
२९ भदौ, काठमाडौं । अब बिमा कम्पनी र लघुवित्त कम्पनीमा एकै व्यक्ति सञ्चालक , सल्लाहकार  वा कुनै पनि पदमा बस्न नपाउने भएको छ ।  राष्ट्र बैंकले विहीवार लघुवित्त कम्पनीहरुको सम्बन्धमा जारी गरेको एकिकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको छ । संस्थागत सुशासनको लागि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको उल्लेख छ ।
यसअघि एकभन्दा बढि वित्तीय संस्था, सरहकारी ऐन अन्तरगतमा बचत तथा ऋण सहकारी संस्थामा यी पदमा रहेकालाई मात्र लघुवित्तमा पनि रहन रोक्का गरिएको थियो ।
यस बाहेक संस्थापक, सञ्चालक वा शून्य दशमलव १ प्रतिशत सेयर भएका व्यक्ति वा उसको परिवारले लघुवित्तका स्वतन्त्र सञ्चालक समेत बन्न नपाउने भएको छ ।
त्यस्तै, लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुख अर्काे कुनै मुनाफा आर्जन गर्ने उद्देश्य राखी सञ्चालित संस्थामा कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी वा अन्य कुनै पदमा रही काम गर्न नपाउने भएको छ । तर संस्थाले ‘पूर्वाधार विकास बैंक’ मा लगानी गरेको अवस्थामा सो संस्थाको सञ्चालक हुन सक्नेछ ।
गोपनियताको सपथ नलिए पद स्वतः खारेज
लघुवित्तका सञ्चालकले नियुक्त वा निर्वाचित भएको ३५ दिनभित्र राष्ट्र बैंकका निर्देशकहरुबाट पद तथा गोपनियताको सपथ लिनुपर्ने भएको छ । उपत्यकाभित्र प्रधान कार्यालय रहेका राष्ट्रिय स्तरका संस्थाहरुका अध्यक्षले सपथ लिँदा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक वा निर्देशक समक्ष सपथ लिनुपर्नेछ । त्यस्तै, काठमाडौं उपत्यका बाहिर प्रधान कार्यालय रहेको संस्थाहरु सञ्चालकले सम्बन्धित क्षेत्र हेर्ने राष्ट्र बैंक कार्यालयको निर्देशक समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्नेछ ।
त्यसैगरी, सञ्चालक तथा कार्यकारी प्रमुखले संस्थाको अध्यक्ष समक्ष र अन्य पदाधिकारी तथा कर्मचारीले कार्यकारी प्रमुख वा निजले तोकेको पदाधिकारी समक्ष सपथ लिनु पर्नेछ । यस व्यवस्था बमोजिम सपथ नलिएमा सम्बन्धित अध्यक्ष, सञ्चालक, पदाधिकारी वा कर्मचारीको पद स्वतः खारेज हुनेछ ।
लघुवित्त संस्थाले आफना सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा अधिकृत स्तरका कर्मचारीहरु र निजकापरिवारको नाममा रहेको चलअचल सम्पत्ति र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको विवरण हरेक आर्थिक वर्ष समाप्त भएको ३५ दिनभित्र अद्यावधिक गरी राख्नुपर्ने भएको छ ।
४९ प्रतिशत सेयर सर्वसाधारण सरह कारोवार गर्न सक्ने
राष्ट्र बैंकको स्वीकृति लिएर ५१ प्रतिशतभन्दा बढी संस्थापक समुहको सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले चाहेमा संस्थापक समुहको सेयर स्वामित्व कम्तिमा ५१ प्रतिशत कायम रहने गरी बाँकी सेयर सर्वसाधारण सेयर सरह धितोपत्रको दोस्रो बजार मार्फत कारोवार गर्न सक्नेछन् ।
२ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाइने
त्यस्तै, लघुवित्तले निक्षेप खाता सञ्चालन गरे वापत ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन नपनउने भएका छन् । कर्जा प्रवाह गर्दा कम्पनीहरुले स्वीकृत कर्जामा २ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन पाउने छैनन् ।
ग्राहक संरक्षण कोषमा कडार्इ
ग्राहक संरक्षण कोष खडा गरी राखेको रकम ऋणीहरुको सामुहिक हित हुने कार्य गर्न, समस्यामा परेका ऋणीको व्यवसायको सुरक्षण, पुनस्र्थापना गर्न, ग्राहकहरुको शिक्षा र क्षमता विकासमा उपयोग हुने गरी कम्पनीहरुले खर्च गर्नु भएको छ । यसरी खर्च भई बाँकी रहेको रकम रकमान्तर गरेर आम्दानी जनाउन पाइने छैन । इयरमार्क गरेर छुट्टै लगानी गर्नुपर्ने भएको छ । यस्तो कोषमा रहेको रकम पुँजीकोष गणना प्रयोजनको लागि पुरक पुँजीमा गणना गर्न सकिनेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4