Comments Add Comment

नेपालको संविधानमा भारतीय पोजिसन यथावत : विदेश सचिव जयशंकर

८ भदौ, नयाँदिल्ली । भारतले नेपालको संविधानबारे आफ्नो ‘पोजिसन’ निरन्तर एउटै र स्पष्ट रहेको बताएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय समकक्षी नरेन्द्र मोदीले दुई चरणको स्थानीय चुनाव भएकामा बधाई दिए । साथै सबैसँग संवाद जारी राख्न र सबैको आकांक्षा समाहित गरी संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

नेपालको संविधानलाई अझैसम्म स्वागत नगरेको भारतका प्रधानमन्त्रीको यो अभिव्यक्ति विगतको तुलानामा केही हदसम्म नरम मानिएको थियो ।

तर, साँझ आयोजित ‘मिडिया बि्रफिङ’मा विदेश सचिव सुब्रमण्यम जयशंकरले संविधान संशोधनमा भारतको ‘पोजिसन’को निरन्तरता खुलाएका हुन् ।

उनले भने, ‘त्यो भनेको संविधान कार्यान्वयनको प्रक्रियामा समाजका सबै तह र तप्कालाई समेटेर अगाडि बढ्ने प्रयासलाई जारी राख्नुपर्छ र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित बन्नु पर्छ ।’

मोदीसँगको भेटमा प्रधानमन्त्री देउवाले संविधान संशोधन र मधेशकेन्द्रित दलहरुको माग सम्बोधन गर्न सरकारले गरेको प्रयास ‘सेयर’ गरेको जयशंकरले बताए ।

दुई प्रधानमन्त्रीबीचको भेटमा चीन-भुटान सीमाको दोक्लाममा जारी तनावबारे कुनै कुरा नभएको जयशंकरले दाबी गरे । भारत र चीनको तनाव बढेका बेला भएको भेटमा दोक्लामबारे केही कुराकानी भएन त भन्ने प्रतिप्रश्नमा उनले हाँस्दै भने, ‘अहँ भएन ।’

कश्मीरको उरीमा आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका कारण सार्क शिखर सम्मेलन हुन सकेको छैन । तर, देउवा र मोदीबीच यसबारे कुराकानी नै नभएको जयशंकरको जवाफ थियो । जबकि, नेपाल सार्कको अध्यक्ष राष्ट्रसमेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment