Comments Add Comment

आपूर्ति सचिवले ‘हरुवा चरुवा होइनौं’ भनेपछि हंगामा

आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा

२३ भदौ, काठमाडौं । ग्यास बुलेटबारे छलफल गर्न संसदीय समितिमा पुगेका आपूर्ति सचिवले ‘हामी हरुवा चरुवा होइनौं’ भनेपछि हंगामा भएको छ । बैठक निर्धारित एजेण्डा भन्दा आफ्नो अभिव्यक्तिमा केन्द्रित भएपछि सचिव कृष्णप्रसाद देवकोटाले माफी नै मागेका छन् ।

संसद अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली ग्यास बुलेट लामो समयसम्म सञ्चालनमा नआएको सम्बन्धमा छलफल गर्न शुक्रबार बैठक बोलाएको थियो । भूमिसुधार मन्त्रालयबाट हालै मात्र आपूर्तिमा सरुवा भएका सचिव देवकोटाले बैठकका लागि हिजो बिहीबार मात्र सूचना पाएका रहेछन् ।

आफूले तीन दिन अघिमात्र आपूर्ति मन्त्रालयको सचिवको कार्यभार सम्हालेको र मन्त्रालयको पूरै जानकारी लिन नपाउँदै बैठकमा बोलाइएको भन्दै उनले रोष प्रकट गरे ।

शुक्रबारको बैठकमा उपस्थित हुन अघिल्लो दिन मात्र आफूले सूचना पाएको भन्दै उनले भने, ‘म हरुवा चरुवा होइन, तपाईहरुले जतिबेला चाहृयो उतिबेला समितिमा जवाफ दिन आईपुग्ने । राज्यको जिम्मेवार अधिकारी हुँ, उपयुक्त समय मिलाएर मात्र बोलाउनुहोला ।’

बस्, के चाहियो ! सांसदहरु मात्र होइन, बैठकको अध्यक्षता गरिरहेका आपूर्ति उपसचिव सुभाषचन्द्र ठकुरीले समेत सचिव देवकोटाको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

समितिका सदस्य दीपक कार्कीले सचिवको अभिव्यक्तिले समितिको मर्यादामा चोट पुगेको भन्दै दुःख व्यक्त गरे । ‘चार वर्ष भयो आजसम्म समितिको मर्यादामा खलल पुर्‍याउने काम कसैबाट भएको थिएन,’ कार्कीले प्रश्न गरे, ‘के संसदीय समिति सचिव मातहतको हो ?’

समितिका अर्का सदस्य नारायणबहादुर कार्कीले सचिवले समितिको मर्यादामा आँच पुर्‍याउने अभिव्यक्ति दिएको बताउँदै आपत्ति प्रकट गरे । समितिलाई होच्याउने अभिव्यक्ति नदिन सचिवलाई चेतावनी दिँदै उनले भने, ‘तपाईंको जस्तो भाषा प्रयोग गर्न हामीलाई पनि आउँछ ।’

सांसद राज्यलक्ष्मी श्रेष्ठले त सचिव देवकोटालाई आपूर्ति मन्त्रालयबाट अन्यत्रै सरुवा हुन सुझाइन् । ‘काम गर्न सक्नुहुन्न भने सरुवा भएर अन्तै जानुस्,’ उनले भनिन्, ‘अरुले काम गर्छ ।’

समितिमा व्यापक आलोचना भएपछि सचिव देवकोटाले आफ्ना अभिव्यक्ति फिर्ता लिएका छन् । ‘सार्वभौम संसदको मर्यादाप्रति म सजग छु,’ उनले भने, ‘संसदलाई होच्याउने मेरो उद्देश्य हैन ।’

‘आपूर्ति सचिवलाई गाली गर्नु भएको भए त्योसम्म ठीकै हुन्थ्यो,’ उनले अघि भने, ‘तर, व्यक्ति तोकेरै मलाई नै गैरजिम्मेवार भन्नुभयो, यसप्रति मलाई दुःख लागेको छ ।’

उपसमितिका संयोजक सुभाषचन्द्र ठकुरीले सचिवको अभिव्यक्तिले बैठक तिक्ततापूर्ण भएको बताए । उनले सार्वभौम संसदप्रति जवाफदेही हुन पनि सुझाए ।

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्री तहमा नसल्टिएको विषयमा सचिवलाई र्‍याखर्‍याख्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment