Comments Add Comment

नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको चौथो महाधिवेशन पोखराको लुम्लेमा


२५ भदौ, पोखरा । नेपाल फिजिकल टे्रनिङ एशोसिएसनको चौथो महाधिवेशन पोखराको लुम्लेमा सुरु भएको छ ।

महाधिवेशनको पोखरास्थित भारतीय पेन्सन क्याम्पका प्रमुख कार्यकारी अधिकृत लेफि्टनेन्ट कर्णेल प्रतिक शर्माले उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै शर्माले फिजिकल टे्रनिङ सेन्टरहरुले लाहुरे हुनको लागि फिजिकल्ली बलियो बनाउने मात्र नभई अनुशासन सिकाउँदै युवाहरुमा केहि गरौं भन्ने भावनासमेत विकास गराउन भूमिका खेलेको बताए ।

उनले फिजिकल टे्रनिङ लाहुरे हुनका लागि मात्र नभई सफलता चाहने सबैका लागि आवश्यक हुने बताए । बेरोजगार युवाहरुलाई तालिम दिएर लाहुरे बनाउने र लाहुरे भर्ती हुन नसक्नेलाई पनि स्वदेशमै केहि गर्नसक्ने बनाएको भन्दै यसले सामाजिक उत्तरदायित्व बहन गरिरहेको बताए ।

शर्माले भारत सरकारले भूपू लाहुरेहरुका लागि अहिले पेन्सन सुविधा राम्रो बनाउनुका साथै मेडिकललगायतमा सुविधा प्रदान गरिरहेको बताए ।

एशोसियसनका प्रमुख संरक्षक रामप्रसाद गुरुङले फिजिकल टे्रनिङ सेन्टरले फिजिकल्ली बलियो बनाउँदै अनुशासन सिकाउने, परिश्रम गर्न सिकाउने र तौल घटाउनेपनि काम गरिरहेको बताए ।

उनले लाहुरेमा भर्ती हुन नसकेकोहरुलाई सीप सिकाएर यहिं जागिर वा स्वरोजगार गर्नसक्ने बनाउनेतर्फ टे्रनिङ सेन्टरहरुले ध्यान दिनुपर्ने बताए ।

संरक्षक यम गुरुङले गोर्खालीको पहिचान जोगाउन सक्नेगरी अनुशासनसहितको फिजिकल टे्रनिङ दिइनुपर्नेमा जोड दिए । उनले टे्रनिङ एशोसियसनहरुले अस्वस्थ प्रतिष्पर्धा गर्ने र आपसमा नै दोषारोपण नगर्न आग्रह गरे ।

फोनिज कास्कीका अध्यक्ष मानबहादुर घर्ती -एमबी आस्था)ले टे्रनिङ एशोसियसनहरुले युवाहरुलाई जीवन जिउने कला दिएको बताए । उनले भने,’तपाईंहरुलाई युवाहरु विदेश पलायन गराउन भूमिका खेलेको आरोप लाग्ने गरेको छ, तर युवाहरुलाई जीवन जिउने कला दिएको पनि भुल्न हुँदैन ।

एशोसियसनका केन्द्रीय अध्यक्ष मिनराज गुरुङले भारतीय आर्मीमा दोहोरो मापदण्ड तोक्दा नेपाली युवाहरु भर्ती हुनबाट बञ्चित भएको गुनासो गरे ।

पहिले ८ विषय मध्ये कुनै एकमा ३२ अंक आएर एसएलसीमा उत्तीर्ण भएपनि भर्ती हुन पाउने नियम भएपनि हाल आएर समग्रमा ४५ प्रतिशत अनिवार्य र कुनै एक विषयमा कम्तिमा ३३ अंक ल्याउनै पर्ने नियम बनाएपछि धेरै युवा भर्ती हुनबाट बञ्चित भएकाले त्यसलाई पहिलेकै नियम लागु गर्न आग्रह गरे ।

हाल एसएलसी उत्तीर्ण युवाहरु बाँकी नै रहेकाले यसलाई सच्याएपनि ग्रेडिङ सिस्टम पूर्ण रुपमा लागू भएपछि भने कुनै समस्या नहुने उनको भनाइ थियो ।

महाधिवेशनमा देशभरका करीब ७० प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहेको छ । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment