Comments Add Comment
दक्षिण अमेरिकाको राजनीतिक संकट :

आदिवासी हुनु मेरो अपराध भयो : मोरालेस

मोरालेसको बहिर्गमन- दक्षिण अमेरिकाको वामपन्थी लहरमा धक्का

२७ कात्तिक, काठमाडौं । तीन दशकअघि नेपालमा कम्युनिस्ट पार्टीले चुनावमा भाग लिएर संसदको प्रमुख विपक्षी दल बनेपछि विश्वप्रसिद्ध अमेरिकी म्यागेजिन न्युजविकले मदन भण्डारीको अन्तवार्तासहित लेखेको थियो– कार्ल मार्क्स नेपालमा जीवित छन् ।

डेढ दशकअघि बोलिभिया, भेनेजुयलालगायतका ल्याटिन अमेरिकी मुलुकहरुमा वामपन्थी उभारसहित ह्युगो चाभेज, इभो मोरालेस जस्ता नेता उदाएपछि संसारले भनेको थियो–अमेरिकाको नाकैमुनि वामपन्थी उभार ।

के अब समय फेरिएको हो ? बोलिभियाका राष्ट्रपति मोरालेसको अपमानजनक बहिर्गमन र भेनेजुयलाका राष्ट्रपति निकोलस मडूरोको सत्ता संकटले ल्याटिन अमेरिकी वामपन्थी उभारमा धक्का लागेको अर्थमा यो प्रश्न उठाइएको छ ।

अर्जेन्टिना र मेक्सिकोमा वामपन्थी राष्ट्रपति निर्वाचित भएकाले ल्याटिन अमेरिकाबाट वामसत्ता समाप्त भएको त मान्न सकिन्न । तर, यसैसाता बोलिभियामा मोरालेसको डेढ दशक लामो सत्ताको पतनले अमेरिकालाई राहत दिएको छ । यद्यपि, भेनेजुएलाका मडूरोलाई सत्ताच्यूत गर्ने अमेरिकी प्रयास भने अझै सफल भएको छैन ।

फिडेल क्यास्त्रो र चे ग्वेभाराको क्रान्तिबाट स्थापित ६० वर्षदेखिको कम्युनिस्ट सत्ता भएको क्युबा बाहेक ल्याटिन अमेरिकामा दुई दशकअघिम्म वामपन्थीहरु थिए, तर सत्तामा थिएनन् । गोञ्जालोको नेतृत्वमा अघि बढेको पेरुको सशस्त्र क्रान्ति असफल भएपछि ल्याटिन अमेरिकामा एकाएक ‘पिंक वेभ’ (गुलाबी लहर) चल्यो । र, त्यही लहरले बोलिभियाका आदिवासी किसान मोरालेसलाई सत्तामा ल्याएको थियो ।

‘हाम्रो अपराध एउटै हो, हामी साम्राज्यवाद विरोधी भयौं । म आदिवासी भएँ। मेरा उपराष्ट्रपतिको अपराध एउटै हो, उनले सामाजिक न्यायका कार्यक्रम ल्याए । –मोरालेस

इभो मोरालेस र ह्युगो चाभेजहरु चुनावी प्रतिस्पर्धाबाट नेपालका कम्युनिस्ट जसरी नै सत्तामा आएका हुन् । क्युबाका फिडेल क्यास्त्रोलाई गुरु मान्ने चाभेज र मोरालेसले ल्याएको वामपन्थी लहर ब्राजिल, अर्जेन्टिना, मेक्सिको, निकारागुवा लगायतका अन्य दक्षिण अमेरिकी मुलुकमा फैलियो, जुन संयुक्त राज्य अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै आइरहेको थियो । यही कारण भेनेजुएलाका सरकारी अधिकारीहरुसँग नेपालका सरकारी अधिकारीले भेटवार्ता गर्दासमेत अमेरिका अनावश्यकरुपमा तरंगित हुने गरेको छ ।

बोलिभियामा यसैसाता भएको मोरालेसको सत्ता पतन र मेक्सिकोमा नयाँ निर्वासनसँगै वामपन्थी र दक्षिणपन्थी आरोप–प्रत्यारोप चलिरहेको छ । ब्राजिल, पेरु र कोलम्बियाका राष्ट्रपतिले मोरालेसको पतनमा खुसी व्यक्त गरेका छन् । भेनेजुयला, अर्जेन्टिना र मेक्सिकोका राष्ट्रपतिले यस प्रकरणलाई ‘कु’ भनेका छन् । मेक्सिकोले मोरालेसलाई शरण दिएको छ ।

मोरालेसले सत्तामात्रै छाडेनन्, देशै छाडे

मोरालेस बोलिभियाको आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति थिए । १४ वर्ष निर्वाचनमार्फत एकल सत्ता चलाएका उनी पछिल्लो महिना सम्पन्न निर्वाचनबाट पुनः निर्वाचित भए पनि विपक्षी पार्टीले चुनाव परिणाम अश्वीकार गर्दै थालेको आन्दोलन हिंसात्मक बन्यो । सेनाले समेत मोरालेसलाई राजीनामा गर भनेपछि उनी पदमात्र होइन, देशै छाडेर हिँडेका छन् ।
मंगलबार चिमोर शहरबाट मेक्सिकोको शरणमा जानुअघि मोरालेसले भनेका छन्, म फेरि फर्किनेछु चाँडै, थप शक्ति र उर्जा लिएर । दाजुभाइ दिदीबहिनीहरुलाई म भन्न चाहन्छु लडाइँ यहीँ सकिएको छैन । सामाजिक न्याय र समानताको लडाइँ निरन्तर चलिरहनेछ र चाँडै क्रान्ति हुनेछ ।

मेक्सिकोको वामपन्थी सरकारले मोरालेसलाई समर्थनमात्र दिएन, शरण पनि दिएको छ । ६० वर्षीय मोरालेस निकै लोकप्रिय नेता हुन् । उनले आफ्नो समाजवादी शासनकालमा बोलिभियाको आर्थिक विकासमा धेरै ठूला काम गरेका छन् । तर, उनीमाथि अधिनायकवादी बनेको आरोप भने लागिरहेको थियो ।

त्यसो त बोलिभियामा चुनावी प्रतिस्पर्धाबाट जितेका वामपन्थी नेतामाथि नै अधिनायकवादको आरोप लाग्ने गरेको छ । जस्तो कि भेनेजुयलाका ह्युगो चाभेज त्यही आरोप खेपेरै मरे । अहिले मडूरोमाथि सोही आरोप यथावत छ ।

हुन त चाभेज, मडूरो र मोरालेस पनि नेपालका कम्युनिस्ट जस्तै बहुदलीय प्रतिस्पर्धाबाटै सत्तामा आएका नेताहरु हुन् । चीनको कम्युनिष्ट सरकारलाई मान्यता दिने पश्चिमाहले दक्षिण अमेरिकी देशका जननिर्वाचित सरकारलाई अलोकतान्त्रिक भन्दै हेप्ने गरेका छन् ।

इभो मोरालेसको वहिर्गमन एक प्रकारको ‘कु’ नै हो । उनले आफ्नो कारण मुलुकमा रक्तपात नमच्चियोस् र मान्छेहरु नमरुन् भनेर तत्कालका लागि निकास दिएका छन् । तर, आगामी दिनमा ल्याटिन अमेरिकामा वामपन्थको उभार नयाँ ढंगले आउने आशा दक्षिण अमेरिकी नेताहरुमा अझै सेलाएको छैन ।

मेक्सिको पुगेर मोरालेसले भनेका छन्, ‘हाम्रो अपराध एउटै हो कि हामी साम्राज्यवाद बिरोधी भयौं । मेरो अर्को अपराध हो म आदिवासी हुनु । र, मेरो उपराष्ट्रपतिको अपराध एउटै हो कि उनले सामाजिक न्यायका कार्यक्रम ल्याए । उनी अत्यन्त गरिव समुदायको प्रतिनिधित्व गर्थे, त्यही उनको अपराध भयो ।

ल्याटिन अमेरिकाको वामपन्थी लहरमा लाग्ला त ब्रेक ?

एशियापछि वामपन्थी उभार ल्याटिन अमेरिकामै देखिने गरेको छ । ह्युगो चाभेजले ल्याटिन अमेरिकामा वामपन्थको लहर ल्याएका थिए । जसको लहरबाट इक्वेडर, उरुग्वे, होण्डुरस, अर्जेन्टिना लगायतका देशमा वामपन्थी लहर चल्यो ।

मोरालेसको पतनपछि दक्षिण अमेरिकाको वामपन्थी आन्दोलन अब के हुन्छ भन्ने बहस शुरु भएको छ । मोरालेसको बहिर्गमनले सबैभन्दा ठूलो चोट भेनेजुएलाका मडूरोलाई परेको छ । अर्जेन्टिना र मेक्सिकोमा वामपन्थीले जितेपछि उत्साहित भएका मडूरोलाई मोरालेस प्रकरणपछि अप्ठेरो पर्न सक्ने विश्लेषण भइरहेका छन् ।
कम्युनिस्टको एकल सत्ता भएको क्युबालाई यो प्रकरणले खासै अप्ठेरो नपरे पनि त्यहाँका राष्ट्रपति म्यानुअल डियाजले मोरालेसलाई समर्थन गरेका छन् ।

मोरालेसले देश छाड्दै गर्दा चाँडै थप शक्तिका साथ फर्किन्छु भन्नु र अर्जेन्टिनामा अघिल्लो महिनामात्र निर्वाचित भएका वामपन्थी राष्ट्रपति अल्बर्टा फर्नान्डेजले बोलिभियाली राजनीतिक घटनाक्रमलाई संरचनात्मक पतन भन्दै मोरालेसको बहिर्गमन अश्वीकार्य रहेको प्रतिक्रिया दिनुले ल्याटिन अमेरिकामा फेरि केही हुने अनुमान गर्न सकिन्छ ।

इभो मोरालेस नयाँ निर्वाचन गराउन सहमत भइसकेपछि पनि उनलाई सत्ताबाट कु गरिएको छ । सन् २००६ मा सत्तामा आएका मोरालेस मेक्सिकोमा चुप लागेर बस्छन् वा पुनः आदिवासी समुदायको समर्थन लिएर सत्ता लिने प्रयास गर्छन् ? यसमा अहिले नै टिप्पणी गर्नु हतारो हुन सक्छ । तर, ल्याटिन अमेरिकामा वामपन्थी सत्ताहरु एकपछि अर्को संकटमा फस्दै जाने सम्भावनालाई यसले बढाएको छ ।

जसरी डेढ दशकअघि धमाधम ल्याटिन अमेरिकामा वामपन्थीहरु सत्तामा आएपछि गुलाबी लहर भनिएको थियो, अब गुलाबी लहर फुस्रो हुँदैछ । वामपन्थीको बिजयसँगै अमेरिकाले चुनौति ठान्दा ती देशहरुमा तीब्र राजनीतिक धु्रवीकरण भयो । अमेरिकाले कठपुतलीहरु खडा गर्दै जाँदा वामपन्थी सत्ताले जनआकांक्षा पूरा गर्न सकेन ।

जसको फलस्वरुप ब्राजिलमा उग्र दक्षिणपन्थीले चुनाव जिते । हुन त वामपन्थीलाई हराएर सत्तामा आएका दक्षिणपन्थी सत्ता पनि इक्वेडर र चिलीमा संकटग्रस्त छन् । तर, मोरालेसको पतनले ती देशको वामपन्थी उभार रोक्ला ? अर्को रोचक प्रश्न पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment