Comments Add Comment

नयाँ यात्रामा पारस : फ्रेन्चाइज लिगमा कहाँसम्म पुग्लान् ?

२७ कात्तिक काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने तयारीमा छन् । संयोगले यो अवसर उनलाई राष्ट्रिय टिमको कप्तानी छाडेलगत्तै प्राप्त भएको छ ।

आगामी १५ नोभेम्बरबाट सुरु हुने आवुधावी टी–१० लिगका लागि पारस यूएई पुगिसकेका छन् । यो लिग लामो छैन । मात्र १० दिन चल्ने प्रतियोगितामा प्रत्येक दिन तीनवटा म्याच खेलाइने छन् । प्रतियोगितामा ८ टिमले कुल २९ वटा मात्र म्याच खेल्नेछन् ।

आवुधावीको शेख जायद क्रिकेट रंगशालामा सबै खेलहरु हुनेछन् । ४–४ टिमलाई दुई समूहमा बाँडिएको छ र पारसको टिम समूह बीमा छ । उसले समूह चरणको पहिलो म्याच १५ नोभेम्बरमा क्वालन्दर्सविरुद्ध खेल्नेछ । क्वालन्दरका कप्तान पाकिस्तानका सोहेल अख्तर हुन् भने पाकिस्तानकै साहिद अफ्रिदी आइकन प्लेयर छन् । पहिलो म्याचमा मौका पाए पारसले क्रिस जोर्डन (ईंग्ल्यान्ड), अफ्रिदी, मोहम्मद हाफिज (पाकिस्तान) जस्ता बलरको सामना गर्नुपर्ने हुन सक्छ ।

म्याचहरु थोरै संख्यामा भएको हुँदा प्लेइङ ११ मा पर्नु पारसको पहिलो चुनौती हो । तर, स्क्वाडमा १४ जना मात्रै भएकाले उनलाई ज्यादै कठिन चाहिँ छैन । टिम आवुधावीका खेलाडीमध्ये न्यूजिल्यान्डका कोरी एन्डरसन, श्रीलंकाका निरोसन डिकवेल्ला, ईंग्ल्यान्डका लुक राइट अन्तर्राष्ट्रियस्तरमा परिचित अनुहार हुन् । ईंग्ल्यान्डकै ब्याटिङ अलराउन्डर लेविस ग्रेगोरी र यूएईका रोहन मुस्तफा पनि मध्यक्रमका ब्याट्सम्यान हुन् । स्वयम् कप्तान मोइन अलि पनि मध्यक्रममै खेल्न रुचाउँछन् । पारसले उनीहरुसँग प्रतिस्पर्धा गरेर टिममा आफ्नो स्थान बनाउनुपर्ने छ ।

पारसलाई अलराउन्डरको रुपमा टिमले अनुवन्ध गरेको छ । यद्यपि, उनको मध्यम गतिको बलिङ यो स्तरको क्रिकेटमा खासै प्रभावकारी नहुनसक्छ । त्यसैले पारसले ब्याटबाटै आफूलाई प्रमाणित गर्नुपर्ने छ । टिममा परेमा पारसलाई मध्यक्रममा खेलाइन सक्छ । मात्र १० ओभरको म्याच भएको हुनाले यसमा ब्याट्म्यानले विष्फोटक क्षमता नै देखाउनुपर्ने हुन्छ । पारससँग ठूला सट हान्न पावर र टेक्निक दुवै छ, र चाहिएको बेला ‘क्लिक’ हुन्छ कि हुँदैन भन्ने प्रश्न हो । क्रिकेटमा ठूलो सट खेल्दा कहिले छक्का हुन्छ, कहिले आउट हुन सक्छ । त्यसैले भाग्य पनि महत्वपूर्ण हुन्छ ।

पहिलो मौकामा असफल भए दोस्रो मौका नै नआउने खतरा पनि हुनसक्छ । जस्तो कि, यसअघि ग्लोबल टि–२० क्यानाडामा आवद्ध भएका बलर सोमपाल कामीले पहिलो म्याचमा खराब प्रदर्शन गर्दा दोस्रो मौका पाएनन् ।

आवुधावीको विकेट परम्परागत रुपमा फास्ट बलिङका लागि त्यति सुहाउँदो मानिँदैन । त्यहाँ स्पिनरहरु बढि चल्छन् । पारस स्पिनरलाई राम्ररी खेल्न सक्ने ब्याट्सम्यान हुन् । त्यसैले उनले प्रभावित गर्न सक्छन् । चुस्त फिल्डिङ त उनको प्लस प्वाइन्ट हो ।

यदि आवुधावीमा सफल भए भने पारसका लागि आईपीएल, बिग बास लिग, क्यारेवियन लिग जस्ता थुप्रै व्यवसायिक लिग क्रिकेटका ढोका खुल्ने छन् । आकर्षक अफरहरु आउन सक्छन् । त्यसैले पनि आवुधावी लिगमा आवद्ध हुनुलाई पारसको नयाँ यात्रा आरम्भ भएको अर्थमा पनि बुझ्न सकिन्छ । खासगरी आईपीएलको ढोका खोल्ने सके भने पारसका लागि ठूलो उपलब्धी हुनेछ । त्यसो त उनका समर्थकहरुले सन्दीप लामिछानेलाई पछ्याउँदै पारसले आईपीएलको आगामी संस्करण खेल्ने आशा पाल्न सुरु गरिसकेका छन् ।

पारसको खेल स्तर र अन्तर्राष्ट्रिय ख्यातिका कारण उनी आईपीएलमा छनोट भएमा आश्चर्य मानिने छैन । तर, पारस स्वयम् चाहिँ के सोचिरहेका छन् त ? के उनी सन्दीपजस्तै आईपीएल लगायत अन्तर्राष्ट्रिय क्रिकेट लिगहरुमा छाउने ध्याउन्नमा छन् ?

निकटस्थहरु सुरमा यूएई लिग खेल्ने नखेल्नेमा समेत उनी दोधारमै थिए । किनकी सक्रिय क्रिकेटबाट अवतरण गर्न चाहन्छन् र क्रिकेट व्यवस्थापनमा जान चाहन्छन् भन्ने आँकलन उनीहरुको छ । पारस आफैंले पनि व्यवस्थापकीय नेतृत्वमा रहेर नेपाली क्रिकेटको नियमन गर्ने आफ्नो अभिरुची लुकाएका छैनन् । र, नेपालको क्रिकेटलाई सुधार्न पारसजस्तो क्रिकेटलाई माया गर्ने र क्रिकेट बुझेको क्षमतावान नेतृत्वको आवश्यकता पनि छ ।

राष्ट्रिय टिमबाटको नेतृत्व छोड्दै गर्दा पारसले आफ्नो ठोस योजना केही सुनाएका थिएनन् । यद्यपि, केही समय क्रिकेटबाट विश्राम लिने बताएका थिए । मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) को नेपाल भ्रमणमा उनले नेपाली टोलीबाट कुनै पनि म्याच खेलेनन् । जबकी एमसीसीविरुद्ध घोषित एकदिवसीय टिममा उनलाई समावेश गरिएको थियो । टी–२० र तीनदिवसीयमा टिममा उनी थिएनन् । तर, उनले एकदिवसीय पनि खेलेनन् ।

यसमा उनले आफ्नो स्वास्थ्यलाई कारण देखाएका छन् । हालै अनलाइनखबरसँगको अन्तर्वार्तामा पारसले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगलाई आफूले अवसरकै रुपमा लिएको बताएका थिए । उनले भनेका छन्, ‘जीवनमा एउटा कुरा त्याग्दा अर्को पाएजस्तो भयो । आशावादी छु कि म आफ्नो छनोटको औचित्य सिद्ध गर्न सक्छु ।’

अन्य फ्रेन्चाइजहरुको सम्भावनाबारे प्रश्न गर्दा उनले यो आफ्नो प्रदर्शनमा भर पर्ने बताएका छन् ।’

घरेलु क्रिकेटलाई पनि निरन्तरता दिने पारसले बताएका छन् । भन्छन्, ‘अब फ्रेन्चाइज लिग मात्र खेल्छु वा यसो मात्र गर्छु भन्ने कुनै एजेन्डा छैन । घरेलु क्रिकेट त म जहिलेसम्म सक्छु, खेल्न चाहन्छु ।’

यदि फ्रेन्चाइज क्रिकेटको यात्रा अगाडि बढ्यो भने पनि घरेलु क्रिकेट र राष्ट्रिय क्रिकेट नछोड्ने पारसको भनाइ सुखद छ । खासगरी राष्ट्रिय टिममा उनको योगदान अझै आवश्यक छ । अहिले मैदानमा पारस हुनु र नहुनुले नेपाली टिमको मनोबलमा ठूलो प्रभाव पार्छ । पारसबिनाको टिम कति कमजोर हुन्छ भन्ने झलक एमसीसीविरुद्धको प्रतिस्पर्धामा पनि देखिएको छ ।

पारसको अन्तर्राष्ट्रिय फ्रेन्चाइज यात्रा भने उनको व्यक्तिगत प्रदर्शन र भाग्यमा निर्भर रहने देखिन्छ । खासगरी आवुधावी टि–१० मा उनको प्रदर्शनले धेरै कुरा निर्धारण गर्नेछ । सन्दिपले आईपीएलमा पाएको पहिलो म्याचमा आफ्नो क्षमता देखाउन नसकेको भए उनको यात्रा त्यहीँ समाप्त हुन सक्थ्यो । उनले पाएको अवसरको सदुपयोग गरेर आज यो स्थानमा छन् ।

३१ वर्षमा हिँडिरहेका उनी शारीरिकरुपमा पूर्ण फिट छन् । मानसिकरुपमा शान्त तर सवल छन् । ब्याटिङमा उनको फर्म खस्केको छैन । राष्ट्रिय टिमको कप्तानी बोझ छैन । त्यसैले आवुधावीमा उनको ब्याट चम्किने आशा राख्न सकिन्छ । र, उनी सफल भएमा अरु खेलाडीहरुको लागि पनि बाटो खुल्नेछ । हेरौं भाग्यले पारसलाई कति साथ दिन्छ ।

साथै नेपाली क्रिकेटको प्रशासनिक नेतृत्व लिन हतारिनु पर्ने स्थिति छैन । ४० वर्ष पुगेपछि उनी यो भूमिकाका लागि अझै बढि तयार हुन सक्छन् । आईसीसीको निलम्बन फुकुवासँगै नेपाल क्रिकेट संघ (क्यान) ब्यूँझिएको छ । क्यानले सही कार्यदिशा समात्यो भने नेपाली क्रिकेट ट्र्याकमा आउन सक्छ ।

बरु पारसले राष्ट्रिय टिमको पूर्व कप्तान र अनुभवी खेलाडीको रुपमा क्यानलाई सघाउनुपर्छ । जबकी क्यानको वर्तमान नेतृत्वसँग पारसको त्यति राम्रो सम्वन्ध नभएको चर्चा गरिन्छ । त्यो चर्चा सही नै हो भने पनि पारसले कुनै किसिमको पूर्वाग्रह देखाउनु हुँदैन । किनकि यो प्रक्रियासम्मत तवरले आएको नेतृत्व हो । यसैगरी, क्यानले पनि कप्तान छोडे भन्दैमा पारसलाई अवमूल्यन गर्न हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment