Comments Add Comment

ताक्लाकोट नाकासम्म सडक सञ्जाल पुर्याउन पहल

१५ भदौ, धनगढी। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले चीनको ताक्लाकोट नाकासम्म सडक सञ्जाल पुर्याउने विषयमा पहल थालिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले बुधबार यहाँ गरेको पत्रकार सम्मेलनमा मन्त्री बलायरले ७ नं प्रदेशको धनगढी–दिपायल–चैनपुर हुँदै चीनको ताक्लाकोट नाकालाई सडक सञ्जालले जोडेर आवागमन सहज बनाउनेबारे नेपालका लागि चिनियाँ राजदूतसँग केही दिनअघि कुरा भएको जानकारी दिए ।

उहाँले महाकाली नदीमा नेपालको आफ्नै लगानीमा देशकै पहिलो चार लेनको पुल बन्न लागेको र त्यसको शिलान्यास प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार गर्ने कार्यक्रम रहेकोसमेत जानकारी दिए ।

आफ्नो कार्यकालमा यातायात र भौतिक पूर्वाधारका क्षेत्रमा केही न केही नयाँ काम होस् भन्नेतर्फ मन्त्रालय केन्द्रित रहेको बताउँदै उनले भने, “चालक अनुमतिपत्र वितरणको व्यवस्थालाई व्यवस्थित र सहज बनाउन पहल गरेका छौँ ।”

मन्त्री बलायरले नारायणघाट–मुग्लिङ सडकखण्डमा दशैँ अगावै यातायात आवागमन सहज बनाउने गरी काम भइरहेको बताए । गैँडाकोटबाट मुग्लिङसम्मको बैकल्पिक सडक बनाउनेबारे पनि अध्ययन थालिएको मन्त्री बलायरको भनाइ थियो ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले महाकाली नदीमा बन्न लागेको पुल भारत र नेपालको आर्थिक समृद्धिसँग जोडिएकाले यो पूर्वाधार निकै महत्वपूर्ण हुने बताए ।

उहाँले मन्त्रालयले हालैको बाढी तथा डुबानबाट बिग्रे/भत्केका सडकलगायत संरचनाको पुनः निर्माण गरी आवागमनलाई सहज बनाउने कार्यलाई प्राथमिकता दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment