यूदेखि खसीबोकासम्ममा सहुलियत दिईने आपूर्ति मन्त्रालयले जनाएको छ ।

दशैं, तिहार र छठका लागि यसपटक साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले चिनीमा प्रतिकिलो ५ रुपैयाँ र नूनमा प्रतिकिलो २ रुपैयाँ छुट दिने संस्थानका सहायक महाप्रवन्धक कुमार राजभण्डारीले बताए । हाल चिनीको उपभोक्ता मूल्य ८२ रुपैयाँ ५० पैसा छ भने नूनको त्यस्तो मूल्य २० रुपैयाँ छ । उपभोक्ता मूल्यमा सहुलियत रकम घटाएर ती वस्तुको विक्री गरिने छ ।

अन्य उपभोग्य वस्तु दाल, चामल, पिठो लगायतमा पनि न्यूनतम मुनाफा राखेर विक्री गरिने संस्थानले जनाएको छ ।

त्यस्तै, खाद्य संस्थानले मोटो चामलमा प्रतिकिलो ५ रुपैयाँ र मसिनो बास्मती चामलमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिनेछ । त्यस्तै, खसी, बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ र फापरको पीठोमा पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने संस्थानले जनाएको छ ।

आपूर्ति मन्त्रालयकी उपसचिव उर्मिला केसीका अनुसार ती संस्थानले स्वीकृत वाषिर्क बजेटबाटै सहुलियत दिनेछन् । त्यसका लागि साल्ट ट्रेडिङलाई चिनी र नूनको सहुलियतबापत १ करोड ८५ लाख रुपैयाँ बजेट खर्च गर्न मन्त्रालयको स्वीकृत दिएको उपसचिव केसीले बताईन् । त्यस्तै, खाद्य संस्थानलाई ६० लाख रुपैयाँ बजेट सहुलियतबापत खर्च गर्न स्वीकृत दिएको मन्त्रालयले जनाएको छ ।


उपभोक्तालाई राहत दिन नेपाल आयल निगम र दूग्ध विकास संस्थानलाई .पनि आग्रह गरिएको मन्त्रालय बताउँछ ।

त्यस्तै, चाडवाडका समयमा उपभोक्तालाई सहुलियत दिन निजी संघसंस्था र व्यापारीलाई पनि आग्रह गरिएको मन्त्रालयले बताएको छ ।

उपत्यकामा यस्ता सहुलियत पसल कोटेश्वर, थापाथली, जावलाखेल, कालीमाटी, भक्तपुर, ललितपुर लगायतका ९ स्थानमा रहने मन्त्रालयले बताएको छ । मोवाइल भ्यानबाट पनि यस्ता सुपथ मूल्य पसल सञ्चालन गरिनेछ ।

त्यस्तै, उपत्यकाबाहिर झण्डै ४० स्थानमा यस्ता सुपथ मूल्य पसल राखिने मन्त्रालय र सम्बन्धित संस्थानले बताएका छन् । त्यस्तै उपत्यकाबाहिर नारायणघभाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका स्थानमा यस्ता पसल सञ्चालन गरिने संस्थानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment