Comments Add Comment

निर्वाचन आयोगले सरकारको काम प्रभावित पार्‍योः उपप्रधानमन्त्री गच्छदार

'क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि चित्तबुझ्दो छैन'

१७ भदौ, सप्तरी । उपप्रधान एवं स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारले निर्वाचन क्षेत्र निर्धारण आयोगले बनाएको नयाँ निर्वाचन क्षेत्रप्रति चित्त नबुझेको बताएका छन् । उनले क्षेत्र निर्धारण गर्दा आयोगका पदाधिकारीहरुले आफूहरुसँग कुनै सरसल्लाह नगरेको गुनासो पनि गरे ।

शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री गच्छदारले तराई/मधेसका जिल्लामा पाँच वटासम्म क्षेत्र घटाएको बताउँदै यसबारेमा आफूले जोडदार रुपमा आवाज उठाउने बताए ।

‘निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारण गर्दा आफूहरुसँग सरसल्लाह, छलफल गरेको छैन,’ उनले भने, ‘आयोगको प्रतिवेदनप्रति हामीहरुलाई चित्त बुझेको छैन ।’

संविधानको मर्म र भावना विपरीत जातिय क्लस्टरलाई भत्काएर निर्वाचन क्षेत्र निर्धारण गरिएको उनको भनाई छ ।

निर्वाचन आयोगले सरकारलाई काम गर्न दिएन

उपप्रधानमन्त्री गच्छदारले निर्वाचन आयोगले पनि सरकारलाई काम गर्न नदिएको बताए । ‘आयोगले तीन महिना अघि नै आचार संहिता लागू गरेर सरकारको कामकाजलाई प्रभावित बनाएको छ,’ उनले भने, ‘यसलाई सच्याउनु जरुरी छ ।’

मुलुकै इतिहासमा अहिलेसम्म यति लामो आचारसंहिता लागू नभएको बताउँदै उनले यसले सरकारकौ दैनिक कामकाजमा समेत प्रभाव परिरहेको बताए ।

नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय अध्यक्ष समेत रहेका गच्छदारले मंसिर २१ गते हुने चुनावका लागि अहिले नै आचार संहिता लागू गर्न उचित नभएको बताए ।

स्थानीय तहको तेश्रो चरणको चुनाव प्रदेश नं. २ मा असोज २ गते हुन लागेको सन्दर्भ उठाउँदै गच्छदारले चुनावपछि अधिकार सम्पन्न स्थानीय तह निर्माणको चरण पूरा हुने विश्वास ब्यक्त गरे । स्थानीय तहको निर्वाचनमा राजनितिक मुद्दाभन्दा पनि विकासको मुद्दालाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले आफूहरु स्थानीय तह निर्वाचनमा जुनसुकै पार्टीसँग चुनावी तालमेल गर्न तयार रहेको बताए ।

पत्रकार सम्मेलनमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, सांसदद्वय डा. सुवोधकुमार पोखरेल, रमणीदेवी राम, युवा फोरमका कार्यवाहक अध्यक्ष रंजित झालगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment