+
+

रोलमोडल भक्तपुर : शिक्षा, स्वास्थ्य र संस्कृतिबाट अरुले के सिक्ने ?

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७६ कात्तिक २८ गते ७:१९

निजीकरणको नाममा शिक्षा र स्वास्थ्यको सबै तालाचाबी निजी क्षेत्रलाई दिएको भए सायद यतिबेला भक्तपुर नगरपालिका पनि अरु धेरै स्थानीय तह जस्तै सरकारसँग कर्मचारीलाई खुवाउने तलबको लागि हारगुहार गरिरहेको हुन्थ्यो होला । तर, भक्तपुरले त्यो चाहेन । बरु मनाङमा जन्मिएर इन्जिनियरिङ पढ्न चाहनेहरुको होस् या कर्णालीबाट कम्प्युटर इन्जिनियरिङको सपना पूरा गर्न चाहनेको लागि होस् । सबैलाई उसले भक्तपुर नै बोलायो । तिर्न सकेको पैसा तिर्न पनि भन्यो । तर, शिक्षाबाट बञ्चित गरेन ।

अहिले भक्तपुर नगरपालिकालाई कुनै निजी संस्थाको मनपरी सहनुपरेको छ न त केन्द्र सरकारसँग हारगुहार नै गर्नुपरेको छ । शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक सेवामा आफैंसँग पूर्ण छ भक्तपुर । त्यसैले यो अरु स्थानीय तहभन्दा फरक छ ।

भक्तपुर नगरपालिकाबाट ३ वटा विषय अरुले पनि सिक्नै पर्ने देखिन्छ । एउटा शिक्षाको मोडल, अर्काे स्वास्थ्यको मोडल र तेस्रोमा कलासंस्कृतिको मोडल । यो तीन कुराबाट नै भक्तपुर पूर्ण भएको हो । शिक्षाले नगरबासीलाई चेतनशील बनायो, स्वास्थ्यले उर्जावान र सक्षम बनायो, संस्कृतिले सभ्य र सुसंस्कृत बनायो । साथमा संस्कृतिले नै आयआर्जनको स्रोत पनि देखायो । यो बाहेक अरु सबै गौण भएका छन् भक्तपुरेहरुको लागि ।

कुनैपनि देशका नागरिकहरुले सरकारसँग राख्ने अपेक्षा पनि यिनै हुन् । आफ्नो व्यक्तिगत पहलमा सम्भव नभएका अत्यावश्यक सेवाको पूर्ति नै नगरबासीप्रति गरेको न्याय हो । न त ठूला ठूला कायापलटको सपना न त पूरा नहुने आश्वासन नै । केवल जनताको दैनिक जनजीवनलाई सहज गराउने लक्ष्य सहित अघि बढेको भक्तपुर नगरपालिका विभिन्न पूर्वाधारको हिसाबले एउटा उदाहरणीय नगरको रुपमा विकास हुँदै आएको छ । सो नगरपालिकाको विकास यही ३ कुरामा केन्द्रित छ । स्वास्थ्य, शिक्षा र संस्कृति ।

भक्तपुरको स्वास्थ्य मोडल

भक्तपुर नगरपालिकाको स्वास्थ्य सेवाको मोडल अरु स्थानीय तहकोभन्दा भिन्न छ । कोही बिरामी भइसकेपछि अस्पतालमा भौतारिँदै जानै पर्दैन । हरेक दिन बिहान टोल टोलमा सेतो कोट लगाएर आउने नर्सहरुलाई आफू कुशल रहेको समाचार सुनाउँदै सुरु हुन्छ नगरबासीको दैनिकी ।

स्थानीय जनप्रतिनिधिहरु निर्वाचित भएर आएलगत्तैदेखि नगरपालिकाले हरेक घरघरमा निःशुल्क नर्सिङ सेवा दिन सुरु गरेको थियो । यो केवल स्वास्थ्य सेवामात्रै थिएन । नगरबासीहरुको स्वास्थ्यको बारेमा गरिएको एउटा जनगणना पनि थियो । जुन सेवा अनुसार दैनिक दुई घण्टा (बिहान ७ बजेदेखि ९ बजेसम्म) स्थानीय महिला स्वयं सेविकासहितका विभिन्न युनिटहरु टोलटोलमा र घरघरमा आउने गर्छन् । उनीहरु आएर स्वास्थ्य सम्बन्धी पारिवारिक विवरणहरु तयार नभएको भए तयार पार्छन् । अशक्त तथा बृद्धबृद्धाहरुको आवश्यकता अनुसार हेरविचार गर्छन् । घरमै अक्सिजन दिनुपर्नेहरुलाई अक्सिजन दिने र चिसो तातो सेक्ने विषयमा आवश्यक हेरविचार गर्न सिकाउँछन् । सुत्केरी आमाको स्याहार सुसार गर्न सिकाएर जान्छन् । ताकि सामान्य स्वास्थ्य समस्यामा कोही पनि अस्पताल दौडिहाल्नु नपर्ने बनाउनु नै उनीहरुको जिम्मेवारी हो ।

त्योभन्दा ठूलो रोगहरु लाग्यो भने नजिकैको जनस्वास्थ्य सेवा केन्द्रमा गएर ५० रुपैयाँमा विशेषज्ञ सेवा लिन सकिन्छ । त्यहाँ १३ जना विशेषज्ञ डाक्टर, १५ जना मेडिकल अफिसर, ३९ जना प्यारामेडिक्स र अन्य कर्मचारीहरु १५ जनाले २४ सै घण्टा आकस्मिक सहितका सेवा दिनेगरेका छन् । केन्द्रको तथ्यांक अनुसार दैनिक ६०० जनासम्मले त्यहाँ सेवा लिने गरेका छन् । अति जटिल रोग बाहेक अरु सबै उपचार त्यही न्यून शूल्कमा हुने गरेको छ । यस्तै सुविधाका कारण स्वास्थ्यको दृष्टिकोणले अरुभन्दा भिन्न छ भक्तपुर ।

यस बाहेक सरकारी र निजी गरी ५ वटा अस्पतालहरु यो नगरपालिका भित्रमात्रै छन् । २५ शैयाको अस्पताल आफ्नै लगानीमा बनाउनको लागि नगरपालिकाले स्वीकृति प्राप्त गरिसकेको छ । यसको निर्माणकार्य पनि तीब्र रुपमा चलिरहेको नगरपालिकाले जनाएको छ ।

अहिले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इञ्जिनियरिङ कलेजबाट स्नातक र स्नातकोत्तर तहका गरी १ हजार ५ सयको हाराहारीमा विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् । सो कलेजमा मनाङ जिल्ला बाहेक देशभरका सबै जिल्लाका विद्यार्थीहरुले अध्ययन गरिसकेका छन् । अहिले त्यहाँ कूल ७२ जिल्लाका ११०३ विद्यार्थीहरु अध्ययन गरिरहेको प्रजापतिले जानकारी दिए । अरु पनि यस्तै ६ वटै क्याम्पस तथा विद्यालयहरुबाट नगरपालिकाले शिक्षण सुविधा दिँदै आएको छ । सुपथ मूल्यमा विद्यार्थी अध्ययन गराउनको लागि वार्षिक सात वटै संस्थाको कूल खर्च ४० करोडभन्दा धेरै आउने नगरपालिकाले जनाएको छ ।

खेलकुदमा भक्तपुर

खेलकुदतर्फ अहिले अन्तरनगर र अन्तरविद्यालय खेलकुद प्रतियोगिताहरु चलिरहेका छन् । विभिन्न ७२ विद्यालयहरुबीच यस्ता खेलकुद प्रतियोगिता हुने गरेका छन् । यसको संयोजन गर्नको लागि हरेक वडामा एउटा वडा खेलकुद समितिहरु गठन गरिएको छ । पैसाको कारणले खेलकुद र शारीरिक व्यायाममा सहभागी हुन नसकेकाहरुलाई निशुल्क सेवा दिने काम पनि नगरपालिकाले गरिरहेको छ ।

अहिले नगरपालिकाले खेलकुदमा पनि पूर्णकालीन शिक्षक नै नियुक्त गरेर यस्ता शिक्षण सिकाई गरिरहेको छ । जस अनुसार टेबलटेनिस, भलिबल फुटबल, कराँते, बक्सिङ, जिम्नास्टिक जस्ता खेलहरु चलिरहेका छन् । ‘प्या मिरे’ भन्ने परम्परागत रुपमा महिलाहरुले खेल्ने खेल अहिले लोप भइसकेको छ । त्यसलाई पनि जोगाउनको लागि नियम बनाइसकिएको छ । अब बुढापाकाहरुसँग यो खेलको बारेमा बुझेर यसलाई पनि जीवन्तता दिने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

भक्तपुरको शिक्षा मोडल

शिक्षाको हिसाबले भक्तपुर जिल्ला नै धेरै पहिलेदेखि रोलमोडलको रुपमा रहेको थियो । स्थानीय तहलाई संविधानले नै शिक्षा र स्वास्थ्यको पूर्ण अधिकार दिएपनि भक्तपुर नगरपालिका आफैंमा नमूना स्थानीय तह बनेको छ । महानगर र उपमहानगरपालिका जस्ता स्थानीय तहले समेत शिक्षा र स्वास्थ्यको लागि केन्द्रसँग हारगुहार गरिरहेको बेलामा भक्तपुरले आफ्नै स्वामित्वका सातवटा शिक्षण संस्था मार्फत् जनशक्ति उत्पादन गर्दै आएको छ । नगरपालिकाको स्वामित्वमा रहेका शिक्षण संस्थाहरुमा ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियिरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा मावि र शारदा कलेज रहेका छन् । यी सबै शिक्षण संस्थाहरुबाट ५ हजारभन्दा धेरै विद्यार्थीहरुले शिक्षण सेवा पाइरहेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए ।

दैनिक घरघरमा पुगेको नर्सिङ सेवामा संकलन गरिएको तथ्यांक अनुसार नगरपालिकाले नगरबासीहरुमा सरुवा रोगभन्दा पनि नियमित व्यायामको अभावमा हुने जटिल किसिमका रोगबाट धेरै पीडित भएको निष्कर्ष निकाल्यो । त्यसपछि विभिन्न स्थानमा निशुल्क व्यायामशालाको सुरुवात ग¥यो । सुरुमा ५ ठाउँमा राखेको व्यायामशालामा धेरैको आकर्षण बढेपछि दोस्रो चरणमा विभिन्न १० स्थानमा यो सेवा दिन थालियो । अहिले १३ ठाउँमा यो सेवा सुरु भइसकेको छ । अहिले थप १२ ठाउँमा यो सेवा दिनको लागि सामग्री खरिद भइसकेको छ । निजी जिमखानामा गएर हजारौं तिर्दा पनि नपाउने सेवा नगरपालिकाले निःशुल्क दिएपछि अहिले एकाबिहानैदेखि ती स्थलहरुमा भीड लाग्ने गरेको छ ।

कला संस्कृतिमा भक्तपुर मोडल

यो नेपालकै सबैभन्दा सानो नगरपालिका हो । तर, कला र संस्कृतिको लागि खुल्ला विश्वविद्यालय पनि हो भन्दा फरक नपर्ला । कला र संस्कृतिको विविध पक्षलाई हामी यही एउटा सानो भौगोलिक सीमा भित्र पढ्न सक्छौं । केवल ३ वर्ग किलोमिटरको क्षेत्रलाई पुरानो बस्तीको रुपमा संरक्षण गर्ने नीति नगरपालिकाले लिएको छ । ती क्षेत्रमा बाहिरी मोहोडा एकै शैलीको बनाउनको लागि नगरपालिकाले विभिन्न किसिमका अनुदानको व्यवस्था समेत गरेको छ । भित्रको डिजाइन नभएर बाहिर देखिने मोहोडा निर्माण गर्नको लागि काठ र इट्टाको लागि लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने गरेको छ । यस अनुसार थोरैमा प्रतिघर एक लाख ५० हजार र बढीमा ५ लाख रुपैयाँसम्म अनुदान दिनुपरेको प्रमुख प्रजापतिले जानकारी दिए । यसले प्राचीन बस्तीको रुपमा रहेको सो क्षेत्रलाई रंगीचंगी बनाएर कुरुप हुनबाट जोगाउने विश्वास नगरपालिकाको छ ।

यसरी मूर्त संस्कृति र अमूर्त संस्कृतिको संरक्षण र प्रवद्र्धनमा समेत नगरपालिकाले महत्वपूर्ण कार्य गर्दै आएको छ । कला र संस्कृति केवल एउटा पुस्ताको लागि मात्रै होइन भनेर नगरपालिकाले चोक र घरघरमा गएरभन्दा विद्यालयमा नै सबैलाई सांस्कृतिक बाजा, नाचगान र खेलहरुको बारेमा जानकारी दिने गरेको छ । लाखौं रुपैयाँ यही संस्कृतिको संरक्षणको लागि पुरस्कारको रुपमा समेत नगरपालिकाले खर्च गर्ने गरेको छ ।

जस्तो प्राचीन कालमा नेवारी संस्कृतिको रुपमा रहेको र लोपोन्मुख अवस्थामा रहेको ‘कसिमला पाँय्’ भन्ने खेल संरक्षणको लागि अहिले नगरपालिकाले धेरै ठूलो लगानी गरिरहेको छ । सुरुमा बुढापाकासँग सिकेर ३ जनालाई यो खेल सिकाइयो । त्यसपछि नगरपालिकामा रहेका सबै विद्यालयका शिक्षकहरुलाई सिकाइयो । उनीहरुले विद्यार्थीलाई सिकाए । त्यसपछि नगरपालिकाले त्यसैको प्रतिस्पर्धा पनि गराइसकेको छ । यसमा पछिल्लो समय विद्यार्थीहरुको ठूलो सहभागिता समेत रहेको नगरपालिकाले जनाएको छ । गत वर्षमात्रै सो प्रतियोगितामा ८० जना सहभागी भएका थिए ।

‘भक्तपुरमा मात्रै नाचिने धेरै ऐतिहासिक नाचगानहरु छन् । डाफा भजनहरु, गुठीहरु र संस्कृतिहरु छन् । त्यसलाई प्रशारण गर्ने भनेर त्यसलाई संकलन गरिसकेका छौं ।’ प्रमुख प्रजापतिले भने ‘केही दिन अघिमात्रै प्रत्येक वडाबाट दुई÷दुई जनालाई परम्परागत बाजा सिकाउने कार्यक्रम सहभागी गरायौं । बुढापाकाहरुबाट त्यो बाजा बजाउने कला युवाहरुलाई सिकाइएको थियो । सिकाइसकेपछि उहाँहरुलाई सम्मान स्वरुप जनही १५ हजार रुपैयाँ दिइएको थियो ।’ यसबाहेक पनि भक्तपुरमा रहेका सबै संस्कृतिहरुलाई यसरी नै व्यवहारिक जीवनसँग जोडेर यसको संरक्षण गराउँदै लैजाने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

अहिले हरेक लोपोन्मुख सांस्कृतिक गतिविधिहरु सबै विद्यालयका शिक्षकहरुलाई पहिले सिकाइन्छ । त्यसपछि उनीहरुबाट विद्यार्थीलाई सिकाउने गरिएको छ । पछिल्लो समय परम्परागत खाना बनाउन हरेक विद्यालयमा सिकाउने गरिएको छ । सोही अनुसार योमरी बनाउने प्रतियोगिता पनि गर्ने तयारी भइरहेको प्रजापतिले बताए ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?