Comments Add Comment

जेठो दाङ, कान्छो गोताम ! (फोटो फिचर)

१२ भदौ, दाङ । भौगोलिकरुपमा निकै टाढाको बस्ती यो हो । देशकै दुर्गम जिल्ला डोल्पासँग जोडिएको रुकुमको यो भूभाग पनि कम्ता दुर्गम छैन ।

यहाँका बासिन्दा रुकुम सदरमुकाम मुसीकोट पुग्दा सदरमुकामवासीले अनौठो मान्दै भन्छन्, ए ! तपाइँ गोतामकोटबाट आएको ? मानौं, गोतामकोट नेपालभन्दा बाहिरकै भूभाग हो ।

सुन्दा जति दुर्गम र हेर्दा जति उपेक्षित छ यो भूभाग, यहाँ पुग्दा त्यति नै मनोरम र सुन्दर पनि छ । त्यसैले यो ठाउँको बारेमा चिनारी दिन स्थानीयस्तरमा एउटा बाक्यांश नै बनाइएको छ- जेठो दाङ, कान्छो गोताम ।

सानो भूभाग भए पनि दाङजस्तै समथर उपत्यका । दाङजस्तै अन्न उत्पादनमा आत्मनिर्भर र सुन्दरताको खानी भएकाले पनि यो ठाउँलाई ‘कान्छो गोताम’ भनिएको स्थानीयवासीको अनुमान छ ।

त्यसो त दाङ मात्र होइन नेपालभरि रहेका गौतम (गोतामे)हरुको उद्गमस्थल भएकाले पनि गोतामकोट थप महत्वपूर्ण र आस्थाको केन्द्र मानिन्छ ।

स्थानीय तह पुनर्संरचना हुनुअघि सिंगो गाविस थियो गोतामकोट । स्थानीय तह पुनर्संरचनापछि आठबीसकोट नगरपालिकाभित्रै समेटिएको छ यो भूभाग । आठबीसकोट नगरपालिकाअन्तर्गत ४, ५ र ६ नम्बर वडामा गोतामकोट पर्छ ।

यति विकट क्षेत्रलाई नगरपालिका घोषणा गर्नु एउटा व्यंग्यजस्तो पनि मानिन्छ तर यहाँका जनप्रतिनिधिहरु स्थानीयवासीलाई नगरकै अनुभूति दिने गरी काम गर्ने बताउँछन् ।

‘धेरैले मान्छे बस्नै नसक्ने विकट होला भन्ने पनि ठान्छन् होला,’ आठबीसकोट नगरपालिका ४ का अध्यक्ष बाबुराम बिष्ट भन्छन्, ‘तर, त्यस्तो होइन, हामी पनि यो ठाउँलाई सुन्दर नगर बनाउन चाहन्छौं ।’

उच्च पहाडी भेगमा पर्ने यस क्षेत्रमा सबै जातजातीका मानिसको बसोबास छ । जातीय विविधताका कारण यहाँ छुवाछुत प्राथा अन्त्य भइसकेको छ ।

रमाइलो त के छ भने यहाँ जातजातिका बेग्लाबेल्लै गाउँ छन् । कोटतिरुवा गाउँ, ठकुरी गाउँ, बिष्ट गाउँ, आरुखोला गाउँ, बाहुनगाउँ, टाँगे गाउँ, दमैबारा गाउँ, पानीकोट गाउँ, मानचौर गाउँ यहाँका मुख्य गाउँ हुन् । मानचौरमा धार्मिकस्थलहरु रहेका छन् भने टिमुर गाउँमा पहिले राजाहरु बस्ने गरेको गाउँले बताउँछन् ।

त्यस्तै यहाँ छहरेखोला गाउँ, काथिना सार्कीबारा गाउँ, मिग्री गाउँ, रिम्का गाउँ, भण्डारी गाउँलगायतका गाउँ रहेका छन् । भूरे टाकुरे राजा रहेको बेला भण्डारीगाउँमा राजाको भण्डारा लगाउने गरिएको यहाँका बूढापाकाहरु बताउँछन् । त्यस्तै मुरीगाउँ, थापागाउँ, मगागाउँ आदिको पनि आफ्नै बिशेषता छ ।

यहाँ जग्गा किनबेचको पनि अनौठो शैली छ । वर्षभरि कति उत्पादन हुन्छ, त्यसको आधा मूल्यमा जग्गा बेचिन्छ, जसलाई मुरीप्रथा भनिन्छ ।

कुनै बेला भूरेटाकुरे राजाको दरबार भएर पनि राज्यबाट निरन्तर उपेक्षामा रहेको यो गाउँ विस्तारै शैक्षिकरुपमा पनि अघि बढ्न खोज्दैछ । अहिले यहाँ दुईवटा माध्यमिक विद्यालय र तीनवटा आधारभूत विद्यालय छन् । कला सँस्कृतिकका दृष्टिले यहाँका गाउँपिच्छे संस्कृतिका धरोहर छन् । फरक-फरक जातिका फरक-फरक गाउँ भएकाले हरेक गाउँ सँस्कृतिका धनी छन् ।

भदौ पूर्णिमामा मिग्रीमा ठूलो मेला लाग्ने गर्छ । गोतामकोटबाट ठूलो भेरी नदी बगेको दृश्य हेर्नुको मज्जा नै छुट्टै छ । त्यहाँबाट भेरी नदी नागबेली आकारमा बगेको त देखिन्छ नै, सँगसँगै नदी तिरमा रहेको छोटे बगर र सुन्दरबजारको दृश्य पनि कम मनमोहक छैन ।

अलि पर डोल्पासँग सिमाना जोडिएको अनाह ज्यूला छ, जो गोदामकोटकै खेतीयोग्य जमीनमध्येको एक हो । यहाँको मुख्य बिशेषता त के हो भने यहाँका बासिन्दाले यहीँकै जमीनबाट उत्पादन भएको अन्नबालीबाट बाह्रै महिना जीविकोपार्जन गर्छन् ।

यहाँ गहुँ, धान, मकै, तोरी, उत्पादन हुने गरेको आठबीसकोट नगरपालिका ५ का अध्यक्ष प्रजित बिक बताउँछन् । उच्च पहाडी भेगमा धान खेती हुनु पनि धेरैका लागि अनौठो लाग्नसक्छ, यहाँ पाखे धानको पर्याप्त उत्पादन हुन्छ ।

भौगोलिकरुपमा जति विकट छ, विस्तारै यहाँ विकासको किरण पनि छिर्दैछ । रुकुम-डोल्पा सडकका कारण यो ठाउँमा विकास चाँडो पुगेको हो । यहाँ पुग्न रुकुम र जाजरकोटको २० किलोमिटर सडकखण्ड प्रयोग गरेर जानुपर्छ, जुन रुकुम-डोल्पा सडकले नै संभव बनाएको हो । यहाँ रुकुम उज्यालो कार्यक्रममार्फत स्थानीय रिजीगाड खोलाबाट ५६ किलोवाटको लघु जलविद्युत सञ्चालन गरेको आठबीसकोट नगरपालिका वडा नम्बर ६ का अध्यक्ष डिल्ली चनेलले जानकारी दिए ।

यहाँ नेपाल टेलिकमको मोबाइल सेवा सहजरुपमा उपलब्ध छ । भू-बनोटका हिसाबले गोतामको पश्चिम जाजरकोट, उत्तर डोल्पा, पूर्वमा चित्रेपाटन र साविक स्यालाखदी तथा दक्षिणमा साविक आठबीसकोट रहेका छन् । आठबीसकोट पहिले गाविस रहे पनि अहिले यसकै नामबाट नगरपालिका बनाइएको छ ।

आयआर्जनका हिसाबले यहाँको मुख्य पेशा यार्सागुम्बा संकलन हो । यहाँका धेरै बासिन्दा डोल्पा र रुकुमकै बुकी लेखमा यार्सा टिप्न जान्छन् । केही भने कमाइ गर्न कालापहाड -भारत) पनि जाने गरेका छन् ।
यो गाउँको बीचबाट घट्टेखोला बगेको छ । यो खोलामा प्रशस्त सामूहिक घट्ट स्थापना गरिएका छन् । यी घट्टहरुले यहाँको सामूहिकपनको अनुभूति पनि गराउँछन् । यहाँका बासिन्दाले पालैपालो यी घट्टमा कुटानीपिसानी गर्छन्, जसमा उनीहरुले कुनै भाडा वा शुल्क तिर्नुपर्दैन ।

यहाँका बासिन्दाले हिमाली क्षेत्रको फाइदा पनि लिन पाएका छन् । भेडा पालन र राडीपाखी बुन्ने काम पनि यहाँको सहायक पेशा बन्ने गरेको छ । उनीहरुले आफूले उत्पादन गरेका बस्तु नजिकको बजार आठबीसकोटमा पुर्‍याएर बिक्री गर्ने गर्छन् ।

लघु जलविद्युतबाट उत्पादन भएको विद्युत नपुगेका गाउँमा सौर्य ऊर्जाको पनि पर्याप्त प्रयोग गरिएको छ । प्राकृतिक सुन्दरता, शान्त र स्वच्छ वातावरणका कारण यहाँको जनजीवन हेर्न जान चाहनेका लागि गोतामकोट नजिकको पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । खेतबारीमा प्रशस्त बालीनाली देखिने, वरिपरि अग्लाअग्ला पहाड, तल कलकल बगेको ठूलो भेरी नदी यहाँका रोमाञ्चक दृश्य हुन् ।

गाउँको मौलिकता हेर्न चाहनेका लागि पनि यो पर्यटकीय गाउँ बन्नसक्छ । यहाँ ढुंगाले छाएका परम्परागत शैलीका घर निकै सुन्दर लाग्छन्, जसमा लगाइएको रातो माटो र कमेरो त अझ यी घरहरुको सौन्दर्यका आकर्षण हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment