Comments Add Comment

म्यानमारमा भडि्कयो हिंसा, मर्नेको संख्या ८९ पुग्यो

रोहिंग्या समुदायको सशस्त्र समुहद्वारा प्रहरी चौकीहरुमा आक्रमण

 


नेपित। म्यानमारको पश्चिम तटीय प्रान्त रखिनेमा शुक्रबारदेखि भड्किएको हिंसामा परी ८९ जना मारिएका छन्, जसमा १२ जना सुरक्षाकर्मी पनि छन् ।

अल्पसंख्यक रोहिंग्या समुदायलाई न्याय दिलाउने बताउँदै सशस्त्र गतिविधि गरिरहेको समूहले हिंसा भड्काएको हो । हिंसाका कारण उक्त प्रान्तमा बसोबास गर्ने रोहिंग्या समुदायको ठूलो संख्या बंगलादेशतर्फ भाग्न थालेको छ ।

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको म्यानमारमा मुस्लिम धर्म मान्ने रोहिंग्या समुदायले लामो समयदेखि अत्याचार खेप्दै आएको छ । बहुसंख्यकहरुको अत्याचार खप्न नसकी थातथलो छाडेर हिँडेका उक्त समुदायका मानिस बंगलादेश, भारत, थाइल्यान्ड, इन्डोनेसियालगायत मुलुकमा शरणार्थी जीवन बिताइरहेका छन् ।

म्यानमारकी नेतृ आङ साङ सुकीको सचिवालयका अनुसार गत वर्षदेखि रखिनेमा सशस्त्र गतिविधि सुरु भएको हो । पछिल्लो हिंसामा मारिने ७७ जना सशस्त्र समुहका सदस्य रहेको दाबी सुकीको सचिवालयको छ ।

हिंसा नियन्त्रणमा लिन सेनाले प्रभावित क्षेत्रमा घेराबन्दी गरेको छ । करिब डेढ सयको संख्यामा रहेका लडाकुहरुले २० वटा प्रहरी चौकीहरुमा आक्रमण गरेका थिए । राइफल, घरेलु विस्फोटक पदार्थको प्रयोग गरेका थिए, लडाकुले ।

सेनाले उनीहरुले बंगाली आतंकवादी बताउने गरेको छ । ‘बंगाली आतंककारीहरु विरुद्ध सेना र प्रहरीले संयुक्त जवाफी कारवाही गरिरहेका छन्,’ म्यानमारका सेना प्रमुख मिन आङ लियाङले फेसबुकमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment