
१२ भदौ, गुल्मी । गुल्मी इस्मा गाउँपालिका-२ स्थित छल्दी-रातचौर-रातडाँडा सडक २३ वर्षपछि कालोपत्रे हुन लागेको छ । छल्दी हुँदै रातचौर र रातडाँडा पुग्ने यो सडक लामो समयदेखि मर्मत र स्तरोन्नति नहुँदा धुलो–धुवाँ र हिलोको समस्यामा रहेका स्थानीयवासीलाई अहिले राहत भएको छ ।
यो सडकलाई तीन खण्डमा विभाजन गरी कालोपत्रे गर्ने योजना अनुसार रातचौर र रातडाँडा क्षेत्रमा हाल काम अन्तिम चरणमा पुगेको इन्जिनियर बिकले बताए ।
रातचौर क्षेत्रमा ४९० मिटर सडक ७१ लाख रुपैयाँको लागतमा कालोपत्रे गरिएको छ । त्यस्तै, रातडाँडा खण्डमा ७३ लाख रुपैयाँमा ३७० मिटर कालोपत्रे अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दिपक बिकले बताए ।
यी दुई खण्डमा काम सम्पन्न भएसँगै सडकमा सवारीसाधन सहजै गुड्न थालेका छन् । सडक स्तरोन्नतिसँगै स्थानीय बासिन्दाले स्वास्थ्य, शिक्षा, व्यवसाय र अन्य दैनिक काममा उल्लेख्य सहजता पाएका छन् ।
सडक कालोपत्रे नहुँदा रातिमा सुत्दा पनि माक्स लगाएर सुत्नुपर्ने अवस्थाको अत्य भएको स्थानीय देवबहादुर कुमालले बताए । सडक खुलेको २३ वर्षपछि सडक कालोपत्रे हुँदा अत्यन्तै खुसी लागेको उनले बताए ।
सडक कालोपत्रे नहुँदा त्यस स्थानका वृद्धवृद्धाहरुलाई स्वास्थ्यमा समेत असर पारेको थियो । तर, अहिले हिलो र धुलोबाट मुक्ति पाएको अर्का स्थानीय कुलबहादुर कुमालले बताए ।
घरमा सुकाएका कपडाहरु समेत बिहान धोएपछि साँझ पुन: धुनुपर्ने अवस्थासमेत रहेको उनले सुनाए । अहिले गाउँमा समेत यसरी सडक कालोपत्रे हुँदा गाउँले नै खुसी छन् ।
स्थानीय व्यापारीहरुले कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो भएको बताएका छन् । विद्यार्थी तथा बिरामी ढुवानीमा समेत ठूलो सहजता आएको स्थानीय रनबहादुर रानाले बताए ।
यो सडकले गुल्मीका विभिन्न क्षेत्र मात्र नभई छिमेकी जिल्ला बाग्लुङको बुर्तिबाङसम्म सीधा यातायात सुविधा जोड्ने भएकाले यसलाई रणनीतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ । स्थानीय कृष्णबहादुर जिसीले बाँकी खण्डमा पनि चाँडै काम सम्पन्न गर्न आग्रह गरेका छन् ।
उनीले यस कार्यलाई दीर्घकालीन र दिगो बनाउन गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । सडक डिभिजन कार्यालय पाल्पा मार्फत नव उत्कृष्ट कन्टक्सन एण्ड सप्लायर्स प्रालिमार्फत काम भएको हो ।
निर्माण व्यवसायीले अबको केही दिनमै कालोपत्रे गर्ने कम सक्ने गरि काम गरिरहेको नव उत्कृष्ट कन्टक्स एण्ड सप्लायर्स प्रालिका प्रतिनिधि थानेश्वर पन्थीले बताए । छल्दी–रातचौर–रातडाँडासम्मको खण्ड अन्तर्गत सुरुको खण्डमा भने काम निकै सुस्त गतिमा भइरहेको छ ।
करिब दुई हजार ५ सय मिटर कालोपत्रे गर्ने गरि सडक डिभिजन कार्यालय पाल्पा मार्फत ओमनव शिवाय कन्टक्सन प्रालि दाङ मार्फत तीन करोड ११ लाखको लागतमा काम भइरहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दिपक बिकले बताए । त्यस खण्डमा २० प्रतिशत मात्रै भौतिक प्रगति भएको सडक बिकले बताए । त्यस खण्डमा अहिले वर्षातको समयमा भनेर काम रोकिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4