Comments Add Comment

यी ९ जना महिला वैज्ञानिक नजन्मिएको भए !

ग्रेस होपर

विश्व इतिहासका महानतम् आविष्कारकहरुको नाम लिनुपर्दा तपाईंले अवश्य पनि थोमस अल्वा एडिसन, ग्राहम बेल, लियोनार्दो दा भिन्ची आदिको नाम लिनुहुन्छ होला ।

तर के तपाईंलाई मेरी एन्डरसन तथा एन सुकामोटोको बारेमा थाहा छ ?

तपाईंले उनीहरुका बारेमा कहिल्यै थाहै नपाउनुभएको हुनसक्छ । तर यी दुई महिला वैज्ञानिकहरुले आविष्कारले तपाईं हाम्रो जीवनलाई निकै सहज बनाइरहेको छ ।

दुनियाका यस्तै ९ जना महिला वैज्ञानिकहरु जसको आविष्कारले मानव जीवनमा महत्त्वपूर्ण प्रभाव पारेको छ, ती यहाँ प्रस्तुत गरिएका छन्ः
१. कम्प्युटर सफ्टवेयर–ग्रेस होपर 

दोश्रो विश्वयुद्धको समयमा अमेरिकी जलसैनिकमा आबद्ध भएकी ग्रेस होपरले सन् १९५० सम्मै कप्युटर प्रोग्रामिङमा काम गरिन् ।

उनले तयार गरेको कम्पाइलरले निर्देशनहरुलाई यस्तो कोडमा बदल्थ्यो जसलाई कम्प्युटरले बुझ्न सक्थ्यो । यसले कम्प्युटर प्रोग्रामिङलाई सजिलो बनायो र कम्प्युटर प्रयोगको तरिका पनि बदलियो ।

डी बगिंग भन्ने शब्दावली पनि उनले नै सिर्जना गरेकी हुन्, जुन आज पनि प्रयोग हुन्छ । उनलाई अमेजिङ ग्रेसको नामले चिनिन्छ ।

२. कलर आइडी तथा कल वेटिङ– डाक्टर शेर्ली एन ज्याक्सन

डाक्टर ज्याक्सन अमेरिकी सैद्धान्तिक भौतिकशास्त्री थिइन् । उनले सन् १९७० मा जुन अनुसन्धान गरिन् त्यो कलर आइडी तथा कल वेटिङ प्रविधि तयार गर्नमा काम लाग्यो । टेलिकम्युनिकेसनमा उनको आविष्कारका कारण पोर्टेबल फ्याक्स, फाइबर अप्टिक केबल्स तथा सोलार सेल बनाउन पनि मद्दत पुग्यो । म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट पिएचडी हासिल गर्ने उनी पहिलो अफ्रिकी–अमेरिकी महिला हुन् ।

३. विन्डस्क्रिन वाइपर– मेरी एन्डरसन:

सन् १९०३ को जाडोयाममा मेरी एन्डरसन न्यूयोर्क गएकी थिइन् । उनले त्यहाँ गाडी चलाइरहेका ड्राइभरहरुले बारम्बार गाडीको झ्याल खोलेर अगाडिको सिसा अर्थात् विन्डस्क्रिन सफा गरिरहेको देखिन् । त्यसो गर्दा कारमा बसिरहेका यात्रुहरुले जाडो महसुस गर्थे । त्यसपछि उनले एक चित्र बनाएर रबर ब्लेडवाला वाइपरको अवधारणा तयार गरिन् जसलाई कारको भित्रबाटै चलाउन सकिन्थ्यो ।

सन् १९०३ मा उनले आफ्नो यस डिभाइसका लागि पेटेन्ट अधिकार समेत प्राप्त गरिन् । तर कार कम्पनीहरुले भने सुरुमा यस्तो वाइपरले ड्राइभरको ध्यान भंग गर्ने भन्दै त्यस्तो डिभाइसलाई कारमा राख्न अस्वीकार गरेका थिए । त्यसैले मेरीलाई उक्त आविष्कारले तत्काल फाइदा त भएन तर अहिले हरेक गाडीमा अनिवार्य रुपमा यस्तो वाइपर लगाइएको हुन्छ ।

४. अन्तरीक्ष स्टेशनको ब्याट्री– ओल्गा डी गोन्जालेज, सनाब्रिया

पुर्टोरिकोकी ओल्गा डी गोन्जालेजले निकेल–हाइड्रोजन ब्याट्रीको आविष्कार गरेकी हुन् । त्यस्तो ब्याट्रीको आयू लामो हुन्थ्यो । त्यसलाई अन्तरीक्ष स्टेसनमा उर्जाका लागि प्रयोग गरिएको थियो । ओल्गा अहिले नासामा इन्जिनियरिङ निर्देशक छिन् ।

५. डिशवाशर–जोसफिन कोक्रेन

कोक्रेनलाई यस्तो मेसिनको इच्छा थियो जसले कामदारहरुले भन्दा पनि छिटो भाँडा धुन सकोस् र भाँडालाई नोक्सान पनि नपूराओस् । उनले यस्तो मेसिन बनाइन् जहाँ तामाको ब्वाइलरको तल घुम्ने पांग्रा राखिएको थियो । यो पानीको चापले काम गर्ने पहिलो डिशवाशर थियो ।

कोक्रेनका पति जँड्याहा थिए र उनले कोक्रेनलाई ऋण लगाइदिएर छाडेका थिए । तर कोक्रेनले सन् १८८६ मा यो भाँडा धुने मेसिनको पेटेन्ट आफ्नो नाममा दर्ता गरिन् र यो मेसिन उत्पादन गर्ने कारखाना नै खोलिन् ।

६. घर सुरक्षा प्रणाली– मेरी वान ब्रिटन ब्राउन


मेरी नर्स थिइन् र घरमा प्रायः एक्लै हुन्थिन् । उनलाई आफैंलाई सुरक्षित राख्ने एउटा आइडिया आयो । उनले आफ्नो पति अल्बर्टसँग मिलेर सन् १९६० मा पहिलो होम सेक्योरिटी सिस्टम तयार पारिन् । त्यसमा मोटरबाट चल्ने एक क्यामरा थियो जो एक छिद्रको माध्यमबाट ढोकाको तलमाथि घुम्दथ्यो । उनको बेडरुममा एउटा मनिटर लगाइएको हुन्थ्यो, जसका साथमा अलार्म पनि हुन्थ्यो ।

७. स्टेम सेल आइसोलेसन– एन सुकामोटो


सुकामोटोको स्टेम कोषीका छुट्टाउने आविष्कारलाई सन् १९९१ मा पेटेन्ट प्रदान गरियो । सुकामोटोको आविष्कारले क्यान्सर रोगीको रक्त प्रणाली बुझ्ने मौका मिल्यो र क्यान्सर रोगको उपचारमा पनि सहयोग पुग्यो । उनले स्टेम कोषिकाको विकाशमा अझै पनि अनुसन्धान गरिरहेकी छिन् । उनले अन्य कैयन् आविष्कारमा पनि आफ्नो पेटेन्ट दर्ता गराइसकेकी छिन् ।

८. केब्लार–स्टेफनी क्वोलेक

रसायनशास्त्री स्टेफनीले हलुका फाइबरको आविष्कार गरिन् जुन आज बुलेटप्रुफ ज्याक तथा कवच बनाउनमा प्रयोग हुन्छ । यो पदार्थ स्टिलभन्दा पाँच गुणा मजबुत हुन्छ । सन् १९६५ देखि अहिलेसम्म यसले धेरैको ज्यान बचाइसकेको छ र दैनिक लाखौं मानिसले यसको प्रयोग गर्दछन् । घरमा प्रयोग हुने सामानदेखि मोबाइल फोन र हवाइजहाज सम्ममा यसको प्रयोग भैरहेको छ ।

९. मोनोपोली– एलिजाबेथ म्यागी

प्रायः चाल्र्स डेरो नामक व्यक्तिलाई सबैभन्दा लोकप्रिय बोर्ड गेम मोनोपोलीको आविष्कारको श्रेय दिइन्छ । तर वास्तवमा यो गेम सबैभन्दा पहिले एलिजाबेथ म्यागीले तयार गरेकी हुन् । म्यागी एक गेमको सहायताले पुँजीवादको समस्या देखाउन चाहन्थिन्, जसमा खेलाडीले नक्कली पैसा तथा सम्पत्तिको विनिमय गर्न सक्दथे । सन् १९०४ मा द ल्याण्डलर्डस् गेमको नामबाट उनले उक्त डिजाइनको पेटेन्ट गराइन् । वास्तवमा चाल्र्स डेरोले उनै एलिजाबेथबाट ५ सय डलर मूल्यमा उक्त पेटेन्ट खरीद गरेको खुलासा पछि भएको थियो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment