Comments Add Comment

दशैंमा तरकारीको लागि पनि भारतकै भर, २ अर्ब बढीको आयात

यो दशैंमा पनि तरकारी धेरै नसस्तिने


२९ भदौ, काठमाडौं । दशैंमा अत्यधिक खपत हुने खशी देखि तरकारी दुवैमा नेपालीहरुले भारतमाथि भर पर्नु पर्ने अवस्था रहेको छ ।
राष्ट्र बैंकको गत तीन वर्षको तथ्यांक अनुसार प्रायजसो दशैं पर्ने असोज महिनामा मात्रै भारतबाट १ अर्ब देखि २ अर्ब २६ रुपैयाँसम्मको तरकारी आयात हुने गरेको छ ।

नेपालमा भारतबाट बार्षिक १० अर्ब रुपैयाँसम्मको तरकारी आयात हुने गर्छ । महत्वपूर्ण चाड पर्व पर्ने असोज एक महिनामै लगभग वर्षभरी हुने तरकारी आयातको एक चौथाई बराबर आयात र खपत हुने गर्छ ।

‘काठमाडौंमा समान्यतया दशैंमा तरकारीको खपत कम हुन्छ, मानिसहरु उपत्यका छाडेर बाहिरिने हुँदा दैनिक प्रयोजनबाहेक काठमाडौंका होटल रेष्टुरेन्टहरुमा समेत कम खपत हुने गर्छ,’ कालिमाटी तरकारी फलफुल थोक व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडाले भने ।
दशैंको समय काठमाडौंमा तरकारीको खपत कम हुने भएपनि देशका अन्य मुख्य शहरहरुमा भने माग बढ्ने कारण तरकारीको आयात यो महिना बढ्न सक्ने उनी बताउछन् ।

त्यसबाहेक दशैंमा निश्चित तरकारीहरु बढि प्रयोग हुने भएकोले पनि यो समय आयात बढ्ने गर्छ । दशैंमा अत्यधिक प्रयोग हुने प्याजमा अन्य समय पनि नेपालीहरुको भर भारत नै हुने गरेको छ । त्यस्तै, आलु, करेला, भिण्डी, कागती लगायतका तरकारीहरु पनि दशैंमा भारतबाट नै आउने गर्छ । करेला, आलु र भिण्डी नेपालमै पनि उल्लेख्य परिमाणमा उत्पादन हुने भएपनि व्यवसायीहरु नाफामुखी हुँदा आयात हुन गरेको यस क्षेत्रकै व्यक्तिहरु बताउछन् ।

यो दशैंमा पनि तरकारी धेरै नसस्तिने

सधै जसो दशैंमा उपभोग्य वस्तुहरुको मूल्य वृद्धि हुने गरेको छ ।  गत ५ वर्षको तथ्यांकले असोजताका मूल्य वृद्धिदर ७ देखि १० प्रतिशत रहेको देखाउछ । गत वर्ष मूल्य वृद्धिदर औसतमा ४.५ प्रतिशतमा सिमित रहँदा पनि असोजमा यो दर ६.७ प्रतिशत रहेको थियो ।

यस वर्ष भने मूल्य वृद्धिदर समग्रमा ७ प्रतिशतको सीमामा राख्ने राष्ट्र बैंकको प्रयास छ । तर, माथि कै तथ्यांक आधार मान्ने हो भने बार्षिक औसत दरको तुलनामा असोजमा यो दर केही बढि नै हुने गरेको छ ।

हुनतः केही साता अघिको तुलनामा तरकारीको भाउ अहिले केही सस्तिएको छ । केही दिनअघिसम्म कालिमाटी तरकारी बजारमा काउली प्रतिकेजी ९० रुपैयाँ रहेकोमा अहिले ७० देखि ७५ रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै, टमाटर प्रतिकेजी ७० रुपैयाँ रहेकोमा हाल ४० देखि ४५ रुपैयाँ हाराहारीमा छ ।

यसले दशैंमा तरकारीको बजारभाउ केही सस्तो हुने आशा जागेको छ । यद्यपी सस्तिएको मूल्यको प्रभाव उपभोक्तासम्म आइपुग्दा नपुग्दै पुनः मूल्य बढ्ने गरेकोले यो दशैंपनि अपवाद हुने वा नहुने भावी दिनले नै देखाउने व्यवसायीहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment