+
+

एमालेकरण नगर्न तिलोत्तमाका नगरप्रमुखलाई ११ दलको चेतावनी

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ भदौ २६ गते १६:४८

२६ भदौ, वुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेकरण भएको भन्दै क्रियाशील ११ वटा राजनैतिक दलहरु बिरोधमा उत्रिएका छन् ।

जनप्रतिनिधिहरुले स्थानीय तहको सुशासनको सिद्धान्तलाई लत्याउदै, क्षेत्रीय, जातीय लैंगिकता, धार्मिक, भौगोलिक लगायतमा समावेशी मूल्य मान्यतालाई अस्वीकार गर्दै दलगत स्वार्थमा रही एकलौटी रुपमा अघि बढेको भन्दै ११ दलले बिरोध गरेका हुन् ।

नगरपालिकामा ध्यानाकर्ष पत्र बुझाउँदै कांग्रेस नगरसभापति हरिलाल पाण्डे,माओवादी केन्द्रका नगर अध्यक्ष लक्ष्मण खनाल र राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही अध्यक्ष झमबहादुर गुरुङले नगरपालिकामा एकलौटी गर्न खोजिएको भन्दै यस्ता गतिविधीहरु नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई बुझाइएको ज्ञापन पत्रमा १० बुँदे असहमतिका विषयमा ध्यानाकर्षण गरिएको छ ।

तिलोत्तमा नगरपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा मेयर उपमेयरसहित बहुमत पदमा विजयी हासिल गरेको थियो ।

उनीहरुले नगरको योजना तर्जुमा, वाषिर्क नीति तथा कार्यक्रम निर्माण गर्दा अन्य दललाई बेवास्ता गरी एकलौटी ढंगवाट बजेट तर्जुमा गरेपछि अन्य दलहरु आक्रोशित भएका हुन् ।

लक्षित समुदायलाई खर्च गर्नुपर्ने बजेट आवश्यक रुपमा विनियोजन नगरेको, उपभोक्ता समिति गठनमा एमालेकरण गरेको, आस्थाको आधारमा नगरपालिकाका कर्मचारीलाई दुव्र्यवहार तथा निष्कासन गर्ने गरेका ११ दलले आरोप लगाएका छन् ।

यस्तै सरकारले नगर क्षेत्रमा निर्माण गर्ने गरी प्रस्तावित मेडिकल कलेजको जग्गा सर्वदलीय सहमतिमा २०० विगाहा जग्गा छुटाइएको भनिए पनि सो नगरिएको र नगर क्षेत्रमा बनाइएको छाडा चौपाए संरक्षणको गौशालाको संचालनका दायित्व बहन नगरेको ११ दलको भनाइ छ ।

ज्ञापनपत्र बझेपछि नगरप्रमुख बासुदेव घिमिरेले संचारकर्मी माझ साविकका ७ वटा गाउँपालिका मिलाएर बनाइएको नगरपालिकामा सबै दलको भावनाको कदर गरी काम गरिने बताउँदै प्रथम नगरसभामा भएका कमजोरीलाई आगामी दिनमा दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हस्ताक्षरसहित संयुक्त ज्ञापनपत्र बुझाउनेहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र,राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, जनमोर्चा नेपाल, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, नेकपा, नेकपा माक्र्सवादी र नयाँ शक्ति पार्टी नेपाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?