Comments Add Comment

घट्दै बंगलादेशी पर्यटक, राष्ट्रपति भ्रमणले बढाउला ?

२७ कात्तिक, काठमाडौं । बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या ओरालो लागेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार, सन् २०१९ को १० महिना (जनवरी–अक्टोवर)मा अघिल्लो वर्षको यही अवधिको तुलनामा बंगलादेशबाट आउने पर्यटक संख्या घटेको हो ।

यो १० महिनामा बंगलादेशबाट १९ हजार २ सय ७९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ९.६ प्रतिशत कम हो । सन् २०१८ को समीक्षा अवधिमा २१ हजार ३ सय २७ जना बंगलादेशीले नेपाल भ्रमण गरेका थिए ।

एसियाली मुलुकमध्ये बंगलादेश र पाकिस्तानी पर्यटक घट्दो क्रममा देखिएका छन् । भारत र श्रीलंकाबाट भने पर्यटक आगमन बढेको छ । बंगलादेशबाट पर्यटक आगमन घट्नेक्रम भने गत वर्षबाट सुरु भएको हो । सन् २०१७ मा २९ हजार ६० जना बंगलादेशी नेपाल आएकोमा सन् २०१८ मा घटेर २५ हजार ९ सय ५९ मात्र आएका थिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बंगलादेशी पर्यटकको आगमन घट्नुमा मुख्य कारण अघिल्लो वर्ष त्रिभुवन विमानस्थलमा भएको यूएस बङ्गला जहाज दुर्घटना र हवाई सञ्जाल अभाव रहेको बताउँछन् ।

बंगलादेश नेपालको मुख्य स्रोत बजार हो, उनीहरु नेपाल आउन पनि चाहन्छन्, तर कनेक्टिभिटीकै अभाव छ । बंगलादेशबाट विमान बंगलादेश र नेपालको हिमालय एयरलाइन्सले अहिले काठमाडौं–ढाकालाई जोडिरहेका छन् ।

अक्टोबरबाट सुधारोन्मुख

तथ्यांक अनुसार, अक्टोवरमा भने बंगलादेशबाट पर्यटक आगमन बढेका छन् । यसको मुख्य कारण हिमालय एयरलाइन्सको उडान हो । अक्टोवरमा मात्र बंगलादेशबाट २ हजार ७ सय ८६ पर्यटक नेपाल आए । सन् २०१८ को अक्टोवरमा १ हजार ७ सय ५७ पर्यटक आएका थिए । यस महिनाको वृद्धिदर ५८.६ प्रतिशत देखिन्छ ।

बंगलादेशी पर्यटक लक्जरी ट्राभल मन पराउँछन् । बिदा मनाउने उद्देश्यले धेरै घुमघाममा निस्कन्छन् । पर्वतारोहण तथा पदयात्रा उनीहरूको प्राथमिकतामा पर्दैन । त्यसकारण पोखरा, चितवनजस्ता गन्तव्य बंगलादेशी पर्यटकको रोजाइमा पर्छ । व्यावसायीहरुका अनुसार, धनाढ्य बंगालदेशीहरु भने क्यासिनो खेल्न नेपाल आउने गर्छन् । परिवारसहित आरामदायी यात्रामा निस्कने या काठमाडौंमा बसेर क्यासिनोमा रमाउन बढी बंगलादशी नेपाल आउँछन् । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटका लागि समेत कतिपय बंगालादेशी पर्यटक यहाँ आउने गरेको व्यवसायीहरु बताउँछन् ।

राष्ट्रपति भ्रमणको प्रभाव पर्ला ?

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौंमा छन् । नेपाल बसाइ अवधिमा उनले केवल राजनीतिक भेटघाट मात्र गर्ने छैनन्, घुमघाममा पनि निस्कने छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, उनी पर्यटकीय नगरी पोखरा जाने कार्यक्रम छ । काठमाडौं उपत्यकाका महत्त्वपूर्ण सम्पदासमेत घुमाइने मन्त्रालयले जनाएको छ । उनको भ्रमणले बंगलादेशमा नेपाली पर्यटकीय क्षेत्रको प्रचार हुने र त्यसले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यावसायीको छ ।

‘विशिष्ट व्यक्तिको आगमन र उहाँहरुले गर्ने पर्यटकीय स्थलको भ्रमणले निकै सकारात्मक सन्देश प्रवाह हुन्छ,’ सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपालका अध्यक्ष मधुसुदन उपाध्याय भन्छन्, ‘धेरै मूल्यको मिडिया कभरेज यस्तो बेला हुनेगर्छ ।’

बंगलादेशी राष्ट्रपति नेपाल बसाइका अवधिमा पोखरा पुगी फेवातालमा डुंगा सयर गर्ने छन् । पोखरामा उनी रूपाकोट रिसोर्टमा आराम गर्नेछन् । काठमाडौंमा केबलकार चढेर चन्द्रागिरि पुग्नेछन् ।

भक्तपुर दरबार स्क्वायरको भ्रमण तथा साइटसिन गर्ने कार्यक्रम राखिएको छ । नेपाल घुम्नलायक मुलुक हो भनी चिनाउन राष्ट्रपतिको चर्चित पर्यटकीयस्थलको भ्रमणले ठूलो सन्देश प्रवाह गर्ने सीईओ जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment