+
+

एमाले नेता नेपालसँग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टिकरण

ढुंगा हान्ने राजपालाई सचेत गराइयो

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १३ गते १९:१२


१३ भदौ, काठमाडौं । निर्वाचन आयोगले एमाले नेता माधव कुमार नेपालसँग २४ घण्टे स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत पार्टीको निर्वाचन चिहृन अंकित टोपी लगाएर प्रचार प्रसारमा संग्लन भएको भन्दै आयोगले स्पष्टिकरण मागेको हो ।

बीरगञ्जमा सोमबार आयोजित घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेता-कार्यकर्ताले पार्टीको निर्वाचन चिहृन अंकित टोपी लगाएको पाइएको आयोगले जनाएको छ ।

आयोगको निर्णयमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाव चिन्ह अंकित टोपी लगाई चुनावी प्रचार प्रसारमा संलग्न पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेकपा (एमाले)लाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेउपर कारबाही किन नगर्ने भन्नेसम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने ।’

ढुंगा हान्ने राजपालाई आयोगले सचेत गरायो

आगामी असोज २ गते प्रदेश नम्बर २ अन्तर्गतका ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसार गर्न एमालेसहित राजनीतिक दलका नेताहरु व्यस्त छन् । मंगलबार जनकपुरमा कार्यकर्ता भेलामा सहभागी एमाले नेताहरुमाथि राजपाका कार्यकर्ताहरुले ढुंगा समेत प्रहार गरेका थिए । आयोगले सो घटनाबाट गम्भीर ध्यानाकर्षण भएको भन्दै राजपालाई आइन्दा त्यसो नगर्न सचेत गराएको छ ।

स्वतन्त्ररुपमा निर्वाचन प्रचार प्रसार गर्न पाउने अधिकारको सम्मान गर्न र आइन्दा कुनै राजनीतिक दलविरुद्ध लक्षित विरोधका कार्यक्रम नगर्न आयोगले राष्ट्रिय जनता पार्टीलाई सचेत गराएको छ ।

राजपाका रामबाबु सिंहसँग पनि स्पष्टीकरण माग

निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु सिंहसँग पनि २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ५ मा सिंहको नेतृत्वमा करिब एकसय वटा मोटरसाइकलमा झण्डै २ सय जनाको संख्याले र्‍याली निकालेका थिए । नेता सिंहलाई पनि पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।

यसैगरी सिरहा जिल्लाको गोलबजार नगरपालिकाको मेयरका प्रत्यासी श्याम श्रेष्ठसँग पनि आयोगले २४ घण्टे स्पष्टीकरण मागेको छ । गोलबजार नगरपालिका ७ पुरानो चोहर्वास्थित बुद्धचोकबाट नेकपा एमालेका उम्मेदवार श्याम श्रेष्ठले करिब एक सयवटा मोटरसाइकल, चारवटा ट्याक्टर, पाँचवटा स्कारपियो गाडीसमेत गरी झण्डै साढे दुई सयजनाको र्‍याली निकालेको स्पष्टिकरण मागिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?