Comments Add Comment

ओखलढुंगाका ८ जना विद्यार्थीविरुद्ध सार्वजनिक अपराध मुद्दा

७ भदौ, ओखलढुंगा । विद्यालयको पत्रकाआधारमा ओखलढुंगामा एक विद्यालयका ८ जना विद्यार्थीहरुलाई प्रहरीले सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता गरेको छ ।

सदरमुकामस्थित सगरमाथा जनता उच्च माविको कक्षा ११ का अध्ययनरत आठ जना विद्यार्थीविरुद्ध आइतबार प्रहरीले मुद्दा दर्ता गरेको हो ।

अहिले विद्यार्थीहरु प्रहरी हिरासतमा छन् । विद्यालयमा पठनपाठन चलिरहेको समयमा दुईपटक झगडा गरेपछि विद्यालयले नै प्रहरीलाई पत्र लेखेर आवश्यक कारबाही गर्न भनेको थियो । विद्यालयको पत्रको आधारमा विद्यालयबाट पक्राउ गरिएका विद्यार्थीहरुविरुद्ध आइतबार नै म्याद थप गरी सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी निरिक्षक टिकाबहादुरले बताए ।

पक्राउ पर्नेहरुमा कक्षा ११ मा अध्ययनरत मानेभञ्ज्याङ गाउँपालिका ४ का रेन्जिङ लामा, सम्शेर तामाङ, आकाश तामाङ, जिवन तामाङ, नविन तामाङ, नविनकुमार तामाङ, सिद्धिचरण नगरपालिका ११ का सुजन राई र निरज राई रहेका छन् ।

मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुके र सिद्धिचरण नगरपालिका ११ सोब्रुटोलका विद्यार्थीहरुबीच यस अघि पनि झगडा भएको थियो ।

अभिभावक आक्रोशित

यसैबीच पढ्न आएका विद्यार्थी विरुद्ध विद्यालयले प्रहरीमा उजुरी गरेर मुद्दा चलाएको भन्दै अभिभावकहरु भने आक्रोशित छन् । विद्यार्थीबीच भएको विवाद समाधानकालागि पहल नै नगरी प्रहरीमा उजुरी गरेर मुद्दा चलाउनु गलत भएको अभिभावक चित्र तामाङले बताए ।

‘विद्यार्थीको चरित्र असल नभए विद्यालयबाट हटाउने वा अभिभावकलाई बुझाउनु पर्ने तर यहाँ सिधै अपराधी जस्तो प्रहरीमा पठाएर मुद्दा लगाइयो, यो गलत छ,’ उनले भने ।

सुरक्षाकालागि प्रहरी बोलाइएको होः प्रअ

विद्यालयका प्राचार्य सुमन राजभण्डारीले विद्यार्थीहरुको दुई समूहबीचको झगडा नियन्त्रण गर्न प्रहरी बोलाएको बताए । विवाद नगर्न पटक पटक सम्झाए पनि विद्यार्थीहरुले शिक्षक र प्रअलाई नै दुर्व्यवहार गरेपछि सुरक्षाका लागि प्रहरी बोलाएको राजभण्डारीको भनाइ छ ।

‘सम्झाउँदा मानेनन् र विद्यालयमै मारामार गर्ने स्थिति आएपछि प्रहरी बोलाएको हो,’ उनले भने । सार्वजनिक अपराधको मुद्दा चलाउन भनेको नभइ सुरक्षा मागेको उनको दावी छ ।

प्रहरीले भने विद्यालयभित्रै हानाहान गर्ने काम आपराधिक भएकाले मुद्दा चलाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment