+
+

वीरगञ्जको विरासत कब्जा गर्न दलीय भिडन्त

मधेश आन्दोलनको इपिसेन्टरमा हेभिवेट उम्मेदवारको चर्चा

महेश दास महेश दास
२०७४ भदौ १८ गते २०:१८

१८ भदौ, वीरगञ्ज । मुलुकको औद्योगिक एवं व्यापारिक शहर वीरगञ्ज पछिल्लो समय मधेश आन्दोलनको केन्द्रविन्दुका रुपमा चर्चित छ । मधेश आन्दोलनले के-कति उपलब्धी पायो भन्ने बहस जारी रहँदा वीरगञ्जले भने आन्दोलनबाट ठूलो आर्थिक क्षति भोगिसकेको छ ।

धेरै उद्योगधन्दा यहाँबाट सधैंका लागि विस्थापित भएका छन् । र, यही बेलामा वीरगञ्ज महानगरपालिका बनेको छ र नयाँ मेयरको खोजीमा छ ।

प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्ज चुनावी माहोलमा छपक्कै छोपिएको छ । राष्ट्रिय जनता पार्टीबाहेक अन्य दलका उम्मेदवारले चुनावी प्रचार-प्रसार तथा घरदैलो पनि थालिसकेका छन् । अब वीरगञ्जको मेयर को बन्ला ? बहस यही प्रश्नको वरिपरि घुमिरहेको छ ।

वीरगञ्जको अर्थ राजनीति

नेपालको प्रवेशद्वार तथा मुलुकको कुल राजश्वमा करिब ३५ प्रतिशत योगदान दिँदै आएको वीरगञ्जमा दुई वटा ठूला भन्सार कार्यालय छन् । स्थलमार्ग र रेलमार्गबाट भारतको तेस्रो मुलुकबाट आयात/निर्यात हुने नेपालको एक मात्र शहर हो, वीरगञ्ज ।

तीन महिनाअघि उपमहानगरबाट महानगरपालिकामा बढुवा पाएको हो । प्रमुख पार्टीहरु र मधेशकेन्दि्रत दलहरु यो महानगर कब्जा गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउँदै छन् ।

साविक वीरगञ्ज उपमहानगरमा १९ वटा गाविस समेटिएका थिए । मंसिर ०७१ मा ११ गाविस थपेर २७ वटा वडा बनाइएको थियो । पछि पाँच वटा गाविस थपियो । र, महानगरपालिका बनेपछि ३२ वटा वडा छन् ।

महानगर बनेपछि दोब्बर मतदाता थपिएका छन् । कुल मतदाता एक लाख आठ हजार पाँच सय एक छन् ।

आर्थिक नगरसमेत भएका कारण यहाँको अर्थ राजनीति निकै महत्वपूर्ण हुने गरेको छ । विशेष गरी कांग्रेस, एमाले, राजपा र फोरम नेपाल वीरगञ्जको मेयर जित्ने दौडमा लागेका छन् ।

आयात/निर्यातको मुख्य नाका भएकाले काठमाडौंको लाइफलाइन पनि हो यो ।

कस्तो छ दलीय अवस्था ?

दोस्रो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र १ र २ मा रहेका नगरका वडा र गाविसहरु अहिले महानगरभित्र परेका छन् । दोस्रो संविधानसभामा पर्सा क्षेत्र बाट कांग्रेसका राजेन्द्र अमात्य र २ बाट एमालेका बिचारी यादव विजयी भएका थिए । ती दुवै क्षेत्र अहिले महानगरभित्र पर्छन् ।

कांग्रेसले जितेको क्षेत्रमा एमाले नभई हालको राजपा प्रतिस्पर्धामा थियो । एमालेले जितेको क्षेत्रमा त्रिपक्षीय भिडन्त देखिएको थियो ।

यस्तै, ०४९ को निर्वाचनमा वीरगञ्जको मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । ०५४ को स्थानीय निकायको निर्वाचनमा भने विमलप्रसाद श्रीवास्तवले नेतृत्व गरेको स्वतन्त्र समूहले मेयरलगायत १९ मध्ये अधिकांश वडामा जीत हासिल गरेको थियो । त्यसबेला कांग्रेसले सात र एमालेले ६ वटा वडामा जितेका थिए ।

हाल महानगरमा गाभिएका १६ गाविसमध्ये ०४९ को स्थानीय निर्वाचनमा एमालेलेे सात, कांग्रेसले सात र राप्रपाले दुईमा जितेका थिए । ०५४ को स्थानीय निर्वाचनमा एमाले तीन, कांग्रेस आठ, राप्रपा तीन र अन्य दल दुई गाविसमा विजयी भएका थिए ।

चार पक्षीय टक्कर

राज्यको पुनर्संरचनापछि पहिलो पटक हुन गइरहेको स्थानीय तहको निर्वाचनमा विगतझैं कांग्रेस र एमालेसँगै थपिएका छन्, मधेसकेन्दि्रत राजपा र फोरम नेपाल पनि ।

गणतन्त्र स्थापनायता तराई मधेशमा तीन पटक आन्दोलन भयो । पछिल्लो आन्दोलनमा करिब ६ महिना वीरगञ्जलगायत नाका ठप्प बने ।

पछिल्लो आन्दोलन शहर र नाकामा सीमित थिए, गाउँ-गाउँमा समेत फैलिएको थियो । गाउँ-गाउँबाट हजारौंको संख्यामा दिनहुँ स्थानीय बासिन्दाले शहरमा आई आन्दोलनप्रति ऐक्यबद्धता जनाउँथे ।

हालै मधेशकेन्द्रित ६ वटा दल एक भई राजपा गठन भयो । उक्त गठबन्धनभन्दा बाहिर रहेको फोरम नेपाल पनि संगठन सदृढीकरणका साथै एमाले र कांग्रेसका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराउने दौडमा छ । राजपा र फोरम नेपालले मधेश आन्दोलनताकाबाटै पार्टी प्रवेश सुरु गरी हालसम्म निरन्तरता दिँदै आएका छन् ।

राजपाले आन्तरिक द्वन्द्व र टिकटका आकांक्षीहरुको विवादलाई समाधान गर्न सकिरहेको छैन । वीरगञ्जका पूर्वमेयर विमल श्रीवास्तव र अर्का युवा नेता राजेशमान सिंह दुवैले आ-आफ्ना पक्षमा सडकमै शक्ति प्रदर्शन गरिसकेका छन् ।

आन्दोलनकारीलाई उपेक्षा गरी नवप्रवेशीलाई मात्र उम्मेदवार बनाएकामा कार्यकर्ताबीच देखिएको असन्तुष्टिलाई नियन्त्रण गर्नु फोरम नेपालको मुख्य चुनौती देखिन्छ । यद्यपि, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफैं असन्तुष्टि समाधान गर्न अग्रसर देखिन्छन् ।

मधेशकेन्द्रित दलबाट हुने एमालेविरुद्धको प्रहारबाट कांग्रेसलाई फाइदा पुगेको छ । मधेशकेन्दि्रत तीन दल चुनावी प्रतिस्पर्धामा जानुले मतदाताको ‘सेन्टिमेन्ट’ बाँडिने निश्चित छ । त्यसको फाइदा कांग्रेस र एमालेलाई पुग्नेछ ।

कांग्रेसको चुनौती संगठनलाई एकतावद्ध लिएर जानु, उम्मेदवार चयनमा देखिएको असन्तुष्टि घटाउनु, बागी उम्मेदवार हुन नदिनु र अन्तरघात रोक्नु हो । यस्तै, मधेश विरोधीको आरोप खेपिरहेको एमालेका लागि ती आरोप चिर्नुपर्ने चुनौतिबाहेक आन्तरिक रुपमा खासै समस्या देखिँदैन ।

टिकटमा असन्तुष्ट भएका सुन्दर कुर्मी यसअघि नै फोरम नेपालमा प्रवेश गरिसकेकाले एमालेले मधेशकेन्दि्रत दलका प्रभावशाली व्यक्तिलाई पार्टी प्रवेश गराएर वडा र गाउँपालिकामा टिकट दिने रणनीति अपनाएको देखिन्छ ।

यस्ता छन् मेयरका उम्मेदवार

महानगरपालिकाको मेयरको उम्मेदवार सबैभन्दा पहिला एमालेले टुंग्यायो । उक्त पार्टी अहिले आक्रामक प्रचारमा देखिन्छ । एमालेले तीन महिनाअघि माओवादी केन्द्र छाडेर आएका बसरुद्दिन अन्सारीलाई उम्मेदवार बनाएको छ ।

नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशकसमेत रहेका अन्सारी दोस्रो संविधान सभा निर्वाचनमा माओवादी केन्द्रबाट पर्सा २ का उम्मेदवार थिए । निर्वाचनमा अन्सारीले ६ हजार दुई सय मत ल्याएका थिए ।

शैक्षिक गतिविधी र सामाजिक कार्यमा सक्रिय रहँदै आएका अन्सारी वीरगञ्ज महानगरपालिकाको प्रसौनी विर्ताका बासिन्दा हुन् । २८ हजार मुस्लिम मतमा एमालेले सोही समुदायका उम्मेदवार उठाएर सेन्टिमेन्ट क्यास गर्ने रणनीति बनाएको प्रष्ट हुन्छ ।

एमालेबाट उपमेयरकी उम्मेदवार सोफिया आचार्य छिन् । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्रकी उपप्राध्यापक आचार्य राजीनामा गरेर चुनावी मैदानमा उत्रिएकी छन् । बुद्धिजीवी संगठनमा रहिसकेकी उनी वीरगञ्ज रानीघाट निवासी हुन् ।

एमालेको भातृ संगठन अनेमसंघ र ठाकुरराम क्याम्पसमा प्रगतिशील प्राध्यापक संगठनमा समेत सक्रिय थिइन् उनी । र, एमाले पर्साका पूर्वअध्यक्ष चिरञ्जीवी आचार्यकी पत्नी हुन् ।

कांग्रेसले पूर्वसभासद तथा जिल्ला सभापति अजयकुमार द्विवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । वीरगञ्ज उपमहानगरपालिकाको उपमेयर भइसकेका द्विवेदी पहिलो संविधानसभामा पर्सा २ बाट विजयी भएका थिए । उनी दोस्रो संविधानसभाको निर्वाचनमा सोही क्षेत्रबाट एमालेका बिचारी यादवसँग पराजित भए ।

विद्यार्थी राजनीतिबाट आएका द्विवेदी बौद्धिक र तार्किक नेताका रुपमा वीरगन्जमा स्थापित छन् । उपमेयरको उम्मेदवारमा विवाद बढेका कारण कांग्रेसले व्यक्ति तोक्न सकेको छैन ।

फोरम नेपालले पाँच महिनाअघि पार्टी प्रवेश गराएका व्यापारिक घराना सरावगी गु्रपका अध्यक्ष विजय सरावगीलाई मेयरको उम्मेदवार बनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेका सरावगी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

प्रतिष्ठित घरानाबाट उदाएका सरावगी सामाजिक र धार्मिक कार्यमा सक्रिय रहँदै आएका छन् । फोरम नेपालले उपमेयरको उम्मेदवार पिंकी यादवलाई बनाउने निर्णय गरेको छ । यादव मधेश आन्दोलनमा सक्रिय थिइन् । उनी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवकी पत्नी हुन् ।

माओवादी केन्द्रले ३१ वर्षीय रहबर अन्सारीलाई मेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रको जिल्ला सदस्य तथा केन्द्र निकट मुस्लिम मोर्चाका केन्द्रीय सदस्य हुन् उनी । विदेशबाट अध्ययन गरी फर्किएका अन्सारी गण्डक अस्पतालका निर्देशक हुन् ।

सामाजिक सञ्जालमा उनको उम्मेदवारीले निकै चर्चा पाएको छ । युवामाझ लोकपि्रय देखिन्छन्, उनी । माओवादी केन्द्रले पनि उपमेयरको उम्मेदवार टुंगो लगाएको छैन ।

नेपाल लोकतान्त्रिक फोरमले उम्मेदवार घोषणा गरेको छैन । फोरम नेपाल र राजपाका असन्तुष्टका साथै कांग्रेस र एमालेका विद्रोहीहरुलाई लिएर उम्मेदवारी दिने रणनीति उनी पार्टीको देखिन्छ । राप्रपाले पनि उम्मेदवार चयन गरेको छैन ।

राजपामा उम्मेदवारीका लागि भिडन्त

मेयर उम्मेदवार तय गर्न सबैभन्दा बढी सकस राजपामा देखा परेको छ । राजपाले चुनावको आन्तरिक तयारी धेरै पहिलेदेखि गरे पनि गत साता मात्र चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेर उम्मेदवार छनोट शुरु गरेको छ ।

सुरुमा आठ जिल्लामा आठ पर्यवेक्षकहरु १३ भदौसम्मको अवधि लिएर पर्सा आएका थिए । पछि ६ जनाको विशेष टोली पनि आयो । केन्द्रीय पर्यवेक्षकले जिल्ला टेकेकै दिन कार्यकर्ताबीच भिडन्तको स्थिति सृजना भएको थियो ।

केन्द्रीय पर्यवेक्षकको टोली वीरगञ्जमै डेरा जमाएर बसेको छ । सहमतिबाट उम्मेदवार चयन गर्ने प्रयास भइरहेको टोलीका एक सदस्यले बताए ।

राजपाका महासचिवद्वय विमलप्रसाद श्रीवास्तव र राजेशमान सिंहले मेयरमा सशक्त दाबेदारी गर्दै आएका छन् । दुईमध्ये कसैले पनि पछि हट्ने संकेत दिएका छैनन् । दुवै आकांक्षी मेयरको उम्मेदवार भन्दै आफ्ना नजिकका नेता-कार्यकर्तालाई चुनावी मैदानमा उतारिसकेका छन् ।

विमलप्रसाद श्रीवास्तव वीरगञ्ज नगरपालिका हुँदै उपमहानगरपालिकासम्म चार पटक मेयर भइसकेका छन् । विकासप्रेमीका रुपमा वीरगञ्जवासीबीच चिनिन्छन्, उनी ।

पञ्चायतकालदेखि ०५४ को स्थानीय निर्वाचनसम्म चुनाव लड्दा उनी ०४९ मा मात्र पराजित भएका थिए । उनी स्थानीयस्तरमा स्वतन्त्र समूह बनाएर मेयरमा विजयी भएका थिए । श्रीवास्तव पहिलो र दोस्रो संविधानसभामा पर्सा १ मा पराजित भएका थिए ।

राजपाका अर्का प्रमुख आकांक्षी राजेशमान सिंह वीरगञ्ज उपमहानगरपालिकाको वडा ३ बाट नगर परिषद् सदस्य निर्वाचित भई त्यसको अध्यक्ष पनि भइसकेका छन् । ०५४ सालमा श्रीवास्तवले नेतृत्व गरेको स्वतन्त्र समूहमा रहेका सिंह श्रीवास्तवका नजिकका मानिन्थे ।

दुवैको व्यापारमा साझेदारीसमेत थियो । तर, व्यापारिक साझेदारीमा समस्या भएपछि दोस्रो संविधानसभा निर्वाचनअघि उनीहरु अलग भएका थिए । सिंह दोस्रो संविधानसभामा पर्सा १ बाट उम्मेदवार बनेका थिए ।

राष्ट्रिय मधेश समाजवादी पार्टीबाट सिंह र तमलोपाबाट श्रीवास्तवले उम्मेदवारी दिँदा त्यसको फाइदा कांग्रेसले उठाएको थियो । सिंह पछिल्लो मधेश आन्दोलनमा सबैभन्दा बढी चर्चित नेता बन्न पुगे । जुझारु र यूवामाझ लोकपि्रय सिंह पछिल्लो समय सुदृढीकरण र पार्टी प्रवेश गराउने काममा दिनरात लागिपरेका छन् ।

राजपामा यी दुई उम्मेदवारको द्वन्द्वले नोक्सान हुने बताउँदै वरिष्ठ उपाध्यक्ष सुरेन्द्र कुर्मीलाई मेयर उठाउनु पर्ने दबाब बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?