Comments Add Comment

महानगरले आँखा चिम्लिएको भवन निर्माण अवैध ठहरियो

२५ भदौ, काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा बन्दै गरेको भवन अवैध रुपमा निर्माण भएको भेटिएको छ ।

काठमाडौं महानगरपालिका-२५ स्थित कित्ता नं. ९४२ को ६२७.९८ वर्ग मिटरमा महर्जन विजनेश एसोसिएट्स प्रालिले भवन बनाइरहेको छ । यो भवन अवैध भएको भन्दै उजुरी पर्दा पनि काठमाडौं महानगरपालिका मौन बसेको थियो ।

तर, महानगरकै इन्जिनियर हिक्मत सिंह कठायतको समेत संलग्नता रहेको अध्ययन टोलीले उक्त भवन मापदण्ड विपरित बनेको निष्कर्ष निकालेको छ । अध्ययन कार्यदलमा उपत्यका विकास प्राधिकरणका र पुरातत्व विभागका प्रतिनिधि पनि थिए ।

कार्यदलले उक्त भवनको बेसमेन्ट र उचाई दुवै अवैध भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । ‘पुरातत्व विभागको संरक्षित क्षेत्रभित्र भवन निर्माणसम्वन्धी मापदण्ड २०६४ र स्वीकृत नक्सा बिपरित बेसमेन्ट बनेको छ,’ अध्ययन टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको प्रतिवेदनमा भनिएको छ ।

अवैध रुपमा भवन बनेको भन्दै स्थानीयबासीले पटक-पटक महानगरमा जानकारी गराएका थिए ।

यसरी उजुरी आए पश्चात महानगरपालिकाले नगर प्रहरी लगाएर निर्माण रोक्नु पर्ने हो तर, जनप्रतिनिधिले बेवास्ता गरेपछि स्थानीयबासी प्रशासनमा पुगेका थिए । स्थानीय गणपतीलाल श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मैले मेयरलाई पटक-पटक भनेको छु । तर, सुनुवाई नभएकाले अरुलाई गुहार्न गएका हौं ।’

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य भने यसबारे आफूलाई औपचारिक जानकारी नआएको बताउँछन् । ‘मैले सुनेको थिएँ तर, औपचारिक रुपमा यहाँ यस्तो भवन अवैध रुपमा निर्माण भयो भनेर उजुरी आएको छैन,’ शाक्यले अनलाइनखबरसँग भने, ‘यो पुरातत्वको भएकाले पनि मैले चासो नदिएको हो ।’

बसन्तपुर पुरातात्विक क्षेत्र भएपनि भवनको नक्सा स्वीकृत गर्ने र त्यसअनुसार काम भए-नभएको अनुगमन गर्ने जिम्मेवारी महानगरकै हो ।

जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भवन निर्माणमा रोक लगाउनुका साथै अध्ययन टोली बनायो । टोलीले २१ गते आफ्नो रिपोर्ट बुझाएको छ ।

यसबारे सरोकारवालासँग छलफल गर्न बाँकी रहेको काठमाडौका प्रमुख जिल्ला अधिकारी दिनानाथ शर्माले जानकारी दिए । उनले भने, ‘रिपोर्ट आएको छ तर, मैले खोलेर हेर्न पाएको छैन । रिपोर्टबारे सरोकार निकायसँग छिट्टै छलफल चलाउँछु ।’

सम्पदा क्षेत्र नजिकै ‘बेसमेन्ट’ अर्थात अण्डर ग्राउण्डसहित भवन निर्माण गर्न पाइँदैन । प्राचीन स्मारक संरक्षण ऐन २०१३ को ८ नम्बर दफामा प्राचीन स्मारक संरक्षणका लागि जमिन खन्न नदिने भनेर उल्लेख गरिएको छ ।

त्यस्तै हनुमानढोका संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड ०६४ अनुसार यस्ता सम्पदा क्षेत्र नजिक ३५ फिटभन्दा बढी उचाई भएको भवन बनाइन पाइँदैन । तर, यो भवन ३५ फिटभन्दा अग्लो बनिसकेको छ ।

यो पनि पढ्नुस् 

वसन्तपुरमा अतिक्रमणः मन्दिर नजिकै निजी संरचना ठडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment