Comments Add Comment

अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र

१३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कोही पार्टीको आधिकारिक र कोही अनाधिकारीक नरहेको स्पष्ट पारेको छ ।

क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान हुनुभन्दा केही घण्टा अगाडि पार्टी प्रवक्ता पम्फा भुसालले विज्ञप्ति निकालेर पार्टीका लागि सबै नेता कार्यकर्ता समान रहेको स्पष्ट पारेकी हुन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीको नेतृत्व चयनमा कोही पनि पार्टीको आधिकारिक र अनाधिकारिक नरहेको र सबै विद्यार्थी नेता तथा कार्यकर्ताहरु पार्टीका लागि समान रहेको कुरा हाम्रो पार्टी स्पष्ट गर्दछ ।’

अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयन सकेसम्म सर्वसम्मत होस् भन्ने पार्टीको धारणा रहेको र यदि सर्वसम्मत हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गरियोस् भनेर सुझाव दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

अखिल क्रान्तिकारीको अध्यक्ष पदका लागि अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

अखिल क्रान्तिकारी निर्वाचन समितिका संयोजक रमेश मल्लका अनुसार गएराति अबेरसम्म दर्ता गरिएको उम्मेदवारहरुको नामावली प्रकाशनको तयारी भइरहेको छ । आजै दावी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । आजै मतपत्र प्रकाशन गरी नेतृत्व चयनको निर्वाचन भने बुधबार मात्रै हुने मल्लले बताए ।

‘उम्मेदवारहरु धेरै हुनुहुन्छ । मतपत्र प्रकाशनको चरणसम्म पुग्दा साँझ पर्छ । रातिमा भोटिङ गराउनुभन्दा भोलि नै चुनाव गराउँदा राम्रो हुने देखिन्छ,’ मल्लले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment