
२७ कात्तिक, धरान । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरानमा पञ्चेबाजासहित दलका उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । धरान उपमहानगरपालिकाको मेयर र वडा नम्बर ७ को वडाध्यक्षका लागि उम्मेद्वारहरुले झाँकी र पञ्चेबाजासहित उम्मेद्वारी दर्ता गराएका हुन् ।
मेयरमा मनोनयन दर्ताका लागि पुगेका प्रकाश राईको पक्षमा नेकपा कार्यकर्ताले पञ्चेबाजासहित र्याली निकालेका थिए । त्यस्तै नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले पनि झाँकीसहितको टोली लिएर उम्मेद्वारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यालयले कांग्रेसका लागि ११ बजेदेखि १२ बजेसम्मको समय तोकेको थियो ।
नेकपाका लागि १२ बजेदेखि पछिको समय तोकेको थियो । प्रकाशको उम्मेद्वारी दर्ताका लागि नेकपा नेता भीम आचार्यसहितको टोली पुगेको थियो ।
अन्य साना दल र स्वतन्त्र उम्मेद्वारका लागि भने समय तोकेको थिएन ।
धरान उपमहानगरपालिका प्रमुखका लागि चार स्वतन्त्र र साना दलले उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर ईजम, राप्रपा संयुक्तबाट कुमार बराईली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका छन् ।
धरान उपमहानगरपालिका वडा नं. ७ को वडाध्यक्षमा पदमा कांग्रेसले सुवर्णमोहन पालिखेलाई उम्मेदवार बनाएको छ भने नेकपाले जीवन सुवेदीलाई उम्मेदवार बनाएको छ ।
यसअघि ०७४ को चुनावमा मेयर र वडाध्यक्ष दुबै पद तत्कालीन एमालेले जितेको थियो ।
प्रतिक्रिया 4