Comments Add Comment

को बन्ला गरुडाको पहिलो मेयर ?

ईन्नु राय यादव, शेष कलिमुल्लाह र विपिन जयसवाल (वायाँबाट क्रमशः) ।

२८ भदौ, रौतहट । स्थानीय तह निर्वाचनका लागि रौतहटको मध्यबजार गरुडाको माहोल निकै तातेको छ । जिल्लाको तेश्रो नगरपालिका गरुडा नगरपालिको पहिलो मेयरको रुपमा नाम राख्ने होड उम्मेदवारहरुकोबीच बढेको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरु प्रचार प्रसार अभियानलाई तिव्र बनाएका छन् । गरुडामा संघिय समाजवादी फोरम नेपाल, नेकपा एमाले तथा माओवादी केन्द्रबीच तिव्र प्रतिष्पर्धा हुने आंकलन स्थानीयको छ । त्रिपक्षीय लडाइँमा फोरमका ईन्नु राय यादव, एमालेका शेष कलिमुल्लाह र माओवादीका विपिन जयसवाल भिड्दैछन् ।

ईन्नु राय यादव

कांग्रेस परित्याग गरेर संघीय समाजवादी फोरम नेपालको सदस्यता लिएका इन्नु राय यादव मेयर पदका बलियो प्रत्यासी हुन् । कांग्रेसमा लामो राजनीतिक यात्रालाई रोकेर संघीय समाजवादीमा प्रवेश गरेका यादवको गरुडा र भित्री गाउँहरुमा राम्रो पकड रहेको स्थानीय बताउँछन् । मधेसवादी दलको पकड रहेको जिल्लाको मध्यबजार गरुडामा यादवको महृमदपुर, भिमडावर, पिपरीया तगायतका स्थानमा राम्रो प्रभाव रहेको बताइन्छ ।

यादव शिक्षा, स्वास्थ्य र समग्र गरुडाको विकासका नाराका साथ घरदैलो अभियानमा व्यस्त छन् । नगरपालिकाको आफ्नै भवन बनाउने लगायतका मुद्दाहरुको साथ उनी मतदाता समक्ष पुगिरहेका छन् ।

शेष कलिमुल्लाह

नेकपा एमालेका तर्फबाट गरुडाको मेयर पदमा उम्मेदवारी दिएका शेष कलिमुल्लाह नेकपा एमाले रौतहटका उपसचिव रहिसकेका व्यक्ति हुन् ।

शान्ति सदभाव र विकासको नारा बोकेर मतदाताहरुसँग मत मागिरहेका कलिमुल्लाह मधेसवादी दलको पकड भएको क्षेत्रमा एमालेका बलिया उम्मेदवार हुन् । एमालेलाई मधेसविरोधीको आरोप लागिरहेको समयमा उनी भित्रि मधेशका मतदाताहरुसँग नै मत मागिरहेका छन् । पार्टीप्रति रहेको जनताको भ्रम आफूले चिर्दै मतदाताहरुको मन जित्ने प्रयास गरिरहेको उनले बताए ।

विगत २५ वर्षदेखि जनताको सेवा गरेको आधारमा गरुडा नगरपालिकाका जनताले आफूलाई मत दिने विश्वास उनको छ ।

विपिन जयसवाल

त्रिपक्षीय लडाइँका अर्का उम्मेदवार हुन् माओवादी केन्द्रका विपिन जयसवाल । जनयुद्धकालदेखि हालसम्म सक्रिय राजनीतिमा रहेका विपिनलाई माओवादी केन्द्रले मध्यबजार गरुडाको मेयरको उम्मेदवार बनाएको हो ।

माओवादीको पकड क्षेत्र रहेको गरुडाको लक्ष्मीपुर, मलाही टोल, गेडही लगायतका स्थानमा विपिन बलियो अवस्थामा रहेको बताइन्छ । गरुडा बजारको विकाससँगै पाँच वर्षभित्र रिङरोड निर्माण, शैक्षिक गुणस्तमा सुधार लगायतका आफ्ना एजेण्डा लिएर उनी मतदाताहरु माझ पुगिरहेका छन् । स्वास्थ्य केन्द्रहरुको समुचित व्यवस्थाको लागि समेत पहल गर्ने योजना रहेको उनले बताए ।

केन्द्रीय तथा जिल्लास्तरीय नेताहरुको सहयोगमा उनले प्रचार प्रसारको क्रमलाई तिव्र बनाएका छन् ।

कुल २३ हजार ३९० मतदाता रहेको गरुडा नगरपालिकामा ४७ पदाधिकारीका लागि दुई सय भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment