
२७ कात्तिक, काठमाडौं । आगामी मंसिर १४ गते हुने उपचुनावका लागि बुधबार देशभरिका ४ गाउँपालिका, एक उपमहानगरपालिका र ४३ वटा वडाहरुमा उम्मेदवारी दर्ता भएका छन् ।
निर्वाचन आयोगका अनुसार ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि कुल २८१ जनाको मनोनयनपत्र दर्ता भएको छ । यसमध्ये राजनीतिक दलका उम्मेदवार २१७ जना छन् भने ६४ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको संख्या २६ मात्र छ ।
धरान उपमहानगरपालिकाको मेयरका साथै वडा नं ७ को वडाध्यक्षका लागि समेत उम्मेदवारी दर्ता भएको छ । संखुवासभाको मकालु गाउँपालिका, पाँचथरको फाल्नुनन्द गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष पदका लागि बुधबार उम्मेदवारी दर्ता भएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भएको छ ।
धरानको मेयरमा को–को ?
धरान उपमहानगरपालिकाको मेयर पदमा एक महलिासहित २३ जनाले उम्मेदवारी दिएका छन् । २३ मध्ये १३ जना दलका प्रतिनिधि छन् भने र १० स्वतन्त्र उम्मेदवार छन् ।
मेयर पदका लागि नेकपाबाट प्रकाश राई र नेपाली कांग्रेसबाट तिलक राई प्रतिस्पर्धी बनेका छन् । त्यसैगरी समाजवादी पार्टीबाट गजेन्द्रबहादुर लिम्बु मेयरका दाबेदार बनेका छन् ।
धरानको मेयरमा राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपाका नेता एवं पूर्वमेयर तारा सुब्बाको निधनपछि धरानमा मेयर पदका लागि मंसिर १४ मा उपचुनाव हुन लागेको हो ।
पाँचथरको फाल्गुनन्दमा को–को ?
पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षका लागि चुनाव हुँदैछ । अघिल्लो चुनावमा यस गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो । अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
पाँचथरका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार फाल्गुनन्दको अध्यक्षमा नेकपाबाट वीरबहादुर कुरुम्बाङ, नेपाली कांग्रेसबाट वृजराज आङदेङ्बे, समाजवादी पार्टीबाट बिमला आङदेम्बेले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी राप्रपाबाट ससुहाङ चेम्जोङ, राप्रपा संयुक्तबाट मोतीप्रसाद लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिपेन चेम्जोङ, मंगोल नेशनल अर्गनाइजेसनबाट उदय सुनुवार, राष्ट्रिय जनमुक्ति पार्टीबाट इच्छाबहादुर चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् ।
मकालुमा ७ उम्मेदवार
यसअघि तत्कालीन एमालेले जितेको संखुवासभाको मकालु गाउँपालिका अध्यक्षका लागि ७ जनाले बुधबार उम्मेदवारी दिएका छन् ।
निर्वाचन कार्यालय संखुवासभाका प्रमुखका टोलाराज दंगालका अनुसार मकालु गाउँपालिकामा नेकपाबाट तेजप्रसाद पोखरेल, नेपाली कांग्रेसबाट विमन पराजुलीले उम्मदेवारी दर्ता गरेका छन् । त्यसैगरी समाजवादी पार्टीबाट नुर्भ शेर्पा, राप्रपाबाट मेघनाथ राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट कविता राई र राप्रपा संयुक्तबाट मनबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
पिपरामा सिके राउतका कार्यकर्तादेखि पूर्वमाओवादीसम्म
यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि रोचक भिडन्त हुने देखिएको छ । यहाँ बुधबार २० जनाले अध्यक्षका लागि दाबी प्रस्तुत गरेका छन् । उम्मेदवारी दर्ता गर्नेहरुमा सिके राउतको जनमत पार्टीका कार्यकर्तादेखि पूर्वमाओवादीसम्म छन् । उम्मेदवारी दिनेहरुमा ९ जना स्वतन्त्र उम्मेदवार छन् ।
पिपरा गाउँपालिकामा अध्यक्ष पदका समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) ले संयुक्त रुपमा उम्मेदबारी दिने जनाए पनि दुबै दलबाट छुट्टाछुट्टै उम्मेदबारी दर्ता भएको छ । राजपाबाट अध्यक्ष पदमा यसअघि निर्वाचित भएर निधन भएका विनोद चौधरीकी पत्नी रबिता चौधरीले उम्मेदवारी दिएकी छन् ।
समाजवादी पार्टीले भने पूर्वमाओवादी नेता रामजानकी यादवलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको छ । रामजानकीले यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदबार हुँदा १५७८ मत ल्याएका थिए । उनी केही दिनअघिमात्रै नेकपा छाडेर समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका लागि विजय यादवको उम्मेदवारी परेको छ भने नेकपाले गत स्थानीय चुनावमा निकटतम प्रतिद्वन्दी बनेर राजपासँग हारेका बिक्रम चौधरीलाई नै उम्मेदबार बनाएको छ ।
पिपरा गाउँपालिकाको अध्यक्षमा गत निर्वाचनमा राजपाका बिनोद चौधरी २७७५ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन नेकपा एमालेका उम्मेदवार बिक्रमले १८७३ मत ल्याएका थिए ।
पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि पहिलोचोटि सिके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ । यो पार्टीबाट अन्जली देवी मण्डलले उम्मेदवारी दिएकी छन् । मण्डलको उम्मेदवारीले सिके राउतको जनमत जाँच्ने अवसर मिलेको धेरैले विश्लेषण गरेका छन् ।
त्यसैगरी राप्रपा संयुक्तबाट सुनिल ठाकुरले उम्मेदबारी दिएका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीबाट इसराजुल, नेपाल लोकतान्त्रिक पार्टीबाट राजकिशोर यादव र नेपाल जनता पार्टीबाट रमाकान्त यादवले गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएको निर्वाचन अधिकृत बिष्णु सुवेदीले जानकारी दिए ।
खार्पुनाथको उपाध्यक्षमा ३ दल भिड्दै
हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपचुनाव हुँदैछ । यसअघि नेपाली कांग्रेसले जितेको उपाध्यक्ष पदमा यसपटक तीन दलले मनोनयन दर्ता गराएका छन् । यसअघि कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सिन्धु शाही हमालको जीप दुर्घटनामा मृत्यु भएपछि खार्पुनाथको उपाध्यक्षमा उपनिर्वाचन हुन लागेको हो ।
उपाध्यक्षका लागि बुधबार उम्मेदवारी दिनेहरुमा नेकपाबाट रुपा शाही, नेपाली कांग्रेसबाट तारा शाही र राप्रपा संयुक्तबाट दीपबहादुर शाही छन् । उपनिर्वाचनका लागि नेकपाबाट उम्मेदवारी दर्ता गरेकी रुपा यसअघि पराजित उम्मेदवार हुन् ।
चार गाउँपालिका र धरान उपमहानगरमा गत चुनावकाे मत परिणाम
४३ वडामा उम्मेदवारी दर्ता
मंसिर १४ गते विभिन्न नगरपालिकाका २२ वडामा वडाध्यक्षका लागि उपचुनाव हुँदैछ । त्यसैगरी विभिन्न गाउँपालिकाका २१ वडाहरुमा पनि वडाध्यक्षका लागि उपचुनाव हुँदैछ । ती सबै ४३ वटै वडाहरुमा पनि बुधबार मनोनयन दर्ता भएका छन् । नगरपालिकातर्फ वडाध्यक्षका लागि मनोनयन दर्ता भएका २२ स्थानमध्ये खाँदबारी–३, हरिपूर्वा–१, भरतपुर–१६, धुलिखेल–२, दक्षिणकाली–३, सुन्दरबजार–२, प्युठान–२, घोराही–१६, पुचौंडी–४, पुनर्वास–३ यसअघि तत्कालीन नेकपाले जितेका वडा हुन् । त्यसैगरी यसअघि कांग्रेसले जितेका नगरपालिकाका वडामध्ये फिदिम–१, कल्याणपुर–१२, बलवा–२, खैरहनी–४, कोहलपुर–६ र त्रिवेणी–१ मा पनि बुधबार मनोनयन दर्ता भएको छ ।
यसअघि समाजवादी पार्टीले जितेको वलवा नगरपालिकाको वडानम्बर ८ र स्वतन्त्रले जितेको शिवराज नगरपालिकाको वडा नम्बर ८ मा पनि वडाध्यक्षका लागि मनोनयन दर्ता भएको छ । यसअघि राजपाले जितेका मटिहानी–२ र गढीमाई– २ मा पनि वडाध्यक्षका लागि बुधबारै मनोनयन दर्ता भएको छ ।
त्यसैगरी २१ गाउँपालिकातर्फका वडाध्यक्षमा उम्मेदवारी दर्ता भएका छन् । ती मध्ये ०७४ सालमा एमालेले जितेका हिलीहाङ–७, धनपालथान–३, साकेला–३, उमाकुण्ड–३, बढीगाड–२, बौदीकाली–५, मालारानी–३, रुरु–५, आदर्श–२ र दोगडाकेदार–४ मा वडाध्यक्षका लागि मनोनयन दर्ता भएको छ । यसअघि माओवादीले जितेका ऐरावती–१ र कुमाखमालिका–५ मा पनि मनोनयन दर्ता भएको छ । त्यस्तै यसअघि कांग्रेसले जितेका पौवादुङमा–१, बारागढी–१, इन्द्रावती–८, मल्लेख–१ र सुर्नया–१ मा पनि वडाध्यक्षका लागि विभिन्न दलले मनोनयन दर्ता गरेका छन् ।
गत स्थानीय चुनावमा स्वतन्त्रले जितेको रोल्पाको थवाङ गाउँपालिका वडा नं १ को वडाध्यक्षमा पनि बुधबार मनोनयन दर्ता भएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले जितेको प्युठानको ऐरावती–२, समाजवादीले जितेको सखुवा प्रसौनी–५ र राजपाले जितेको छिन्नमस्ता गाउँपालिका वडा नं–७ मा वडाध्यक्षका लागि मनोनयन दर्ता भएको छ ।
मंसिर १४ मै चुनाव हुने प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ र प्रदेश सभाका तीन सीट दाङ, भक्तपुर र बागलुङमा भने कात्तिक २१ गते नै मनोनयन दर्ता भइसकेको छ ।
स्थानीय तहको उपनिर्वाचनमा कुन पदमा कति उम्मेदवार ?
जिल्ला | गापा/नपा | पद | वडा | मनोनयनपत्र दर्ता संख्या | लैङ्गिक विवरण | |||
राजनीतिक दल | स्वतन्त्र | जम्मा | पुरुष | महिला | ||||
अछाम | मेल्लेख गाउँपालिका | वडा अध्यक्ष | 5 | 2 | 0 | 2 | 2 | 0 |
अर्घाखांची | मालारानी गाउँपालिका | वडा अध्यक्ष | 3 | 3 | 0 | 3 | 3 | 0 |
कन्चनपुर | पुनर्वास नगरपालिका | वडा अध्यक्ष | 3 | 5 | 0 | 5 | 5 | 0 |
कपिलवस्तु | शिवराज नगरपालिका | वडा अध्यक्ष | 10 | 8 | 4 | 12 | 11 | 1 |
काठमाडौं | दक्षिणकाली नगरपालिका | वडा अध्यक्ष | 3 | 4 | 0 | 4 | 3 | 1 |
काभ्रेपलाञ्चोक | धुलिखेल नगरपालिका | वडा अध्यक्ष | 2 | 4 | 0 | 4 | 4 | 0 |
खोटाङ्ग | साकेला गाउँपालिका | वडा अध्यक्ष | 3 | 4 | 0 | 4 | 3 | 1 |
गुल्मी | रुरु गाउँपालिका | वडा अध्यक्ष | 6 | 2 | 1 | 3 | 3 | 0 |
चितवन | भरतपुर महानगरपालिका | वडा अध्यक्ष | 16 | 5 | 0 | 5 | 5 | 0 |
चितवन | खैरहनी नगरपालिका | वडा अध्यक्ष | 4 | 4 | 0 | 4 | 4 | 0 |
चितवन | खैरहनी नगरपालिका | वडा अध्यक्ष | 5 | 4 | 0 | 4 | 3 | 1 |
डोटी | आदर्श गाउँपालिका | वडा अध्यक्ष | 2 | 3 | 1 | 4 | 4 | 0 |
दाङ | घोराही उपमहानगरपालिका | वडा अध्यक्ष | 16 | 5 | 2 | 7 | 6 | 1 |
नवलपरासी
(बर्दघाट सुस्ता पूर्व) |
बुङदीकाली गाउँपालिका | वडा अध्यक्ष | 5 | 3 | 0 | 3 | 3 | 0 |
पर्सा | सखुवा प्रसौनी गाउँपालिका | वडा अध्यक्ष | 5 | 4 | 1 | 5 | 5 | 0 |
पाँचथर | फाल्गुनन्द गाउँपालिका | अध्यक्ष | 8 | 0 | 8 | 7 | 1 | |
पाँचथर | फिदिम नगरपालिका | वडा अध्यक्ष | 1 | 7 | 0 | 7 | 5 | 2 |
पाँचथर | हिलिहाङ गाउँपालिका | वडा अध्यक्ष | 7 | 6 | 0 | 6 | 6 | 0 |
प्यूठान | ऐरावती गाउँपालिका | वडा अध्यक्ष | 1 | 2 | 1 | 3 | 3 | 0 |
प्यूठान | प्यूठान नगरपालिका | वडा अध्यक्ष | 2 | 2 | 0 | 2 | 2 | 0 |
प्यूठान | ऐरावती गाउँपालिका | वडा अध्यक्ष | 2 | 2 | 1 | 3 | 3 | 0 |
बाँके | कोहलपुर नगरपालिका | वडा अध्यक्ष | 6 | 5 | 0 | 5 | 4 | 1 |
बागलुङ | वडिगाड गाउँपालिका | वडा अध्यक्ष | 2 | 3 | 0 | 3 | 3 | 0 |
बाजुरा | त्रिवेणी नगरपालिका | वडा अध्यक्ष | 1 | 3 | 0 | 3 | 3 | 0 |
बारा | बारागढी गाउँपालिका | वडा अध्यक्ष | 1 | 8 | 1 | 9 | 7 | 2 |
बैतडी | दोगडाकेदार गाउँपालिका | वडा अध्यक्ष | 4 | 3 | 0 | 3 | 3 | 0 |
बैतडी | सुर्नया गाउँपालिका | वडा अध्यक्ष | 1 | 2 | 0 | 2 | 2 | 0 |
बैतडी | पुर्चौडी नगरपालिका | वडा अध्यक्ष | 4 | 2 | 1 | 3 | 3 | 0 |
भोजपुर | पौवादुङमा गाउँपालिका | वडा अध्यक्ष | 1 | 3 | 0 | 3 | 2 | 1 |
महोत्तरी | बलवा नगरपालिका | वडा अध्यक्ष | 8 | 5 | 7 | 12 | 11 | 1 |
महोत्तरी | बलवा नगरपालिका | वडा अध्यक्ष | 2 | 5 | 3 | 8 | 8 | 0 |
महोत्तरी | मटिहानी नगरपालिका | वडा अध्यक्ष | 6 | 3 | 3 | 6 | 6 | 0 |
महोत्तरी | पिपरा गाउँपालिका | अध्यक्ष | 11 | 9 | 20 | 17 | 3 | |
मोरङ्ग | धनपालथान गाउँपालिका | वडा अध्यक्ष | 2 | 7 | 0 | 7 | 5 | 2 |
रामेछाप | उमाकुण्ड गाउँपालिका | वडा अध्यक्ष | 5 | 4 | 0 | 4 | 3 | 1 |
रोल्पा | थवाङ गाउँपालिका | वडा अध्यक्ष | 1 | 2 | 1 | 3 | 3 | 0 |
रौतहट | गढीमाई नगरपालिका | वडा अध्यक्ष | 2 | 6 | 5 | 11 | 10 | 1 |
लमजुंग | सुन्दरबजार नगरपालिका | वडा अध्यक्ष | 2 | 4 | 1 | 5 | 5 | 0 |
संखुवासभा | खाँदवारी नगरपालिका | वडा अध्यक्ष | 3 | 2 | 0 | 2 | 2 | 0 |
संखुवासभा | मकालु गाउँपालिका | अध्यक्ष | 6 | 0 | 6 | 5 | 1 | |
सप्तरी | छिन्नमस्ता गाउँपालिका | वडा अध्यक्ष | 7 | 6 | 2 | 8 | 7 | 1 |
सर्लाही | हरिपुर्वा नगरपालिका | वडा अध्यक्ष | 1 | 5 | 2 | 7 | 7 | 0 |
सल्यान | कुमाखमालिका गाउँपालिका | वडा अध्यक्ष | 5 | 3 | 2 | 5 | 5 | 0 |
सिन्धुपाल्चोक | र्इन्द्रावती गाउँपालिका | वडा अध्यक्ष | 8 | 5 | 0 | 5 | 5 | 0 |
सिराहा | कल्याणपुर नगरपालिका | वडा अध्यक्ष | 12 | 8 | 5 | 13 | 13 | 0 |
सुनसरी | धरान उपमहानगरपालिका | प्रमुख | 12 | 11 | 23 | 22 | 1 | |
सुनसरी | धरान उपमहानगरपालिका | वडा अध्यक्ष | 7 | 4 | 0 | 4 | 3 | 1 |
हुम्ला | खार्पुनाथ गाउँपालिका | उपाध्यक्ष | 3 | 0 | 3 | 1 | 2 | |
जम्मा | 217 | 64 | 281 | 255 | 26 |
प्रतिक्रिया 4