Comments Add Comment

कालोपत्रेमाथि कालोपत्रे ! टालटुलमै चल्छन् नेपालका सडक

अमेरिकी एमसीसी कार्यक्रमले भित्र्याउँदैछ नयाँ प्रविधि

२७ कात्तिक, काठमाडौं । नेपालको पुरानो राजमार्ग ‘त्रिभुवन राजपथ’ पूर्णरुपमा सञ्चालनमा आएको ६३ वर्षभन्दा बढी भयो । यो राजमार्गमा पीचमाथि पीच थप्न थालिएको पनि त्यति नै वर्ष बित्यो । तर, एकपटक पनि यो राजमार्गको पिचभन्दा तल्लो सतहलाई उप्काएर पुनर्निर्माण गरिएको छैन ।

सवारीको अत्याधिक चाप झेलिरहेको पूर्व–पश्चिम राजमार्गको पनि यही अवस्था हो । ०४२ सालमा बनेपछि भत्किँदा टाल्नेबाहेक यो राजमार्गको पनि तल्लो सतह खोतलेर पुनर्निर्माण गरिएको छैन । कतिपय खण्ड भत्किँदा मर्मत गरिए पनि सरकारले राजमार्गको पुनर्निर्माण गर्न सकेको छैन ।

विज्ञका अनुसार राजमार्गहरुलाई खाल्डामुक्त र सहज बनाउने हो भने निश्चित समयको अन्तरालमा पुनर्निर्माणको काम गर्नु अनिवार्य हुन्छ । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने प्रत्येक राजमार्गलाई ७ देखि १० वर्षमा पुनर्निर्माण गर्नुपर्छ । तर, नेपालमा सडक बनाउने कुरा नै प्राथमिकतामा रहेकाले यस्तो विषयलाई ध्यान दिन नपाइएको बताउँछन् सडक विभागका अधिकारीहरु ।

सरकारले विमानस्थलको रन–वेलाई संवेदनशील मान्दै पुनर्निर्माण गरे पनि राजमार्ग पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छैन

विभागका प्रवक्ता तथा उपमहानिर्देशक शिवहरि सापकोटाले नेपाल बल्ल स्तरीय सडकबारे सोच्न सक्न अवस्थामा आइपुगेको बताए । तर यसका लागि ठूलो बजेट लाग्ने भएकाले विभागले नियमित मर्मतलाई नै स्तरीय बनाउन प्रयत्न गरिरहेको उनको भनाइ छ ।

‘हामी सडक खण्डहरुको विस्तारमै यतिका वर्ष केन्द्रित भयौं, बल्ल अब सडकको स्तरीकरणमा लागि बहस र प्रयास सुरु भएको छ,’ प्रवक्ता सापकोटाले भने, ‘राजमार्गको सडक सवारी मैत्री, यात्रुमैत्री र स्तरीय हुनुपर्छ भन्ने विषयलाई ध्यान दिन सक्ने भएका छौं ।’

अहिले धेरैजसो सडक र राजमार्गहरुको अवस्था गतिलो छैन । कालोपत्रे गर्नासाथ उप्किने र सडकमा ढिस्को उठ्नेलगायत समस्याको दोष नागरिकले सरकारमाथि लगाउँछन् र सरकारले ठेकेदारमाथि । अनि, ठेकेदार सरकारलाई नै दोष दिएर उम्किन्छन् ।

यसरी एक–अर्कालाई हिलो छ्याप्ने गरिए पनि यसको मूल कारण भने सडकको पुनर्निर्माण नगर्नु नै भएको बताउँछन् पूर्वयातायात सचिव तुलसीप्रसाद सिटौला । ‘राजमार्गहरु मात्रै हैन, शहरी सडकको हाल पनि उही हो । पुराना सडकलाई पुनर्निर्माण नगरेसम्म समस्या बल्झिरहन्छ,’ उनले भने ।

कालोपत्रे नटिक्ने समस्याले सडकको कन्तबिजोग हुँदा दुर्घटना पनि बढ्दो छ । कालोपत्रे गरिएकै सडकहरु सुरक्षाका हिसाबबाट कमजोर छन्, जसले करोडौं लगानी खेर गइरहेको छ ।

कतिपय खण्डमा विस्तार गर्ने काम पनि भए । तर, पुनर्निर्माणको मर्मअनुरुप सडकको सतह नै खोतलेर नयाँ सतहसहित बनाउने काम भएको छैन ।

सडकहरुमा सवारीको निरन्तर चाप परेको हुन्छ । कालोपत्रका सतहमा भ्वाङ पर्नेसहित पहिले हालिएका निर्माण सामग्री धेरै थिचिएर सडकलाई अस्थिर बनाउने कारक बनेका हुन्छन् । यस्तो अवस्थामा सडकमा भ्वाङ परिरहन्छ भने पिच हालेपछि पनि त्यो लामो समय टिक्दैन । अझ राजमार्गहरुमा मालबाहक सवारीको चाप धेरै पर्ने स्थानमा राजमार्गको पुनर्निर्माण अत्यावश्यक हुन्छ ।

मुग्लिन–नौबिसे जस्तो मालबाहक सवारीको धेरै चाप पर्ने खण्डको पुनर्निर्माण नभएको २५ वर्ष बढी भएको विभागका अधिकारीहरु बताउँछन् ।

सडकमा ढिस्को

राजमार्गहरुमा अहिले ठाउँ–ठाउँमा पिचकै ढिस्काहरु देखिन्छन् । कतिपय अवस्थामा स्थानीय क्षेत्रको उच्च तापक्रम यसको कारक भए पनि धेरैजसो अवस्थामा सडकको तल्लो सतहको कमजोर क्षमता नै हो ।

ढिस्काहरुका कारण राजमार्गमै सवारी चलाउन कठिन हुन्छ भने दुर्घटनाको पनि भय हुन्छ । अन्तर्राष्ट्रिय स्तरको भनिएका राजमार्गहरुको यो हालतले चालक र यात्रुहरु दिक्क छन् ।

सडक यस्तो हुनुको मुख्य कारण राजमार्गको पुनर्निर्माण नगरिनु नै हो । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यस्तै रिह्याबको काम भइरहेको छ । पहिलो चरणमा रन–वेको रिह्याब सकेर अहिले ट्याक्सी वेको रिह्याबको काम चलिरहेको छ । वर्षायाममा रन–वेमा नै भ्वाङ परेर विमान आकाशमै होल्ड गर्दै पिच टाल्नुपर्ने बाध्यता आइलागेपछि रनवे पुनर्निर्माणको काम सुरु भएको थियो ।

बितेको वर्षातको मौसममा त्रिभुवन विमानस्थलमा रन–वेको समस्याले एक दिन पनि विमान अवरुद्ध गर्नुपरेन । विमानस्थलको रन–वे पनि पहिलोपटक पुनर्निर्माण गरिएको हो ।

नयाँ प्रविधिमार्फत् करिब १ सय किलोमिटर सडक पुनर्निर्माण गर्ने सरकारी योजना छ । उक्त प्रविधिलाई पहिलोपटक पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही–भालुबाङ सडकको २६ किलोमिटर खण्डमा प्रयोग गरिँदैछ

सन् १९७५ ताका निर्माण गरिएको त्रिभुवन विमानस्थलको धावनमार्गको कालोपत्र पहिलोपटक पूरै फालेर नयाँ फेरिएको छ । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्णरुपमा नयाँ कालोपत्रे हुँदैछ ।

प्राथमिकतामा छैन

सरकारले विमानस्थलको रन–वेलाई संवेदनशील मान्दै पुनर्निर्माण गरे पनि राजमार्गको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छैन । सडक विभाग भने अहिले राजमार्ग विस्तारमा कार्यान्वयनमा रहेका र बनेका योजनालाई नै पुनर्निर्माणका रुपमा ब्याख्या गर्छ ।

‘मुग्लिन–नारयणगढ खण्डको भर्खरै विस्तार सक्यौं, बुटवल–नारायणगढ खण्डबाट पूर्व–पश्चिम राजमार्ग ४ लेनको बनाउन थालिएको छ, आँबु–पोखरा खण्ड विस्तार अघि बढ्न लागेको छ, विभिन्न सीमानाका जोड्ने ब्यापारिक सडक ५ लेनको बनाउँदैछौं, यी सबै आयोजनामा सडक पनि पुनर्निर्माण गरिएका छन्,’ सडक विभागका प्रवक्ता सापकोटा भन्छन्, ‘हामीले पुनर्निर्माणकै लागि भनेर काम नगरे पनि यी कामले सडकको स्तरीकरण नै हुने हो ।’

उनले अब नौबिसे–मुग्लिन खण्ड विस्तार पनि छिट्टै सुरु गर्ने बताए । यस्तै काठमाडौंमा चक्रपथको विस्तार र विभिन्न सडक खण्डको स्तरोन्नति गर्दा सडकलाई पुनस्र्थापना गरिने उनको भनाइ छ ।

कसरी गरिन्छ सडकको पुनर्निर्माण ?

सडकको सतह बाहिरबाट हेर्दा ठीकै जस्तो लागे पनि भित्र खोक्रो भएर वा सवारीको चापका कारण गतिलो काम दिन नसक्ने बनिसकेको हुन्छ । पीचमाथि पीच थोपर्दै जाँदा ६ सेन्टिमिटरको हुनुपर्ने असफल्ट पिच १० इन्चसम्म बाक्लो बनेको पनि हुन सक्छ ।

सडकलाई पुनर्निर्माण गर्ने हो भने मिलिङ (जोत्ने) मेसिनले पुरानो पीच उक्काउने काम गर्नुपर्छ । पीच मात्रै हैन, पीचमुनिको २० देखि ३० सेन्टिमिटरसम्मको सतहलाई पनि उक्काएर फाल्नुपर्छ ।

यस्तो काम गर्दा दिनमा कति किलोमिटर काम गर्ने भनेर पूर्वयोजना तयार गर्नुपर्छ । त्यसअनुसार इन्जिनियर र प्राविधिकले उपकरण चलाउनेहरुलाई परिचालन गर्छन् । मिलिङ गरेर निकालिएको पुरानो पीच र माटो छुट्टै ठाउँमा लगेर व्यवस्थापन गरिन्छ ।

त्यसपछि त्यसमा आवश्यक गिट्टी, बिटुमिन सहितका तहहरु राख्दै सडक फेरि पीच गर्नुपर्छ । यसका लागि आधुनिक पेभलर मेसिनबाटै काम गर्दा छिटो हुन्छ । यस्तो काम सवारी आवागमन प्रभावित हुन नदिन रातको समयमा गर्नु उपयुक्त हुन्छ । यो काम निकै चुनौतीपूर्ण र खर्चिलो हुने बताउँछन् विभागका प्रवक्ता सापकोटा ।

अमेरिकन प्रविधि भित्रिँदै

सडक पुनर्निर्माणका लागि विभागले चर्चा सुरु गर्दैगर्दा अमेरिकी सरकारले यस्तो प्रविधि नेपालमा ल्याउन चासो देखाएको छ । अमेरिकी अग्रसरतामा राजमार्गको पुनर्निर्माणका लागि ‘पेभमेन्ट रिसाइक्लिङ’ भित्र्याउन लागिएको हो ।

मुग्लिन–नौबीसेजस्तो मालबाहक सवारीको धेरै चाप पर्ने खण्डको पुनर्निर्माण नभएको २५ वर्ष बढी भएको विभागका अधिकारीहरू बताउँछन्

अमेरिकाले दिएको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतको कम्प्याक्ट कार्यक्रममार्फत् ‘पेभमेन्ट रिसाइक्लिङ’ प्रविधि ल्याउन लागिएको छ । नयाँ प्रविधिमार्फत् करिब एक सय किलोमिटर सडकको पुनर्निर्माण गर्ने सरकारी योजना छ । उक्त प्रविधिलाई पहिलोपटक पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही–भालुबाङ सडकको २६ किलोमिटर खण्डमा प्रयोग गरिँदैछ ।

सडकको कालोपत्रे निकालेर त्यसमा नयाँ अस्फाल्ट र अन्य रसायनहरू थपी पुनः कालोपत्रे गर्ने प्रविधि हो, ‘अस्फाल्ट पेभमेन्ट रिसाइक्लिङ’ । यो विभिन्न मुलुकले प्रयोगमा ल्याएका छन् । कमजोर बनेको कालोपत्रे निकालेर रिसाइक्लिङ गर्दा नयाँ पीच हाल्नुभन्दा सस्तो पर्न जान्छ । तर, त्यसमा थप नयाँ गिट्टी र बिटुमिनका साथमा रसायनहरु पनि राख्नुपर्छ ।

यो प्रविधिमार्फत् कालोपत्रे हुने सडकको सतह मात्र नभई गहिराइसम्मै पुनर्निर्माण हुन्छ । यसले सडकमा हुने उबड–खाबडको समस्या हटाउने सरकारी अधिकारीहरुको दाबी छ ।

यस्तै, सवारीको बढी चाप पर्ने उकालो/ओरालो र चिसोका कारण दलदल हुने क्षेत्रमा ‘सिमेन्ट स्टाबिलिटी’ प्रविधि पनि अपनाइन्छ । सडकको तल्लो भागमा सिमेन्ट हालेर माटोलाई स्थायी बनाउन यसले मद्दत पुर्‍याउँछ । त्यसबाट सडकको आयु बढ्ने भएकाले पटक–पटक मर्मत गर्ने झन्झट कम हुन्छ । यसलाई वातावरणीय र आर्थिक दृष्टिकोणबाट पनि उपयुक्त मानिन्छ ।

सिमेन्ट हालेर पुरानो निर्माण सामग्री नै प्रयोग गर्दा पनि नयाँजत्तिकै टिकाउ हुने विभाग बताउँछ । अस्फाल्ट जति पुरानो भयो, त्यति नै बलियो हुने दाबी केही विशेषज्ञको छ । यस प्रविधिमा इन्धनको खपत कम हुन्छ । र, हानिकारक ग्यासको उत्सर्जन पनि सीमित रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment