३१ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलले मनाङमा पर्वतीय उद्धार तालिम शिक्षालय सञ्चालनमा ल्याएको छ । गृहसचिव राजकुमार श्रेष्ठले उक्त शिक्षालयको उद्घाटन गर्नुका साथै तालिम समापनमा सहभागी भएका छन् ।
सशस्त्रले मनाङको ङिस्याङ गाउँपालिका–४, हुम्डेस्थित ३ हजार ४२० मिटर उचाइमा अवस्थित सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम शिक्षालय सञ्चालनमा ल्याएको छ । शिक्षालयमा सञ्चालन भएको सि.स. २ उच्च भूभाग खोज तथा उद्धार तालिम बिहीबार समापन पनि भएको छ ।
गृहमन्त्री श्रेष्ठले विपद् उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरूको ज्ञान, त्याग र साहसको प्रशंसा गरे । उच्च भूभागमा खोज तथा जोखिमपूर्ण उद्धार कार्यले विपद्मा परेकाहरुको उद्धारका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने बताए ।
गृह सचिव श्रेष्ठले अकस्मात आउन सक्ने विपद् कार्यहरुमा सीमित श्रोतसाधनको बाबजुत पनि सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए । विपद् व्यवस्थापनको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र श्रोत साधन सम्पन्न बनाउन मन्त्रालय सदैव प्रतिबद्ध रहेको समेत बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले राष्ट्रको भरोसायोग्य सुरक्षा संगठनका रूपमा आफूलाई स्थापित गर्दै आएको बताए ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा आकस्मिक घटना तथा चुनौतीहरुलाई प्रभावकारी रूपमा सामना गर्न खोज तथा उद्धार कार्यका लागि दक्ष र साहसी जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालयको स्थापना गरिएको उनले बताए ।
पर्वतीय उद्धार क्षमता केवल सुरक्षा व्यवस्थाको विषय मात्र नभई नेपालको राष्ट्रिय प्रतिष्ठा, पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय विश्वास तथा मानवीय उत्तरदायित्वसँग प्रत्यक्ष रूपमा जोडिने भएको हुँदा ज्ञान र सीपलाई व्यवहारमा उतारी उच्च हिमाली तथा दुर्गम क्षेत्रमा जीवन रक्षाको कार्यमा परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
महानिरीक्षक पौडेलले शिक्षालयको थप सुदृढीकरणका लागि आवश्यक भौतिक पूर्वाधार, आधुनिक उद्धार उपकरण तथा स्रोतसाधन, बस्दोबस्ती सम्बन्धमा आपतकालीन व्यवस्था तथा उद्धार कार्यका लागि हेलिकप्टर र कठिन प्रकृतिको काममा खटिने कर्मचारीहरूको मनोबल उच्च राख्नको लागि जोखिम भत्ताको व्यवस्था भएमा उच्च हिमाली क्षेत्रमा उद्धार कार्य अझ प्रभावकारी हुने बताए ।
उच्च भूभाग खोज तथा उद्धार तालिमका ४ जना प्रशिक्षक तथा १८ प्रशिक्षार्थीहरूले वैशाख २९ गते ६ हजार ३८ मिटर अग्लो चुलु फार इस्ट हिमालको समेत सफल आरोहण गरेका थिए ।
यसअघि २०८२ असोज २५ गते सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलको कमान्डमा पहिलो पटक ७ जनाले चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका थिए भने २०८२ असोज ९ गते सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र केसीको कमाण्डमा २१ जनाले सफल आरोहण गरेका थिए ।
२०७७ सालमा मनाङ सदरमुकाममा स्थापना भई २०७८ साल वैशाख देखि ङिस्याङ गाउँपालिका ४ स्थित हुम्डेमा शिक्षालय स्थानान्तरण भएको हो ।
हालसम्म ७५ जनाले उच्च भूभाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले उच्च भूभाग खोज तथा उद्धार एडभान्स तालिम र १२० जनाले रोप रेस्क्यु तालिम प्राप्त गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।
शिक्षालयमा सञ्चालन भएका विभिन्न तालिम तथा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लामा हिउँमा फसेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार, अवरुद्ध सडक पुन: सुचारु गर्नुका साथै लेक लागेका स्वदेशी तथा विदेशी पर्यटकहरुको उद्धार गरेका छन् ।
प्रतिक्रिया 4