News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंक, प्रहरी र बैंकरले बैंक र बैंकरमाथि बढ्दो आक्रमणविरुद्ध छलफल सुरु गरेका छन्।
- बैंक विरोधी गतिविधि बढेपछि बैंकरहरूले सुरक्षा र कडा कारबाहीको माग गरेका छन्।
- सरकारले बैंकिङ क्षेत्र विरोधी गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने बैंकरहरूको दबाब छ।
२ माघ, काठमाडौं । बैंक र बैंकर आक्रमण विरुद्ध नेपाल राष्ट्र बैंक, प्रहरी र बैंकर एक भएर छलफल सुरु गरेका छन् ।
बैंक र बैंकर आक्रमणको प्रतिकारमा केन्द्रीय बैंक, प्रहरी र बैंकर एक भएका हुन् ।
बैंकरलाइ कुटपिट गर्ने, मोसो दल्ने, जुत्ताको माला लगाउने र कर्जा तिर्दिनौं भन्ने र बैंक विरोधी गतिविधि बढेपछि राष्ट्र बैंक, प्रहरी र बैंकरले छलफल गरेका छन् ।
बैंक विरोधी गतिविधि निरुत्साहन र बैंकरको सुरक्षाका विषयमा केन्द्रित भई सरोकारवालाको छलफल भएको केन्द्रीय बैंकले जनाएको छ ।
सरकारले बैंकिङ क्षेत्र विरोधी गतिविधि गर्नेलाई समयमा कडा कारबाही गर्न नसक्दा ऋण लिन र बैंकर कुटिने क्रमले प्रश्रय पाएको आरोप लाग्दै आएको थियो ।
पछिल्लो समय बढेको बैंक विरोधी गतिविधिले वित्तीय क्षेत्रलाई आगामी दिन झनै जटिल मोडमा धकेल्ने देखिएको छ । कर्जा तिर्नुभन्दा बैंकर कुट्ने र धम्काउने प्रवृत्ति बढ्दै जाँदा दीर्घकालमा वित्तीय चक्र नै बिग्रिन सक्ने बैंकरले बताउँदै आएका छन् ।
राजनीतिक संरक्षणका कारण पनि बैंकहरूले अहिलेको अवस्था भोग्नुपरेको बताउने उनीहरू अब ‘दुर्व्यवहार’ जोखिम व्यवस्थाको आवश्यकता आँैल्याउन थालेका छन् ।
सामान्यत: बैंकिङ क्षेत्रमा कर्जा, सञ्चालन, बजार र तरलता जोखिम हुने गर्छ । नेपाली बैंकिङ क्षेत्रमा देखिएको पछिल्ला घटनाक्रमले बैंक र बैंकर नै असुरक्षित छन् । यसमा सरकारले चासोसाथ बैंकिङ विरोधी गतिविधि नियन्त्रण गर्नुपर्ने बैंकरको माग र दबाब अनुसार नै केन्द्रीय बैंकको पहलमा शुक्रबार सरोकारवालाको छलफल भएको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका छाता संगठन तथा कर्मचारी संगठन एक भएर बैंकर आक्रमण विरुद्ध आवाज उठाउन थालेका छन् । साथै, उनीहरूले बैंक र बैंकरलाई सुरक्षा प्रदान गर्ने सन्दर्भमा सरकारसँग आग्रह पनि गर्दै आएका छन् ।
यहीबीच बैंकहरूले प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री लगायत भेटेर सुरक्षा प्रदान गर्न तथा बैंकिङ क्षेत्र विरोधी गतिविधि नियन्त्रण गर्न सरकार कठोर हुनुपर्ने माग गरेका छन् ।
विगतमा बैंक र बैंकरमाथि भएका घटना सामान्य लिँदा आज बारम्बार त्यस्ता घटना हुने गरेका हुन् । बैंकर्स संघले पछिल्ला दिनमा कमर्सियल बैंक, डेभलपमेन्ट बैंक, फाइनान्स कम्पनी, माइक्रोफाइनान्स सबैका छाता संगठन एक भएर प्रतिरोध गर्दै सुरक्षाको माग गरिरहेका छन् ।
प्रतिक्रिया 4